कर्णालीमा कोरोना संक्रमण : पाँच हजार नौ सय संक्रमित, १६ जनाको मृत्यु
दैलेख : कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा थप ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कर्णालीका दैलेख अस्पताल प्रयोगशाला, प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा १३, सुर्खेतमा ३३, जुम्लामा ३, सल्यानमा २, मुगुमा १, रुकुम पश्चिममा २ र अन्य प्रदेशका ८ गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७२ जना पुगेको छ ।
महाशाखाका अनुसार कर्णालीका १० जिल्लामध्ये सबै भन्दा धेरै सुर्खेतमा २ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि दैलेखमा एक हजार ५ सय ९, हुम्लामा ३४, मुगुमा ३२, डोल्पामा १५, जुम्लामा ३ सय २३, कालिकोटमा ३ सय २, जाजरकोटमा १ सय ६, रुकुम पश्चिममा १ सय ७४ र सल्यानमा ५ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । अन्य प्रदेशका ४ सय ११ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत एवं जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार पछिल्लो २४ घन्टामा एक सय ६५ जना डिस्चार्ज भएका छन् ।
यो सँगै कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेहरुको संख्या ५ हजार २ सय २३ पुगेको छ । हाल कर्णालीमा कोरोनाको सक्रिय संक्रमितको संख्या ७ सय ४९ छ ।
कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । गत आइतबार एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो ।