फेरि सर्यो ‘नो टाइम टु डाई’
हलिउड : जेम्स बोन्ड सिरिजको बहुप्रतीक्षित फिल्म ‘नो टाइम टु डाई’को रिलिज डेट फेरि सरेको छ । कोभिड–१९ का कारण यो फिल्म अब सन् २०२१ मा रिलिज हुने भएको छ ।
एमजीएम, युनिभर्सल र बोन्ड निर्माताका अनुसार जेम्स बोन्ड सिरिजको २५औं फिल्म ‘नो टाइम टु डाई’ अब २ अप्रिल २०२१ मा संसारभर रिलिज हुनेछ । जेम्स बोन्डको आधिकारिक ट्विटर ह्यान्डलमा निर्माताले लेखेका छन्, ‘हामीलाई जानकारी छ कि यो ढिलाइका कारण हाम्रा प्रशंसक निराश हुनेछन् । अब नो टाइम टु डाई पक्कै आगामी वर्ष रिलिज हुनेछ ।’
कोरोना भाइरस संक्रमणका कारण थिएटर बन्द छन् । फिल्म रिलिज डेट सरेको सर्यै छ । सुरुमा यो फिल्म यही वर्ष अप्रिलमा रिलिज हुने तयारीमा थियो । कोरोनाको कारण देखाउँदै नोभेम्बरमा सारिएको डेट पुनः धकेलिएको छ । फेब्रुअरीमा ‘नो टाइम टु डाई’को थिम सङ रिलिज गरिएको थियो । गीत बिली इलिसले लेखेकी र गाएकी हुन् ।
इलिस जेम्स बोन्ड सिरिजको थिम सङ गाउने सबैभन्दा कम उमेरकी गायिका बनेकी छन् । फिल्म कैरी फुकुनागाले निर्देशन गरेका हुन् । डेनियल क्रेगले लगातार पाँचपटक जेम्स बोन्डको भूमिका निर्वाह गरेका छन् । फिल्ममा ओस्कर अवार्ड विजेता रामी मालेक खलनायकको भूमिकामा छन् । बोन्ड गर्लका रूपमा क्युबाकी अभिनेत्री अना दे अर्मस र लैसना लिम्च पनि छन् ।