कोरोनाको परीक्षा !
क्रिकेटको भाषामा आफ्नो जीवनयात्राको अर्धशतकीय पारी बिताइरहेका नेपाली अधबैंसेहरू अनेक परिवर्तनका साक्षी किनारा बने। पञ्चायती उत्कर्षमा जन्म लिएका यी जमातले २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन, २०५२ देखिको दशक लामो सशस्त्र द्वन्द्व, २०५८ को राजदरबार हत्याकाण्ड, २०६२÷६३ को आन्दोलन, करिब अढाई शतक लामो राजतन्त्रको अन्त्य, गणतन्त्रको उदय, पहिलो संविधान सभाको निर्वाचन, २०७२ को महाभूकम्प आदि इत्यादि। के मात्रको सहभागी÷मूकदर्शक बनेनन् ?
नेपाल मात्रको के कुरा, यस धर्तीमा टेकेदेखि प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व र इन्डो–पाक बीचको कश्मीरी विवादका समाचारमा अभ्यस्त यो जमातले विश्व परिदृश्यमा सोभियत संघको विघटनसम्बन्धी ग्लासनोस्त एन्ड पेरोस्त्रोइेका, जर्मन पर्खालको ढलाइ, इरान–इराक युद्ध, शीतयुद्धको अन्त्य मात्र होइन इदी अमिन, सद्दाम हुसेन, कर्णल कद्दाफी, हुस्ने मुबारक, निकोलाई चाउचेस्कु, पोलपोटको अवसान रेडियो नेपालको साढे २ को समाचार होस् या दिनहुँजसो राति सवा ९ को बीबीसी न्युजमा ट्युनिङबाट थाहा पाए।
यी यस्तै राजनीतिक घटना मात्र होइन, ब्ल्याक एन्ड ह्वाइट मात्र खिच्ने क्यामेरा, फोटोबाट थरीथरीको मेगापिक्सलका डिजिटल क्यामेरा, कलर फोटो, पत्रिकाको नाम उही गोरखापत्र, राइजिङ नेपालबाट अहिलेको अहिले खबर पाउने अनलाइन सञ्चारमाध्यम हेर्न पाएका यो पिँढीले स्मार्ट फोनले पेजर, आइपोड, एमपी थ्री, टर्चलाइट, एफएम रेडियो, टेबल फोनलाई विस्थापित गरेकोे हेर्या हेर्यै भए। सारांशमा, सूचना प्रविधिले मारेको फड्को त अकल्पनीय नै छ। लाग्छ, यो पिँढीले देख्न, भोग्न केही बाँकी छैन, थिएन तर...।
मानिस यस्तो भइसक्यो कि भोलि उठ्दा यो कोरोना भन्ने चीज स्वाट्ट हराइदिए हुन्थ्यो नि। पर्सि, निपर्सि नै खोप विकास भइदिए हुन्थ्यो नि ! यस्तै आशा गरिरहेको छ। तर वास्तविकता त्यसो हुँदैन। प्राकृतिक नियम आफ्नै कोर्समा हिँड्छ। यसमा कृत्रिमता लागू गर्न सकिँदैन।
तर एकाएक सन् २०१९ को अन्त्यताका नयाँ भाइरस देखा पर्यो, चीनको वुहानबाट। यो नयाँ खाले भाइरसले संसारमा वितण्डा मच्चाउने क्रममा नेपाल पनि अछुतो रहेन। औसतमा जाबो १२५ नानोमिटर व्यास भएको यो नयाँ खाले भाइरस यति छिट्टै भाइरल भइदियो कि १२७४२ किमी व्यास भएको पृथ्वी अझै पनि त्राहीत्राहीको अवस्थामा छ। लकडाउनलगत्तै असी घाम पानी सहिसकेका एक वृद्धले ‘एऽ बाबु, यो समस्या कति लामोसम्म जाला भनेर सोध्दा साउन, भदौसम्म त मज्जाले जान्छ भनी उत्तर दिँदा उहाँले कुटिल हाँसो फाल्नुभएको थियो। नहाँस्नु पनि किन, विगतमा बिफर, औलो, झाडाबान्ता, हैजा त पचाइसकेका वृद्धले मेरो विषयगत कुरामा झट्टै कहाँ विश्वास गर्नुहुन्थ्यो र ?
