मायालु पर्खाउँदै कृष्ण
काठमाडौं : यिनी हुन् मायालुको पर्खाइमा परेका गायक अर्थात् कृष्ण काफ्ले। हुन त यिनलाई देख न चम्पा, सुन न चम्पा भनेर बोलाउनेहरू पनि कम छैनन्। ‘पर्ख–पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समातेर सँगै भागौंला’, चलचित्र मंगलम्को यो गीतले उनलाई नेपालको रेलभन्दा पनि चर्चित बनाइदियो।
तिम्रो पिक्चर हिट, तिमी ताला म हुँ चाबी, मैले बोलको छैन ढाँटेरजस्ता दर्जनौं हिट गीतका गायक कृष्ण पछिल्लो समय प्लेब्याक मात्रै होइन आधुनिकदेखि राष्ट्रिय गीतसम्मका लागि पछ्याइन्छन्। डेढ दशकदेखि गीतसंगीतमा बिताएका
उनले हालसम्म दुई सयभन्दा बढी गीत गाएका छन्।
यसरी अगाडि बढ्दै जाँदा उनले केही फिल्ममा पनि अभिनय गरे। हाम्रो माया जुनी जुनीलाई, ब्रेक फेल, अन्दाजलगायतका फिल्म खेलेर कृष्णले अभिनयको रहर पूरा गरे। आफ्नै रचनामा आँसुमा डुबाउन्न भन्थेउ बोलको गीतबाट रेकर्डिङ सुरु गरेका उनले फिल्म दबाबमा समावेश तिम्रो पावरफुल बैंसको झड्काले बोलको गीतबाट प्लेब्याक गायन सुरु गरेका हुन्। उनले अहिलेसम्म लभ यु बाबा, छक्कापञ्जा, किस्मत २, मंगलम्, रुद्र, वृन्दावन, मारुनीलगायतका दुई दर्जन फिल्ममा स्वर दिएका छन्। ‘यसक्रममा विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म लभ यु बाबा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता हुँदा मैले यसको टाइटल गीतबाट पाश्र्वगायकको प्रमाणपत्र पाएँ’, कृष्णले भने।
२०७४ र २०७५ सालमा फिल्म छक्कापञ्जाको देख न चम्पा बोलको गीतबाट लक्स कामना फिल्म अवार्ड, डी सिने अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, राप्ती म्युजिक अवार्डलगायत विभिन्न्न अवार्ड चुमिसकेका उनले २०७२ सालमै माया बस्यो जुनेली रातैमा बोलको गीतबाट म्युजिक खबर अवार्डमा उत्कृष्ट पप गायनको अवार्ड जितेका थिए। त्यसैगरी पर्ख पर्ख मायालुबाट कालिका म्युजिक अवार्डमा वर्षकै सर्वोत्कृष्ट लोकप्रिय चलचित्र गीत र वर्षकै सर्वोत्कृट पाश्र्व गायकको अवार्ड चुमेका थिए।
स्टेज तताउने गीतहरू भएकाले देशदेखि विदेशसम्मका स्टेज कार्यक्रमका लागि उनको डिमान्ड छ। त्यस क्रममा उनले ४० भन्दा बढी देशमा स्टेज कार्यक्रम गरिसकेका छन्। नेपालकै पूर्वदेखि पश्चिमसम्मका महोत्सवमा उनले गीत गाएका छन्।
भन्छन्, ‘म आफ्नै गीतको लिपसिङमा देखिँदा पनि धेरैले तपाईं आफैं खेल्नुपर्छ भन्नुहुन्छ। जसका कारण एक दर्जन भिडियो खेलेको छु। तीतो सत्यमा खेलेको अनुभव अहिले आफ्नै म्युजिक भिडियोमा सँगालिरहेको छु।’ थुप्रै सम्मान र पुरस्कार पोल्टामा पारेका कृष्णले संविधान दिवसका अवसरमा जनसेवाश्री पञ्चमबाट विभूषित गरिएको छ।
‘केही नयाँ गीत तयार हु“दैछन् भने केही गीतको भिडियो सुटिङ गर्ने योजना छ। बेलायतमा पनि पहिले जति दर्शक नभए पनि कार्यक्रमको कुरा आएको छ,’ उनले अहिलेको व्यस्तता सुनाए।