कोरोनाले पेन्सन बुझ्न नपाउँदा समस्या
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका २ का हरिजीत पाण्डेय भारतीय पेन्सनधारी नेपाली हुन्। भारतीय गोर्खा रेजिमेन्टबाट अवकाश प्राप्त गरेका उनी प्रत्येक महिना पेन्सन बुझ्ने गर्दथे। कोरोना भाइरसको महामारीका कारण सीमा नाका बन्द भएपछि उनले गएको चैत यता पेन्सन बुझ्न पाएका छैनन्।
‘हामी पेन्सनधारीलाई धेरै समस्या भएको छ। समयमा पेन्सन लिन पाएका छैनौं। लामो समय पेन्सन रोकिँदा अब कागजपत्र बनाउन समेत इलाहावाद जानुपर्ने अवस्था आउन सक्छ’, उनले भने, ‘हामीलाई पेन्सन पाउने व्यवस्था गरिदिनका लागि माग गर्दछौं। पेन्सन नपाउँदा जिविकोपार्जनमा समेत समस्या भएको छ।’
जिल्लाको मेलौली नगरपालिकाका ७३ वर्षीय तारादत्त भट्टले पनि गएको चैतदेखि पेन्सन पाउन सकेका छैनन्। समयमा पेन्सन नपाउँदा घरपरिवार चलाउन समस्या भएको उनको भनाइ छ। उनले भने, ‘लकडाउनका कारण घरपरिवारका अन्य सदस्यहरुको आम्दानीको श्रोत पनि रोकिएको छ। मासिक रुपमा पाइने पेन्सन पनि रोकिँदा निकै समस्या भएको छ। हामी पेन्सनधारीहरुको समस्या समाधान गरिदिए आभारी हुने थियौं।’
अधिकांश पेन्सनधारीहरु भारतीय गोर्खा रेजिमेन्टमा काम गरेर अवकाश प्राप्त गरेका नागरिक छन्। पेन्सन पाउने धेरै जसो जेष्ठ नागरिक भएकाले उनीहरुलाई निकै समस्या भएको छ। बैतडीमा १ हजार २ सय नेपाली नागरिकले मासिक रुपमा भारतबाट पेन्सन बुझ्दै आएका थिए। तर पछिल्लो चैत यता उनीहरुले पेन्सन बुझ्न पाएका छैनन्। सीमावर्ती भारतीय बजार झुलाघाटस्थित भारतीय स्टेट बैंकबाट पेन्सन बुझ्दै आएका उनीहरुले नाका बन्द हुँदा पेन्सन बुझ्न नपाएका हुन्।
लामो समयदेखि पेन्सन बुझ्न नपाउँदा समस्या भएको भन्दै मेलौली नगरपालिकाका पेन्सनधारीहरुले नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्।
आफूहरुको पेन्सन नेपालमै उपलब्ध हुने व्यवस्था मिलाइदिन आग्रह सहित ज्ञापन पत्र बुझाएको मेलौलीका ७४ वर्षीय जयदत्त भट्टले बताए। उनले भने, ‘लामो समयदेखि पेन्सन नपाउँदा अब कागजपत्र बनाउन समेत अन्त जानु पर्ने हुनसक्छ। हामी बुढेसकालका मानिसहरुलाई धेरै टाढा जान पनि समस्या भएको छ। त्यसैले नेपालमै पेन्सन पाउने व्यवस्था गरिदिन माग गरेका छौं।’
भारतीय पेन्सनधारी नेपाली नागरिकले नगरपालिकामा ज्ञापन पत्र बुझाएको र उनीहरुका समस्याका बारेमा सम्बन्धित निकायलाई जानकारी गराउने नगरप्रमुख कृष्णसिंह नायकले बताए। उनले भने, ‘पेन्सनधारीहरुको समस्या समाधान स्थानीय सरकारले गर्न सक्तैन। यो दुई देशबीचको सीमाको विषय भएकाले प्रशासन मार्फत संघीय सरकारलाई जानकारी गराउँछु।’
गत असारमा पेन्सनधारीहरुको लागि भन्दै तीन दिन नाका खुलेको बेला ४३८ जनाले मात्रै पेन्सन बुझेका थिए। अरु पेन्सनधारीहरुले त्यो समयमा समेत पेन्सन बुझ्न पाएनन्। पेन्सनधारीका समस्याका विषयमा भारतीय स्थानीय प्रशासनलाई लिखित जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। उनले भने ‘हामीले पेन्सनधारीहरुका समस्याका विषयमा भारतको प्रशासनलाई जानकारी गराएका छौं। अबको एकहप्ताभित्र नाका खुल्न सक्छ।’