त्यसो त नोभेम्बर १७ मै देखिएको नयाँ खाले यो संक्रमणलाई सुरुमा ‘२०१९ एनसीओभी’ गरिएको भए पनि २०१९ को अन्तिम दिनबाट औपचारिक रूपमा ‘कोभिड १९’ सुरु भएको घोषणा गरियो। ‘कोभिड १९’ को प्रारम्भताका यो चीनको मात्र समस्या हो, तिनीहरूको मात्र टाउको दुखाइ हो भने। यतिसम्म कि डोनाल्ड ट्रम्पले चिनियाँ भाइरस भन्न पनि पछि परेनन्। आज आएर करिब आठ÷नौ महिनाको अनुभवले यतिचाहिँ अवश्य भन्न सकियो— यो कोरोनाले सबैको परीक्षा लिइरहेको छ, लिँदै छ।
धैर्यको परीक्षा, विश्वासको परीक्षा, आत्मसंयमको परीक्षा, आत्म नियन्त्रणको परीक्षा, संवेगको परीक्षा। मायाको परीक्षा, विवेकको परीक्षा, सम्मानको परीक्षा। परीक्षा दिनेको परीक्षा, परीक्षा लिनेको परीक्षा। हिसाब दिन नसक्नेको परीक्षा, हिसाब माग्नेको परीक्षा। भाइरल हुनेको परीक्षा, भाइरल बनाइदिनेको परीक्षा। भ्रष्टाचार गरेर पनि नगरेको जस्तै गर्नेको परीक्षा, प्रमाण नभेटिने गरी फट्याइँ गर्नेको परीक्षा, कोरोना महामारीबीच थरीथरीका राजनीतिक नाटक देखाउन सक्ने सत्ताधारी र प्रतिपक्षको परीक्षा। यत्रतत्र, सर्वत्रको परीक्षा लिइरहेको छ, कोरोनाले। वास्तवमै मानिस कति संयम रहेछन्, कति विवेकी रहेछन्, कति सहनशील रहेछन्, कति आज्ञापालक रहेछन्, सबैसबैको परीक्षा लिइरहेको छ, एउटा जाबो १२५ नानोमिटरको जीव पनि भन्न नमिल्ने भाइरसले।
यो भाइरसभन्दा लाखौं गुणा ठूलो लामखुट्टेलाई लिएर भारतीय अभिनेताले एक फिल्मी संवादमा उहिल्यै ‘एक मच्छड ने आदमीको हिजडा बनादिया’ भनेर उडाइसकेको परिप्रेक्ष्यमा यो नाथे भाइरसले त मान्छे, मान्छेको विकास, प्रगति, प्रविधिको अहंलाई हातको माझी औंला देखाइरहेको छ। दुर्भाग्य, तर अझै धनी मानिसमा, सत्ताधारीमा, शासक वर्गमा मै हुँ, मैले सब जान्या छु भन्ने दम्भ, अहंकार, घमण्ड बाँकी नै छ। यस्तो घमण्ड, अहं, दम्भ चकनाचुर पार्न, गाल्न, पर्गेल्न कोरोना भाइरसभन्दा कडा एसिड चाहिएको हो र ?
कोरोनाको कसीमा मान्छेले मान्छेमा गर्ने व्यवहार र सम्मानको परीक्षा देखियो, भोगियो। छिमेकी सहरका एक समाजसेवीको निधन भयो, कोरोनाको कारणले। कोरोना नै हो भन्ने के प्रमाण छ भन्ने सवालमा वृद्धता अनि घुँडाको जोर्नीको समस्याबाहेक केही थिएन। उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, थाइरोइड, मुटुको समस्या केही थिएन, केही। उहाँले विगतमा उहाँकै सहरको विकास निर्माणमा देखाएको त्याग, तपस्या, सेवा, दानले थुप्रै मलामी कमाउनुभएको थियो। कोरोना कालअघि वा ‘न्यु नर्मल’को परिस्थितिमा उहाँको निधन भएको भए सारा सहरवासी, नगरवासी उल्टेर जान्थे होलान्, उहाँको दाहसंस्कारको समय। तर परिस्थिति कस्तो भयो वा बन्यो भने एकदुईजनाको उपस्थितिमा बिजुली शवदाह गृहमा अन्त्येष्टि भयो। यही मानिसले गरेको प्रगति, यही हो त्यस्तो समाजसेवीलाई दिइने अन्तिम सम्मान ? त्यसैले भनेको यो सम्मानको, विवेकको, संवेगको परीक्षा हो।
