चिनियाँ नाकाको असहजता
विश्वव्याधी कोभिडपछि चीनतिरका मुख्य नाकामा मालसामान ओसारपसारमा समस्या उत्पन्न हुँदै आएको छ। चीनले जिरो कोभिड नीति लिएपछि नेपाली व्यापारी, गाडी र चालकलाई सहजरूपमा आफ्ना नाकामा प्रवेश दिएको छैन। चीनले कडाइ गरेका कारण नेपाली व्यापारीका रसुवागढी र तातोपानी नाकामा अर्बाैंका मालसामान अड्केका छन्। त्यसले कुहिने, सड्ने, टुटफुट हुने हुँदा ठूलो नोक्सान बेहोर्नुपर्ने बाध्यता छ। नाकामा रोकिँदा व्यवसायीले यसपटक दसैंमा नयाँ मालसामान बिक्री गर्न पाएनन्। दसैंअघि झन्डै एक सय ५० कन्टेनर सामान स्टोर भए पनि अझै ल्याउन सम्भव भएको छैन। महिनौंसम्म सामान अड्किँदा फलफूललगायत अर्बौंका खाद्य सामग्री कुहिएर फाल्नु परिरहेका घटना पनि छन्। महिनौंसम्म नाकामा मालसामान रोकिएपछि जाडोका लागि अर्डर गरिएका सामान गर्मीयाममा र गर्मीयामका लागि अर्डर गरिएका मालसामान जाडो मौसममा मात्र नेपाली बजारमा आइपुग्ने व्यवसायी बताउँछन्।
चिन्ताको कुरा त कोभिडबारे नेपालमा गरिने परीक्षणलाई चिनियाँ पक्षले विश्वासै गर्र्दैन। नेपालमा नेगेटिभ देखिने उताको चेकजाँजमा पोजेटिभ भेटिन थालेपछि चिनियाँ पक्षले नाकामा कडाइ गरेको हो। त्यहीकारण चीनले विगतमा नेपाली व्यापारी, गाडी र चालकले प्रवेश पाउने स्थानसम्म जान पनि पूर्ण रोक लगाएको छ। उसले तातोपानी र केरुङ नाकाका मितेरी पुलसम्म आफैं सामान ल्याएर छाड्ने र त्यहाँबाट नेपाली व्यापारीले उठाउने गरेका छन्। चिनियाँ कन्टेनरले सामान ल्याउने, झार्ने र नेपाली कन्टेनरमा फेरि सामान राख्दा टुटफुट हुने मात्र होइन, थप व्ययभार पर्दा मालसामान महँगो हुने गरेका छन्। चीनले मितेरी पुलसम्म सानो परिणाममा मात्र सामान छाड्ने गरेका कारण थप समस्या उत्पन्न भएको व्यापारीको गुनासो छ। नेपालले सीमानाकामा भरपर्दो परीक्षण र चेकजाँचको व्यवस्था गरेर चिनियाँ पक्षलाई आश्वस्त नपारेसम्म यो समस्या सुल्झिने अवस्था देखिन्न। यसका लागि नेपाल सरकार र व्यापारीबीच समन्वय, सहकार्य र सामूहिक पहलको आवश्यकता छ। सरकारले तत्कालै कूटनीतिक माध्यममार्फत नाका सहज बनाउन चीन सरकारसँग वार्ता र छलफल गर्नुपर्ने खाँचो उत्तिकै छ।
चीनले सीमा नाकाबाट निकै कम संख्यामा मात्र कन्टेनर छाड्ने गरेपछि व्यापारी हैरान छन्। चीनले पर्याप्त परिमाणमा निर्यात गर्न नमान्दा झोले, पोके व्यवसायजस्तै बन्नुुपरेको व्यवसायीको गुनासो छ। नौ महिनाअघि अर्डर गरिएका सामान ल्याउन नपाउँदा व्यापारी मानसिक र आर्थिक रूपमा पीडित बन्नुपरेको बताउँछन्। एकातिर कोभिडले मुलुकको अर्थतन्त्र जर्जर बनेको, अर्कातर्फ व्यापारीको अर्बौंको लगानी त्यत्तिकै अड्केर बस्ने हो भने त्यसले अर्थतन्त्रमा झन् नराम्रो धक्का दिने निश्चित छ। नाकामा महिनौंसम्म सामान अड्किँदा नेपाली बजारमा पनि मूल्य बढ्न गई सर्वसाधारण उपभोक्ता महँगाइमा पर्नेछन्। नाका सहज नहुने हो भने सरकारको अपेक्षाअनुरूपको राजस्व संकलनमा पनि धक्का लाग्नेछ। चिनियाँ नाकाका भन्सारले विगत केही महिनायता राजस्व संकलनमा निराशाजनक अवस्था देखाइसकेका छन्।
सरकारले तत्कालै स्वास्थ्य सुरक्षाको भरपर्दो उपाय अवलम्बन गरेर चिनियाँ सामान भिœयाउने र व्यापार सहज बनाइदिने कामका लागि पहल गर्नुपर्छ। चीनस्थित नेपाली राजदूत, खासास्थित महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयले समयमै यो समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुपर्छ। चिनियाँ पक्षलाई कोभिडको चेकजाँच र परीक्षणमा विश्वस्त बनाउने संयन्त्र नेपालले नाकामा खडा गर्नैपर्छ। पछिल्ला दिनमा चीनले नेपालबाट सामान निर्यात गर्न भने रोक लगाएको विषय पनि कूटनीतिमार्फत नै समाधान खोज्न आवश्यक छ।