वामपन्थी विवादको जड
नेकपा विभाजन भयो भने नेपालमा यति ठूलो गणितमा वामपन्थीको शक्तिशाली सरकार सायद कहिल्यै बन्ने छैन
राजनीतिक परिदृश्यले वामपन्थीहरू पतनको दिशामा अघि बढेको संकेत गर्छ। विश्वमा वामपन्थीको पतन कसरी भएको रहेछ भन्ने पत्ता लगाउन अब इतिहासका ढड्डा पल्टाइरहन नपर्ने अवस्था उत्पन्न भएको छ। १०४ बर्से निरंकुश राणाशासनदेखि लिएर तीसबर्से निर्दलीय पञ्चायती प्रणाली वा प्रजातन्त्र पुनस्र्थापना आन्दोलन होस् वा २४० बर्से वंशवाद अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपालका वामपन्थीको प्रमुख भूमिका रहँदै आएको हो। यही सत्य आत्मासात गर्दै परिवर्तनका वाहक प्रमुख दुई पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिलाई पालैपालो सत्ताको बागडोर सुम्पिँदै आएका छन् नागरिकले।
पछिल्लो संविधानसभा निर्वाचनमा नागरिकले वामपन्थी पार्टीलाई न्याय गरे। लोकतान्त्रिक गणतन्त्रको माग वा एजेन्डा वामपन्थी पार्टी माओवादीको भएका कारण उसलाई ठूलो पार्टी बनाए भने दोस्रो संविधानसभा निर्वाचनमा समेत वामपन्थीलाई बहुमत दिए। त्यति मात्र होइन, २०७२ को संघीय संसद्को निर्वाचनमा दुई ठूला वामपन्थी पार्टी एक हुने र सरकार परिवर्तनको खेल बन्द गर्छौं, राजनीतिक स्थायित्व प्रदान गर्छौं भन्दै घरदैलो पुगेका दुई वामपन्थीलाई नागरिकले झन्डै दुईतिहाइ मतदान गरे वा समाजवादउन्मुख सैद्धान्तिक दर्शन कार्यान्वयनका लागि सहीछाप ठोके निर्वाचनमार्फत।
दुई वामपन्थी पार्टीबीच मात्र होइन, सम्पूर्ण साना–ठूला वामपार्टी एक हुनुपर्छ भन्दै निर्वाचनमा सफलता प्राप्त गरेपछि जनतालाई झुक्याउन पार्टी र एकीकरणको नाटक मञ्चन गरियो, जुन अढाई वर्ष काट्दा पनि पूरा हुन सकेको छैन। एकीकरण प्रक्रियामा एउटा पक्ष सधैं सकारात्मक रहेको छ भने अर्को पक्ष छलछाम गर्नेबाहेक केही देखिएको छैन। दुवै पक्षमा इमानदारी देखिएको भए नेपाल सुनौलो युगमा प्रवेश गर्नेमा दुईमत थिएन। नेपालका हरेक निर्वाचन हेर्ने हो भने वामपन्थी पार्टी जहिले पनि बहुमतमा छन्। तर दुर्भाग्य, सर्वहाराको पार्टी भनेर कहिल्यै नथाक्ने नेताहरू देवत्वको भूत सवार भए झैं सत्ता, शक्ति र सम्पत्तिमा लिप्त हुन पुगे। सर्वहारा त कहाँ हुन् कहाँ। करिब अढाई वर्षको समयलाई राजनीतिक विश्लेषकले भिन्न तरिकाले विश्लेषण गर्न थालेका छन्।
दुई पार्टी एकीकरण हुँदा विचार, सिद्धान्त, आचरण र सबैभन्दा ठूलो कुरा मन नमिली सम्झौताका आधारमा एकीकरण गरियो। व्यक्तिगत स्वार्थ छाडी समाजवादी आन्दोलनलाई मूर्तरूप दिन राष्ट्र, राष्ट्रियता र आम नागरिकका मुद्दामा एक भएको भए सायद अहिले उत्पन्न समस्या आउने नै थिएन। एउटा शक्तिलाई सिध्याएर वा तेजोबध गरेर आफ्नो हैकम चलाउन खोजेका कारण एकीकरण अपवित्र गठबन्धनमा परिणत हुँदै छ।
