बिहारको लोकतन्त्र र अनुन्नति

बिहारको लोकतन्त्र र अनुन्नति

तीन दशकको अन्योलबाट केही सिक्ने कि बिहार पथमा लम्किने ?


लोकनायकको उपनामले परिचित नेता जयप्रकाश नारायण (जेपी) को समाजवादी आन्दोलनको कर्मभूमि भारतीय राज्य बिहारमा अहिले विधानसभाको निर्वाचन हुँदै छ। बिहारले भारतलाई राष्ट्रपति र लोकसभाका सभामुखसमेत दिएको छ। बलिउडका सफल चलचित्रकर्मी प्रकाश झा, नीरज पाण्डे, मनोज बाजपेयी, पंकज त्रिपाठी, शत्रुघ्न सिन्हा आदि बिहारकै हुन्। भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनी तत्कालीन बिहारकै हुन्। तर दैनिक ज्यालादारी मजदुर उत्पादन गर्ने नामले बिहार भारतमा प्रसिद्ध छ। नेपालमा बोलिने मैथिली र भोजपुरी भारत र नेपालका साझा भाषा हुन्। नेपालसँग सिमाना जोडिएको, सांस्कृतिक र रोटीबेटीको सम्बन्ध भएकोले भर्खरै संघीय ढाँचामा गएको नेपालका लागि बिहारको लोकतान्त्रिक अभ्यासको अनुभव शिक्षाप्रद छ।

२०४६ सालको बहुदलीय व्यवस्थाका पक्षमा भइरहेको आन्दोलनताका पंक्तिकारको युवा अवस्था थियो। त्यसबेला भारतको कांग्रेस सरकार र भ्रष्टाचारको विरुद्धमा जन्मेको आन्दोलनपश्चात् धर्मनिरपेक्षता र समाजवादको हिमायती पार्टी जनता दलको निर्माण भयो। त्यो अहिलेको जस्तो इन्टरनेटको समय थिएन। मनोरञ्जनको एकमात्र साधन ठूलो पर्दा थियो। भारतमा राजनीतिमा तरंग फैलाउन चलचित्रका भावनात्मक संवादहरूको प्रयोग अहिले पनि गरिन्छ। सूचना क्रान्ति भएको थिएन। त्यसबेला अमिताभ बच्चनको व्यावसायिकता संकटमा थियो। सलमान खान ‘मैने प्यार किया’ मार्फत उदाउँदै थिए। सन् १९८९ मा जनता दलद्वारा कांग्रेस पराजित भयो र भारतीय जनता पार्टी (भाजपा) को सहयोगमा जनता दलका नेता बीपी सिंह भारतका प्रधानमन्त्री बने। पछि जनता दलबाटै चन्द्रशेखर, एचडी देवेगौडा र इन्द्रकुमार गुजराल भारतका प्रधानमन्त्री बने। जनता दलबाट टुक्रिएका दलहरू (जनता परिवार) ले बिहारलगायत अनेक राज्यमा आजसम्म शासन गरिरहेका छन्। के बिहारले समाजवादी क्रान्ति गर्‍यो त ?

७० वर्षको लोकतान्त्रिक अभ्यासपछि पनि संघीय भारतको जनसंख्याका आधारमा तेस्रो ठूलो राज्य बिहारमा जातीय र धार्मिक विभाजनका कारणले राष्ट्रिय दलहरू भाजपा, कांग्रेस र कम्युनिस्टले आआफ्नै नेतृत्वमा निर्वाचनमा जान सकेका छैनन्। सत्तारूढ दल भाजपा जनता परिवारको एउटा घटक जनता दल युनाइटेड (जेडीयू) सँग गठबन्धन गरेर जेडीयू नेता नीतिश कुमारको नेतृत्वमा निर्वाचनमा गएको छ। यो एक धर्मनिरपेक्ष र दक्षिणपन्थीबीचको समीकरण हो। दुई अन्य राष्ट्रिय दलहरू कांग्रेस र भारतीय कम्युनिस्ट पार्टी जनता परिवारकै अर्को घटक राष्ट्रिय जनता दल (आरजेडी) सँग गठबन्धन गरेर आरजेडीका नेता तेजस्वी यादवको नेतृत्वमा निर्वाचनमा गएका छन्। यो एक वंशवाद र जातिवादमा रमाउने दलको वंश र जात नमान्ने कम्युनिस्टसँग समीकरण हो।