पूर्वीय संस्कारमा लोग्ने–स्वास्नी, श्रीमान्–श्रीमती, जोई–पोइबीचको सम्बन्धलाई लिएर आफ्नै महत्व छ। पश्चिमा जगत्मा जस्तो होइन, कोर्ट म्यारिजमा गरेको मसी नसुक्दै डिभोर्सको फर्म भर्न सुरसार गर्ने। त्यसमाथि तीज होस् या सत्यनारायणको पूजा या स्वस्थानीको व्रत, श्रीमान्को आयु लामो होस् भनेर पटक–पटक निराहार बस्ने, व्रत बस्ने श्रीमतीको कोरोनाका कारण निधन हुँदा चित्त बुझ्ने गरी अन्तिम दर्शनसम्म गर्न पाएन। विगत १५ वर्षसम्म दुःखसुखमा, आँसुहाँसोमा साथ दिँदै आएकी श्रीमतीलाई एक अँजुली पानीसम्म ख्वाउन, एक थुंगा पूmलसम्म अर्पण गर्न पाएन। ती श्रीमान्को मनोदशा कस्तो भयो होला ? त्यसैले भनेको हो, यो माया, स्नेह, सद्भावको परीक्षा हो, नियतिको परीक्षा हो।
दुईतीन महिनाकै अवधिमा अर्बौं, खर्बौंका मालिकले कामदारलाई तलब दिन नसक्ने भए, घरभेटीले डेरावाललाई विश्वास गर्न नसक्ने भए, निर्वाचित जनप्रतिनिधिले मतदाताहरूलाई एकसरो खाना, बस्ने ठेगान अनि पीसीआर परीक्षणको आश्वस्त गर्न नसक्ने भए। के मानिस हुनुमा गर्व गर्नु ? के सुशासन दिन्छौं भन्नेमा घमण्ड गर्नु ? आफ्नो र अर्काको आखिर जीउज्यान उस्तै त हो। अर्कालाई पनि गाँस, बास, कपास अनि सुरक्षाको उत्तिकै आवश्यक छ भन्ने न्यूनतम चेत पनि नहुनु कहाँसम्मको विडम्बना हो। त्यसैले भनेको यो विश्वासको परीक्षा हो, जवाफदेहिताको परीक्षा हो, नैतिकताको परीक्षा हो।
आज मानिस कोरोना लाग्नेबित्तिकै आकाशै खस्छ, धर्ती नै फाट्छजस्तो गरिरहेका छन्। मृतकको शव डोजरले खनेको खाल्डोमा डोजरकै बकेटले खाल्डोमा फुत्त फालेको अन्तिम दृश्य हेर्नु परिरहेको छ। जलाउनु अन्तिम संस्कार हो भन्दाभन्दै, आफ्नै थातथलोमा मेरो सद्गत होस् भन्ने इच्छालाई संक्रमण पैmलिने डरमा मृतकका आफन्तको चाहना पूर्ति भइरहेको छैन। मलामीहरू दाहसंस्कार भइरहेकै ठाउँमा ‘एऽ, पीसीआर रिपोर्ट पोजिटिभ आयो रे’ भन्नासाथ भागाभागको स्थिति छ। यस्तो महामारीको बेला अग्र मोर्चामा रहेर काम गरिरहेका चिकित्सक, नर्सलाई ‘...चोर, देश छोड’को नारा घन्काउन सक्ने बानेश्वरवासी, चिकित्सकको कम्पाउन्डबाहिर ‘यो संक्रमितको घर हो’ भनेर सूचना टाँस्न सक्ने चितवनवासीको समय पनि हो। त्यसकारण यो नियम, बेनियमको, संयमको अनि के सही, के गलत सबैको परीक्षा हो।
खोक्दा, हाच्छ्युँ गर्दा मुख छोप्ने, हात धुनेजस्ता व्यक्तिगत स्वास्थ्य अनि सुरक्षाका न्यूनतम नियम पालना सिकाइरहेको छ कोरोनाले। मानिसहरूले आफ्नो खानपानको संयमतामा अति गर्न थाले भनेर चेतावनी दिइरहेको छ कोरोनाले। सारा पृथ्वीवासीले प्रकृतिको अचाक्ली दोहन गरिरहेको छ है भनेर वार्निङ दिइरहेछ नोबल कोरोनाले। भाइरसको प्रारूप राम्रै देखिएकाले कोरोना नाम दिएबाट राम्रो चिजमा नलोभिनू भनेर सचेत पार्दै छ कोरोनाले। आकार, प्रकारलाई लिएर अनि गैरमानवीय जीवलाई कहिल्यै तुच्छ नठान्नू भन्ने सन्देश दिइरहेको छ कोरोना संक्रमणले। त्यसो भएर यो अनुशासनको, आत्म संयमको, प्रकृतिप्रेम, संरक्षणको, लोभ, लालच अनि हेय भावको पनि परीक्षा हो।
