दीपिकाको ठाउँमा श्रद्धा
काठमाडौं : फिल्म ‘कृष्णलीला’मा अभिनेत्रीको रूपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन्। यो भूमिकामा यसअघि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन्। स्वास्थ्यका कारण अभिनेत्री दीपिकाले अभिनय गर्न नसक्ने बताएपछि उक्त भूमिकामा निर्माण युनिटले अहिले श्रद्धालाई अनुबन्धित गरेको हो।
फिल्ममा अभिनेत्रीका रूपमा दीपिकाको ठाउँमा श्रद्धा भित्रिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए। दीपिका केही समययता थाइराइड र माइग्रेनको समस्याले पीडित रहेकाले फिल्ममा अभिनय गर्न असमर्थ रहेको उनका पति दिवाकर भट्टराईले जानकारी गराएपछि अभिनेत्री परिवर्तन गर्नु परेको निर्माता श्रेष्ठको भनाइ छ। मुम्बईमा मोडलिङ गरिरहेकी श्रद्धाले अब फिल्ममा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन्।
फिल्ममा श्रद्धा, पुष्प, बुद्धि तामाङ, रवीन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ। लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहने फिल्मको मंसिर १५ बाट छायांकन सुरु हुने बताइएको छ। दीपक ओलीले निर्देशन गर्न लागेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन्। रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैछन्।