वाटर कलरमा ‘हन्ड्रेड आवर’
काठमाडौं : भनिन्छ, सिर्जनाको कुनै समय हुँदैन। सिर्जनालाई कुनै पनि प्रतिकूल अवस्थाले रोक्न सक्दैन। मानिसको अन्तरहृदयबाट प्रस्फुटित हुने चिज हो सिर्जना जसले मानिसको मनलाई छुन्छ। कोरोना महामारीको यो डरलाग्दो समयमा घरभित्रै आइसोलेसनमा बसेका नेपाली चित्रकारहरू चार दिन, चार रात, चार घण्टा निरन्तर प्रत्यक्ष पेन्टिङ गरेर विश्व रेर्कड राख्ने तयारीमा छन्।
अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी नेपालले ‘हन्ड्रेड आवर’ नामक यो कलाको कार्यक्रम आयोजना गर्न लागेको हो। ‘संकटको समयमा कला एकजुट हुन्छ’ भन्ने नाराका साथ भर्चुअल रूपमा आयोजना हुन लागेको यो कार्यक्रममा सय घण्टासम्म कलाकारहरूले प्रत्यक्ष पेन्टिङ गर्नेछन्। कार्यक्रमलाई सोसाइटीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।
वाटर कलर सोसाइटी नेपालका महासचिव दीपेन्द्र बनेपालीका अनुसार कोभिडको समयमा आइसोलेसनमा बसेका कलाकार एकत्रित गर्न र डरत्रासबाट मुक्त बनौं भन्ने सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रत्येक चित्रकारले डेढ घण्टा पेन्टिङ गर्नेछन्। ७३ जना चित्रकारका लागि समय बाँडफाँट गरिएको छ। कार्यक्रम कात्तिक २३ गते आइतबारबाट चार दिनसम्म निरन्तर चल्नेछ।
कार्यक्रममा सातवटै प्रदेशका कलाकार सहभागी हुनेछन्। सहभागी चित्रकार पेन्टिङ गर्ने विषयको छनोट गर्न स्वतन्त्र छन् तर वाटर कलरकै प्रयोग गर्नुपर्नेछ। कलाकारले इम्पेरियल साइजको आर्ट तयार गर्नेछन्। तयार भएका पेन्टिङलाई भर्चुअल रूपमा प्रदर्शनीमा राखिनेछ। यसरी बिक्री भएको आर्टबाट आएको रकम कोभिड नियन्त्रणका लागि खर्च गरिने बनेपालीले जानकारी दिए। नेपाली कलालाई विश्वसामु पुर्याउन निरन्तर खटिइरहेका चित्रकारले यो पटक सामूहिक रूपमा विश्व रेकर्ड राख्ने तयारी गरेका हुन्।
‘हामी थाकेका छैनौं, गलेका छैनौं, आइसोलेसनको अप्ठ्यारो परिस्थितिमा पनि विभिन्न ठाउँमा बसेर चित्र बनाइरहेका छौं भनेर सिर्जनशील काम देखाउन कार्यक्रम आयोजना गर्न लागिएको हो’, बनेपालीले भने। यस्तो कार्यक्रम विश्वमै पहिलो पटक गर्न लागिएको उनको भनाइ छ। काठमाडांैमा रहेका सोसाइटीमा आबद्ध कलाकारले ललितकला एकेडेमी परिसरमा जम्मा भएर पेन्टिङ गर्नेछन्। बाहिर हुने चित्रकारले घरबाटै चित्र बनाएर प्रत्यक्ष प्रसारण गर्ने उनले बताए। नेपाल आर्ट काउन्सिलका चान्सलर केके कर्माचार्य कार्यक्रमका विशेष अतिथि हुनेछन्।