दुई वामपन्थी पार्टी नमिल्दा विभिन्न सम्झौता गर्दा पनि एउटा पक्ष सधैं धोका खाँदै आएको जनजाहेर छ। पहिलो सम्झौता हुँदा प्रधानमन्त्री पद छाड्न नमान्दा तत्कालीन माओवादी बाध्य भएर कांग्रेसको समर्थनमा सरकार बनाउन बाध्य हुँदा आफ्नो हठका कारण वामपन्थी आन्दोलन एक कदम पछि हटेको थियो भने पछिल्लोचोटि तत्कालीन एमाले संविधान जारी भएपश्चात् आफ्नो नेतृत्वमा सरकारको नेतृत्व हुने सर्त भएका कारण अपूरो संविधान जारी गरी प्रधानमन्त्री खान हतार भएको जगजाहेर छ। त्यति मात्र होइन, आफ्नै पार्टीको प्रधानमन्त्रीलाई जबर्जस्ती राजीनामा गराउँदा के प्रस्ट भइसकेको थियो भने आफू प्रधानमन्त्री भइरहन मुलुकबाटै वामपन्थी बिदा गर्नसमेत पछि नपर्नाले सर्वहारा एवम् मजदुरका लागि आन्दोलन नभई सर्वस्व प्राप्ति एवं सम्पत्ति जोड्नका लागि रहेछ भन्ने निष्कर्षमा नागरिक पुगे। यसले आगामी दिनका वामपन्थी पार्टीको भविष्य के होला भन्ने अनुमान गर्न सहज बनाइदिएको छ। एक त राजनीतिक, सामाजिक एवं आर्थिक रूपमा परनिर्भर हाम्रोजस्तो राष्ट्रमा विश्व राजनीतिले प्रत्यक्षरूपमा असर पारेकै हुन्छ
भने संसारमा वामपन्थी व्यवस्था देख्न चाहने राष्ट्र एउटा हातका औंलामा पनि अटाउँदैन। तसर्थ शक्तिसम्पन्न राष्ट्रहरूले आर्थिक अनुदान एकातिर घटाइराखेका छन् भने अर्कातिर राजनीतिक दबाब त छँदैछ, त्यसमाथि पनि पार्टीभित्रको व्यक्तिगत स्वार्थ कलहका कारण बाहिरी शक्तिहरूले त झन् खेल्ने मौका सजिलै पाएका छन्।
दलीय व्यवस्थामा पार्टी नै सर्वेसर्वो हुन्छ। पार्टी कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो। त्यसमाथि पनि अन्तरपार्टी कलह बढ्दै जाँदा वटुवाले चासो राख्नु स्वाभाविकै हो। छोटो दलीय व्यवस्थाको इतिहास जुन पार्टी बारम्बार विभाजित भए, तिनीहरूको दलीय राजनीतिक इतिहासको सूचीमा नाम अंकित भइसक्यो भन्दा अत्युक्ति हुँदैन। जुन पार्टी विभाजित भई निर्वाचनमा गए, तिनीहरूले नराम्रो पराजयको इतिहास बिर्सन नपर्ने हो।
करिब आधा मतदाताको प्रतिनिधित्व गर्ने तराई क्षेत्रको आफूले प्रतिनिधित्व गरेको दाबी गर्ने मधेसवादी पार्टीहरू मिलेर एउटा मात्र समाजवादी पार्टी निर्माण भएको छ। त्यसैगरी कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पार्टी नेतृत्व हत्याउन भएको शक्ति संघर्षलाई सामान्य रूपमा लिन सकिन्छ। त्यसमा पनि कांग्रेसको इतिहास हेर्ने हो भने ६० र ४० को भागबन्डामा सबै विवाद समाधान भएका छन्। माओवादी र एमाले दुई पार्टी मिलेको मसी सुक्न नपाउँदै उग्र वामपन्थी सोचका कारण पार्र्टी विभाजन हुन खोज्नु यो सामान्य रूपमा मात्र हेर्दा नेपाल र नेपालीले संघीय लोकतान्त्रिक गणतन्त्र बुझ्न धेरै बाँकी रहेको ठहर्छ।
