कोरोना, पुस्तक व्यवसाय र शिक्षा
विश्वमा यतिबेला कोरोना (कोभिड–१९) कहरले सबैलाई सताएको छ। सन् २०१९ को डिसेम्बरमा चीनबाट उक्त भाइरस देखापरेको हो। उक्त भाइरसको वैज्ञानिक नाम ‘सार्स कोभ २’ हो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) का अनुसार कोरोनाको महामारी साम्य हुन कम्तीमा २ वर्ष लाग्न सक्छ। तर, विश्वका ठूला विभिन्न विश्वविद्यालयका रिसर्च सेन्टरले भ्याक्सिन बनाउने कार्यलाई तीव्रता दिइरहेका छन्।
कोरोनो भाइरसको प्रकोप बढ्दै जाँदा हामी पुस्तक व्यवसाय गर्ने व्यवसायीलाई पुस्तक बिक्री, वितरण तथा प्रकाशनमा निकै असर पारेको छ। फुटपाथमा बसेर पुस्तक व्यवसाय गर्ने व्यापारीहरूलाई त झन समस्या निम्त्याएको छ। यसै पनि आजभोलि विद्यार्थीको ध्यान पुस्तकतिर गएको देखिंदैन।
सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्छ। के हामी व्यवसाय गर्ने व्यक्तिलाई सरकारले जीवन जिउन आवश्यक आर्थिक भार कम गर्न सक्छ त ? नेपालमा करिब ६ सय प्रकाशन गृहले विभिन्न पकृतिका पुस्तक प्रकाशन गर्दै आएका छन्। तीमध्ये ९० प्रतिशत अर्थात् २ सय ७० प्रकाशन गृहले विद्यालयस्तरीय पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरण गर्दै आएका छन्।
३ सय प्रकाशन गृहले पर्यटनसँग सम्बन्धित पुस्तक प्रकाशन गर्दछन्। पुस्तक छपाइ गर्ने प्रेसको संख्या झन्डै ८ सयको हाराहारीमा छ। जसअन्तर्गत निजी क्षेत्रको पहुँच २० प्रतिशतमा सीमित छ। विद्यालयमा पढाइने पुस्तकको व्यापार भने झन्डै २ अर्ब रहेको अनुमान गरिएको छ। तर, उच्च शिक्षाअन्तर्गत व्यवस्थापन, मानविकी शिक्षा, विज्ञान, कानुन, कला, भाषा साहित्य पढ्ने विद्यार्थीको संख्या झन्डै ५ लाख रहेको अनुमान गरिएको छ। ४ लाख विद्यार्थीलाई भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको नेपालका केही प्रकाशकको भनाइ छ। उनीहरूका लागि नेपालबाट झन्डै ३ अर्बको पुस्तक आयात भइरहको छ।
नेपालमा विभिन्न किसिमका शैक्षिक संस्था छन्। तीमध्ये सरकारी र प्राइभेटमा पढ्ने विद्यार्थीको संख्या पनि फरक छ। विभिन्न किसिमको आर्थिक स्थितिको कारणले नेपालमा जम्मा विद्यार्थी ६० लाखमध्ये निजी स्कुलमा पढ्ने विद्यार्थी २५ लाख र सरकारीमा ४५ लाख भएको अनुमान गरिएको छ। यसरी विभिन्न किसिमको आर्थिक अवस्थालाई झेल्दै निजी स्कुलमा २ लाखको हाराहारीमा शिक्षक रहेको पाइन्छ।
बुक तथा स्टेशनरी व्यवसाय गर्ने व्यवसायीले पनि यो शैक्षिक पेसामा संलग्न भएका शिक्षक तथा सम्पूर्ण लेखक वर्ग गरी ५ लाख मानिसलाई रोजगारी दिइरहेको छ। नेपालमा ११ मध्ये सात विश्वविद्यालयमा विभिन्न विषयका भारतीय पुस्तक पढाइ हुन्छन्। अझै एमबीबीएस, कला र कानुनका पाठ्यपुस्तकका लागि नेपाल भारतसँगै निर्भर छ।
नेपाल सरकारले विद्यालयस्तरीय पाठ्य पुस्तकमा लगातार मूल्य समायोजन गर्दै आएका छन्। पाठ्क्रम विकास केन्द्रले पुस्तक प्रकाशन सम्बन्धमा नियमन तथा अनुगमनको साथै मूल्य समायोजन गर्दै आएको छ। तर, कसले बुझिदिने पुस्तक व्यवसयीको पीडा ? जति पुस्तक प्रकाशन गरे पनि कोभिडका कारण पाठक वर्गसम्म पुर्याउन निकै कठिन भएको छ। तर, पनि हामीले हिम्मत नगरी विभिन्न उपाय अपनाएर विद्यार्थीसमक्ष पुस्तक पुर्याइरहेका छौं।
हामी व्यवसायी साथीहरूले आफ्नो व्यवसायलाई निरन्तरता दिन विभिन्न सामाजिक सञ्जाल जस्तै: फेसबुक, इमेल, टेलिभिजन, रेडियो, सिडी तथा डिभीडी जस्ता अनेकौं माध्यमबाट पुस्तकको प्रचारप्रसार गरिरहेका हुन्छौं। यो कोरोनाको महामारीको बेलामा त झन घरमै पुस्तक पुर्याइदिने व्यवस्था पनि गरेका छौं। आफ्नो व्यवसायको आर्थिक अवस्थालाई नियाल्ने हो भने त व्यवसाय घाटातिर गइरहेको छ। तर, पनि हामीले विद्यार्थीलाई पढ्नबाट वञ्चित गराएका छैनौं। असल व्यवसायी बन्नु जटिल काम हो। किनकि हामी व्यवसायीसँग विद्यार्थीहरूले धेरै आशा, विश्वास, अपेक्षा गरेका हुन्छन्। ज्ञानलाई माया गर्ने र हौसला प्रदान गर्ने एक प्रेरणादायी व्यक्ति मानेका मान्छन्।
नम्रता शर्मा त्रिभुवन परिसरस्थित दिक्षान्त स्टेसनरीकी सञ्चालिका हुन्।