भारतमा ७० को दशकको काँग्रेसविरोधी र ९० को दशकको भाजपाविरोधी ध्रुवीकरणसँग जनता परिवारको इतिहास जोडिएको छ। सन् १९७५ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको पद नै दाउमा पर्ने गरी अदालतबाट आएको एउटा फैसलापश्चात् गान्धीले संकटकाल लागू गरिन्। त्यसबेला भारतको समाजवादी आन्दोलनका प्रमुख नेता जेपीले ‘सम्पूर्ण क्रान्ति’ नामक आन्दोलन चलाइरहेका थिए। नेपाली कांग्रेसका कतिपय तत्कालीन नेताहरू जेपीको त्यस आन्दोलनमा सहभागी थिए। संकटकालमा समाजवादी आन्दोलनका नेताहरूले गर्नुपरेको जेल यात्रा राजनीतिमा योग्यताका रूपमा स्थापित भयो किनभने त्यसबेला जेलनेल परेका नेताहरू कांग्रेसमा मात्र थिए। नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय मेलमिलाप गरेर स्वदेश फर्किए। यसैबीचमा जेपीकै अगुवाइमा जनता पार्टीको जन्म भयो र ‘इन्दिरा हटाओ देशको बचाओ’ नारासहित सन् १९७७ को निर्वाचनमा त्यसले कांग्रेसलाई पराजित गर्‍यो। जेपीको त्यस समाजवादी आन्दोलनका कार्यकर्ता जर्ज फर्नान्डिस, शरद यादव, रामविलास पासवान, लालुप्रसाद यादव, नीतीशकुमार, सुशीलकुमार मोदी सबै बिहारकै हुन्। यिनले बिहारमा लामो समयसम्म जनप्रतिनिधित्व गरे। कांग्रेसविरुद्धमा गठन भएको जनता दलको ९० को दशकको धार्मिक ध्रुवीकरणमा भाजपासँग पानी बाराबारको शत्रुतापूर्ण स्थिति थियो। भाजपाका तत्कालीन नेता लालकृष्ण आडवाणी लालुकै आदेशमा बिहारमा गिरफ्तार गरिए। त्यही धार्मिक ध्रुवीकरणमा बिहार र उत्तरप्रदेशमा थप नेताहरूको उदय भयो। बिहारले यादव–मुस्लिम नेता पायो, दलित–महादलित नेता पायो, केन्द्रीय सरकारमा मन्त्री पाएको पायै गर्‍यो।

बिहार विधानसभाको गत निर्वाचनमा मोदीको विरोधस्वरूप गठबन्धन नै त्याग गरेर आरजेडी र कांग्रेसको सहयोगमा निर्वाचनमा गएर नीतिश मुख्यमन्त्री बनेका थिए। उनले आफूले प्राप्त गरेको आरजेडी, कांग्रेस र जेडीयू जनमतको बेवास्ता गरी बीजेपीसँग सम्झौता गरेर पुनः मुख्यमन्त्री बने र निर्वाचनमा पराजित भएको भाजपा नीतिशको कारणले बिहारमा सत्तासीन भयो। अहिले भाजपाले नीतिशलाई चुनावी चेहरा त बनाएको छ तर महाराष्ट्रमा शिवसेनाका नेता उद्धव ठाकरेका कारणले भाजपाले प्रतिपक्षमा बस्नुपरेको भाजपाले बिर्सेको छैन। त्यसैले भाजपा एउटा कमजोर सहयोगीका रूपमा नीतिशलाई स्थापित भएको हेर्न चाहन्छ। भाजपाले यसको तयारी गरिसकेको अनुमान पनि भारतीय राजनीतिमा गरिन्छ। 

आरजेडी, कांग्रेस र कम्युनिस्टबीचको गठबन्धनका एक प्रमुख प्रचारक र गठबन्धनको आकर्षणको केन्द्रमा अहिले कम्युनिस्ट नेता कन्हैया कुमार छन्। कन्हैया राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको समेत ज्ञान भएका र धरातलीय वास्तविकता जानेका र भोगेका एक शिक्षित युवा नेता हुन्। सैद्धान्तिक रूपले भने कन्हैया जाति, धर्म र वंशवाद मान्दैनन्। कुनै बेला ‘भुरावाल–भूमिहार, राजपुत, ब्राह्मण र लालाको साफ करो’ भन्ने नारामा राजनीति गरेका, भ्रष्टाचार मुद्दामा जेल गएका, आफ्नी अनपढ पत्नीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका नेता लालुको बिर्ता सम्हालेका लालुका पुत्र तेजस्वी अहिले कन्हैया सारथि बनेका छन्। एउटा सत्य के हो भने बिहारमा लालुको परिवार लोकप्रिय छ। लालुको परिवारले बिहारमा करिब १५ र नीतिशले करिब १५ वर्ष मुख्यमन्त्री चलाए तर जाति, धर्म, वर्ग, समुदाय र आरक्षणजस्ता मुद्दा कायम राखे। तेजस्वीलाई एउटा जाति र समुदायले समर्थन गरेको छ भने अर्को समुदायको भोट नीतिशसँग छ। हिन्दुका केही जाति भाजपाका शक्ति हुन्। तेजस्वीले सबैलाई समेट्ने प्रयासस्वरूप ‘कमाइ, पढाइ और दबाइ’ भन्ने नयाँ नारा तय गरेका छन्। तर तेजस्वीलाई कांग्रेस र कम्युनिस्टको साथ कहिलेसम्म रहन्छ हेर्न बाँकी छ। भारतीय राजनीतिका विद्वान्हरूले निर्वाचन परिणामको गणितले अहिलेको गठबन्धनको प्रारूप फरक भएमा आश्चर्य मान्नु नपर्ने पनि भनेका छन्।  