हरेक राजनीतिक निर्णयमा छिमेकीको हस्तक्षेपकारी भूमिका रहँदै आएको इतिहासले प्रस्ट गर्छ। वर्तमानमा त अर्को छिमेकी राष्ट्रले समेत प्रत्यक्षरूपमा संलग्न एवं चासो व्यक्त गर्न थालेको छ। अहिलेको विवादमा नेकपा विभाजन भयो भने सम्भवतः नेपालमा यति ठूलो गणितमा वामपन्थीको शक्तिशाली सरकार सायद कहिल्यै बन्ने छैन। राजनीतिक विश्लेषकहरूका अनुसार नेकपा विभाजनपश्चात् केपी ओली, कांगे्रस र समाजवादी मिलेर सरकार बनाउने जसको नेतृत्व ओलीले नै गर्नेछन् प्रथम चरणमा। दोस्रो चरणमा वामपन्थी सिध्याउने अर्को खेलमा समाजवादी पार्टीका डा. बाबुराम भट्टराईको नेतृत्वमा प्रचण्ड समूह र कांग्रेससहितको समर्थनमा सरकार बनाउने र तेस्रो चरणमा संघीय र प्रदेशसभाको निर्वाचन डा. बाबुराम भट्टराईले गराउने र समाजवादी र कांग्रेसबीच चुनावी तालमेल गराई चुनावपछिको सरकारको नेतृत्व कांग्रेसले गर्ने सर्तमा वर्तमानमा नेकपालाई विभाजन गर्न ग्राइन्ड डिजाइन गराइँदै छ।
यसरी करिब साढे दुई वर्षपछि हुने निर्वाचनमा बाहिरी तथा भित्री शक्तिहरू निर्वाचनमा विजय मात्र होइन, वामपन्थी आन्दोलनलाई पूर्णविराम लगाउने खेलमा छन्। त्यस खेलमा जानी वा अन्जानमा ओलीको ठूलो भूमिका देखिन्छ। पार्टीबाट निर्वाचित प्रधानमन्त्री पार्टीका कुनै तहका निर्णय मान्दिनँ भन्नु योभन्दा ठूलो उग्र वामपन्थी सोच वा अराजकता अरू केही हुन सक्दैन। एकलौटी एवं अन्तरपार्टीका कार्यकर्ता थाकेका बेला आम जनता वा अन्य पार्टीका कार्यकर्ताका लागि सरकारका क्रियाकलाप ठूलो चुनावी मसला बन्ने त छँदै छ।
तसर्थ वर्तमान सरकार वा उसको पार्टीलाई मतदान गर्र्नु भनेको २०७२ का भूकम्पपीडित हालसम्म पनि खुला आकाशमुनि रहेको ठीक भन्नु हो भने निर्मला बलात्कार काण्ड, सुरक्षा दिने प्रहरी पालमा रहनु, ३३ केजी सुन प्रकरण, वाइडबडी, छिमेकी भारतसँग असफल कूटनीति, कोभिड— १९ औषधि खरिदमा भ्रष्टाचार, नेपाल ट्रस्टका सम्पूर्ण सम्पत्ति यती समूहलाई कौडीको मूल्यमा सुम्पिनु, विदेशमा अलपत्र नेपाली महाकालीमा हामफाली स्वदेश भित्रिनु, अख्तियार पंगु बनाउनु, न्यायालय पार्टीको कमिटी बनाउन खोज्नु, कोरोनाका कारण गरिब जनतालाई मनकारी मनहरूले सडकमै खुवाउन बाध्य हुनु, जनताका उपचार गर्न सक्दिनँ भन्नु, महँगी, मल अभाव, सयौं यस्ता काण्ड चुनावी नारा बनाएर जनताबीच विपक्षी जाँदा फुटेको पार्टीको हालत के होला र संसारभर वामपन्थी कसरी पतन भएका रहेछन् भन्ने सजिलै अनुमान लगाउन सकिन्छ।