सिन्धुलीमा निल गाई मृत भेटियो
सिन्धुली : सिन्धुलीमा बुधबार दुर्लभ मानिएको निल गाई मृत अवस्था फेला पारिएको छ। कमलामाई नगरपालिका १४ रानीवासमा बयस्क निल गाई मृत अवस्था भेटीएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए।
मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको छ। संरक्षित वन्यजन्तुको रुपमा लिइने निल गाई मृत भेटिएपछि पोष्टमार्टम गर्ने तयारी गरिएको समेत श्रेष्ठले जनाएका छन्। पशु सेवा कार्यालय सिन्धुलीका चिकित्सकले भने सरुवा रोगका कारण निलगाईको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको श्रेष्ठले जानकारी दिए।
त्यस क्षेत्रमा यस अघि पनि निलगाईको चोरी सिकारी हुने गरेको बताइन्छ। डिभिजन प्रमुख श्रेष्ठका अनुसार वन्यजन्तु चोरीसिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही हुनेछ। कसैको कसुर प्रमाणित भए ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना तिर्ने वन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ।