कोभिड-१९ को नयाँ शोध
कोरोना भाइरस (सार्स कोभ २) र यस भाइरसको संक्रमणबाट हुने भनिएको कोभिड– १९ का बारेमा नयाँनयाँ तथ्य बाहिर आइरहे पनि अहिलेसम्म यसको संक्रमण, लक्षण तथा उपचारको स्पष्ट तस्बिर प्राप्त भइसकेको छैन। कोभिड– १९ का सम्बन्धमा गरिएका अहिलेसम्मका कुनै पनि अध्ययन विवादमुक्त छैनन्। तर कोरोना भाइरस संक्रमित ८० प्रतिशत मानिसलाई कोभिड– १९ ले कुनै असर नगर्नेमा लगभग सबै अध्ययन सहमत छन्। यसको वैज्ञानिक कारण हो– इम्युनिटी अर्थात् शरीरको रोग प्रतिरोधक क्षमता।
हो, शरीरको रोग प्रतिरोधक क्षमता मजबुत भएको खण्डमा शरीरले स्वस्फूर्तरूपमा यस्ता भाइरस खेदेर बाहिर फ्याँकिदिन्छ। यसैले गर्दा अधिकांश मानिसलाई कोरोना संक्रमण भएको अवगतसमेत हँुदैन। यस प्रक्रियामा कसैकसैलाई हल्का ज्वरो आउन सक्छ। तीमध्ये कतिपय मानिस पानी पट्टी गरेर वा सिटामोल आदि खाएरै निको हुन्छन्।
तर इम्युनिटी कमजोर भएकाको हकमा भने कोरोना भाइरसको संक्रमणले अनेक लक्षण देखाउन सक्छ। अहिलेसम्म प्रकाशमा आएका प्रमुख लक्षण हुन्– ज्वरो वा शरीर चिसो, सुक्खा खोकी, सास फेर्न कठिनाइ, थकान, टाउको तथा शरीर दुःखाइ, गन्ध र स्वाद नपाउनु, गलामा खरास, नाक बन्द हुनु वा सिँगान बग्नु, उल्टी हुनु, पखाला लाग्नु, लगातार छाती दुख्नु, भ्रम, उठेर बस्न नसक्नु, ओठ तथा अनुहार नीलो हुनु आदि।
अध्ययनअनुसार यस्ता लक्षण मानिसपिच्छे फरकफरक हुन् सक्छन्। अधिकांशलाई चर्को ज्वरो आउँछ। तर कतिपयलाई ज्वरो नआईकन अन्य लक्षण देखिन सक्छ। दीर्घरोगबाट पीडित तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा कोभिड– १९ उग्र लक्षण देखा पर्न सक्छ। यस्ता मानिसलाई नै कोभिड– १९ को जोखिम हुन्छ। उनीहरूलाई नै सघन उपचारको आवश्यकता पर्छ। बाँकीका लागि कोरोना भाइरस इन्फ्लुएन्जा भाइरस (मौसमी रुघाखोकी) जस्तै हो। शरीरको इम्युनिटी कमजोर भएको खण्डमा मौसमी रुघाखोकीले पनि त मानिस मर्छन्। हरेक वर्ष इन्फ्लुएन्जा भाइरसका कारण श्वासप्रश्वासमा समस्या उत्पन्न भई विश्वमा ६ लाख ५० हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक छ।
भनिन्छ– पृथ्वीमा तीन लाख २० हजार भाइरस छन्। तीमध्ये २१९ प्रकारका भाइरसको पहिचान भएको छ। यी भाइरसले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन्। मानिसको शरीरको रोगप्रतिरोध शक्ति (इम्युनिटी) का कारण नै मानिस यस्ता भाइरसका बीचमा पनि बाँचेका छन्। त्यसैले महत्त्वपूर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटी हो। मानिसको इम्युनिटी शक्तिशाली भए कुनै भाइरसले पनि हल्लाउन पनि सक्दैन। यो वैज्ञानिक तथ्य हो। त्यसैले कोरोनाको स्थायी समाधान भनेको मानिसको रोग प्रतिरोधात्मक क्षमता वृद्धि नै हो। त्यसैले विश्व स्वास्थ्य जगत् कसरी मानिसको रोग प्रतिरोधक क्षमता बढाउन सकिन्छ भन्ने बाटोमा अगाडि बढ्नुपर्छ।
औषधि तथा भ्याक्सिन कोभिड– १९ को अस्थायी समाधान हो भने रोग प्रतिरोधात्मक क्षमता वृद्धि कोरोना भाइरसलगायत भविष्यमा देखा पर्न सक्ने अन्य भाइरसको स्थायी समाधान हो।