पहिले दुई चार दिन बन्द हुँदा मानिस आत्तिहाल्थे। यति घाटा भयो, उति घाटा भयो भन्ने चर्चा–परिचर्चा हुन्थ्यो तर अहिले परिस्थिति अर्कै छ। मानव स्वास्थ्य नै प्राथमिकता छ र हुनु पनि पर्छ। अहिले यातायातका साधन, कलकारखानामा खिया पारिराख्नुपर्ने बाध्यता छ। महिनौं भइसक्यो स्टेरिङ छुन पाएको छैन, ज्यावलहरू छुन पाएको छैन। कतिपय चिकित्सक हात बाँधेर बसिरहनु परेको छ। आफ्नो कामकाज गर्न नपाएर हातखुट्टा चिलाउन थालेको गुनासो सुनिन थालेको छ। अतः यो धैर्यको परीक्षा हो, संयमको परीक्षा हो।
खासमा स्वास्थ्यको उपचार तौरतरिका म्याथमेटिकल क्याल्कुलेसन जस्तै हो। पछिल्लो समय प्रमाणमा आधारित स्वास्थ्य उपचार गरिँदै आएको पनि हो। भन्नुको तात्पर्य रगत जाँच, अल्ट्रासाउन्ड, सीटी स्क्यान, एमआरआई, प्याथोलोजी आदिको रिपोर्टअनुसार उपचार गरिँदै आएको हो। तर कोरोना भाइरसले भने स्वास्थ्य वैज्ञानिकहरूलाई चक्मा दिइरहेको छ। भाइरल रोगसम्बन्धी विगतका कुनै पनि अनुमान प्रयास खासै काम लागेका छैनन्। के गर्ने, कसो गर्ने मेसो पाइरहेको छैन। कोरोना संक्रमणका लागि जत्तिको ल्याब परीक्षण अहिलेसम्म कुनै पनि संक्रमण वा रोगका लागि गरेको छैन होला। सबैले कोरोना संक्रमणविरुद्ध खोपकै आशा गरिरहे पनि निकट भविष्यमा त्यो सम्भव नै छैन। त्यसैले यो अनुसन्धानको परीक्षा हो, पर्खाइको परीक्षा हो, आशाको परीक्षा हो।
कोभिड–१९ को महामारीसँगै नेपालमा अंग्रेजी शब्दावलीको बाढी आएको छ। कतिले बुझे बुझेनन्, त्यो आफ्नै ठाउँमा छ। तर पनि लकडाउन, स्वाब, आइसोलेसन, पीसीआर, भीटीएम लगायतका अनेकौं अंग्रेजी स्वास्थ्य प्राविधिक शब्दमा बानी पर्नु÷पार्नु परेको छ। त्यसो त उही भाव बुझाउने कतिपय नेपाली शब्द हुँदै नभएका होइनन् तर नेपालीलाई नेपांग्रेजीमै मज्जा आइरहेको देखिन्छ। अतः यो भाषासेवीको परीक्षा हो, नेपालीपनको परीक्षा हो, जानी नजानी अंग्रेजीमा बानी पार्नुभन्दा आफ्नोपन पहल गर्नेको परीक्षा हो।
मानिस यस्तो भइसक्यो कि भोलि उठ्दा यो कोरोना भन्ने चीज स्वाट्ट हराइदिए हुन्थ्यो नि। पर्सि, निपर्सि नै खोपको विकास भइदिए हुन्थ्यो नि ! यस्तै आशा गरिरहेको छ। तर वास्तविकता त्यसो हुँदैन, प्राकृतिक नियम आफ्नै कोर्समा हिँड्छ। यसमा कृत्रिमता भन्ने लागू गर्न सकिँदैन। मतलबी मानिसहरूको यो इच्छा पूर्ति हुँदै गयो भने मानिस झन् बेलगाम हुनेछन्। अझै एक, डेढ वर्ष कोरोनाको सन्त्रास रहिरहने छ। त्यसैले कोरोनालाई बहिष्कृत गर्ने नभई कोरोनासँगै बाँच्न सिक्ने हो। यसो भन्दै गर्दा आगत–विगतमा कोरोना वा योभन्दा अझै घातक संक्रमण वा विपद्बाट बच्ने हो भने विश्वका सारा मानिसले आफ्नो आनीबानी, आचरण, इच्छा, आकांक्षा, लोभलालचमा धेरै अनुशासित हुन आवश्यक छ। कोरोनाले अग्निपरीक्षाभन्दा पनि ठूलो, महापरीक्षा लिइरहेको छ। यस परीक्षाको घडी सत्ताधारी, शासकवर्ग, जनप्रतिनिधि, वैज्ञानिक, स्वास्थ्यकर्मीका साथै जनमानस आफैँ कति खरो उत्रिन्छ, आगामी दिनले बताउनेछ।