तेजस्वीको ‘कमाइ, पढाइ र दबाइ’ भन्ने नारा समाजवाद (वा साम्यवाद) को भ्रममा आशा गरेर बसेका जनताका लागि सान्दर्भिक छ। कम्युनिस्टले पनि जनताको कमाइ, पढाइ र दबाइमा समानता गर्न नसक्ने तथ्य नेपालमा स्थापित भइसक्यो। भ्रमको खेती धेरै भयो। जनताको जीवनस्तर परिवर्तन गर्न जनताले ज्ञान र सीप (पढाइ ) आर्जन गर्नैपर्ने हुन्छ, अर्थात् सशक्तीकरण आवश्यक हुन्छ। ‘मेरो दलमा लम्पट भएर लाग, पढ्नु पर्दैन’ भन्ने नारा अनुचित थियो, त्यो भ्रम थियो। धन कमाउन जनतालाई प्रेरित गर्नैपर्छ। जनताले धन नकमाए कसले कर तिर्छ ? आज नेपालमा हजारजना विनोद चौधरी, हजारजना रुपज्योति र हजारजना मोतीलाल दुगडजस्ता व्यापारी भएका भए के देशको मुहार फरक हुने थिएन ? सर्वहारा हुनुलाई योग्यता मान्नु सबभन्दा ठूलो भ्रम थियो। राजनीतिमा दूरदृष्टिता भएन, भ्रम सिर्जना गरेर अनेकले लाभ लिए।

अक्षरमा लोकतन्त्र, समाजवाद र धर्मनिरपेक्षता लेखिएको भारतमा धेरै भयो। सन् ९० देखि बिहारमा जनता परिवारको एकछत्र शासन कायम छ। यसबीचमा बलिउडमा अमिताभ पुनः उदाए, सलमान सुपरस्टार बने। विश्वमा सूचना क्रान्ति भयो, ठूलो पर्दाभन्दा ओटीटी (ओभर द टप) लोकप्रिय भयो तर प्रतिव्यक्ति आयमा बिहार भारतको पुछारमा छ। सन् ९० को युवापिढी प्रौढ भयो। यसै अवधिमा समानता प्रमुख मुद्दा भएको दलको नेतृत्वमा नेपालमा आठवटा सरकार बने, धेरै सरकारमा त्यस दलको सहभागिता रह्यो तर समानता स्थापित भएन। महामारीका बेला पनि नेता र जनतालाई समान उपचार गर्ने व्यवस्था गर्न सकिएन। ससाना जमिनदारलाई जनकारबाही गरियो तर अहिले त्यस्तो गर्ने नेतालाई पनि सम्पत्ति चाहिएको छ। बुर्जुवा शिक्षा चाहिँदैन भनियो तर त्यसलाई विस्थापन गर्न सकिएन। संविधानमा समाजवाद लेखिएको छ तर जनताले तिरेका करबाट नेताहरूको व्यापक व्यवस्थापन गरिएको छ। यसैबीचमा नेपालका विद्यार्थी, स्नातक युवा र श्रमिकहरू पलायन हुने क्रममा विशाल वृद्धि भयो। युवाहरूले पढाइ र कमाइका लागि र सक्नेले दबाइका लागि समेत बिदेसिनुपर्ने अवस्था आजसम्म विद्यामान छ। बिहारको तीन दशकको अन्योलबाट केही सिक्ने कि बिहार पथमा लम्किने ? अक्षरमा लेखिएका समानता, लोकतन्त्र र समाजवादले सामाजिक परिवर्तन हुँदैन।

हाइलाइट

युवाहरूले पढाइ र कमाइका लागि र सक्नेले दबाइका लागि समेत बिदेसिनुपर्ने अवस्था आजसम्म विद्यामान छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.