अध्ययनअनुसार शरीरको इम्युनिटी शक्तिशाली बनाउन तथा शरीरमा एन्टी–अक्सिडेन्टस् मात्रा बढाउन भिटामिन सी, डी, ई, बिटा केरोटिन, जिंक तथा सेलिनियम आदिको महत्त्वपूर्ण भूमिका रहन्छ। शरीरमा यस्ता भिटामिन्स आवश्यक मात्रामा छ भने कोरोना भाइरसको संक्रमण नभएको र संक्रमण भएको खण्डमा पनि कोभिड– १९ ले उग्र रूप नलिएको र कोभिड– १९ को उग्र लक्षण देखिएका बिरामीमा भिटामिन सी तथा भिटामिन डी आदिको कमी भएको अनेक अध्ययनले देखाएका छन्।
अमेरिकाको नर्थ वेस्टर्न युनिभर्सिटीले चीन, फ्रान्स, जर्मनी, इटली, इरान, दक्षिण कोरिया, स्पेन, स्विजरल्यान्ड, बेलायत तथा अमेरिकाका अस्पताल तथा क्लिनिकमा गरिएको अध्ययनमा कोभिड– १९ का बिरामीमा भिटामिन डीको कमी देखियो। यस अध्ययनमा प्रोफेसर ब्याकम्यान तथा उनको टिमले भिटामिन डी र साइटोकिन स्ट्रोर्मको सम्बन्धलाई प्रकाश पारेका छन्। साइटोकिन स्ट्रोर्म यस्तो स्थिति हो, प्रतिरोधक क्षमता बढी सक्रिय हँुदा शरीरमा सुन्निन्छ। साइटोकिन स्ट्रोर्मले फोक्सोमा नराम्रोसँग क्षति पुर्याउने गर्छ र एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमका कारण बिरामीको मृत्युसमेत हुन जान्छ।
ब्याकम्यानका अनुसार भिटामिन डीले प्रतिरोधक क्षमतालाई मजबुत मात्र होइन, अति सक्रिय हुनबाट पनि बचाउँछ। शरीरमा भिटामिन डीको मात्रा ठीक भएको खण्डमा अन्य थुप्रै प्रकारका रोगबाट पनि बच्न सकिन्छ। यस अध्ययनको निष्कर्ष छ– भिटामिन डीको सही मात्राले कोरोना संक्रमण रोक्न नसक्ने भए पनि कोभिड– १९ लाई गम्भीर हुनबाट र कोरोना संक्रमित बिरामीलाई मृत्युबाट बचाउन सक्छ।
डेली मेलमा प्रकाशित एक यस्तै अध्ययनमा कोभिड– १९ बाट मृत्यु हुनेमध्ये ९९ प्रतिशत बिरामीमा भिटामिन डीको कमी देखिएको उल्लेख छ। इन्डोनेसियामा ७८० कोभिड– १९ का बिरामीमा गरिएको अध्ययनमा ९८.९ प्रतिशत संक्रमितमा भिटामिन डीको कमी देखियो। अध्ययनअनुसार २० एनजीप्रति एमएलभन्दा कम भिटामिन डी भएकाहरूको मृत्यु भएको थियो भने पर्याप्त भिटामिन डी हुनेमध्ये सिर्फ ४.१ प्रतिशतको मृत्यु भएको थियो।
अहिले विश्वका एक अर्ब मानिसमा भिटामिन डीको कमी छ भने नेपालको स्थिति गम्भीर छ। एक अध्ययनअनुसार नेपालमा ६० प्रतिशत मानिसमा भिटामिन डीको कमी छ। भिटामिन डी यस्तो पोषकतत्व हो, जसले क्याल्सियम अवशोषणलाई मद्दत गर्छ भने हड्डी स्वस्थ राख्न तथा इम्युनिटी तथा मांसपेशी मजबुत राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
यसैगरी कोरोना रोकथाम र उपाचारमा भिटामिन सीको पनि महत्त्वपूर्ण भूमिका देखिएको छ। धूमपान, मद्यपान, गलत खानपान र पर्याप्त पोषण अभावका कारण विश्वका करोडौं मानिसमा भिटामिन सीको कमी छ। वैज्ञानिक अध्ययन भन्छ– मानिसको शरीरको रगत प्लाज्मामा लगभग १६ एमसीएमओएल प्रतिलिटर भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ। गरिहाले पनि शरीरको इम्युनिटीले यस्ता भाइरसलाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छ।
भिटामिन डीको सही मात्राले कोरोना संक्रमण रोक्न नसक्ने भए पनि कोभिड– १९ लाई गम्भीर हुनबाट र कोरोना संक्रमित बिरामीलाई मृत्युबाट बचाउन सक्छ।
कोभिड– १९ को स्थितिमा भिटामिन सीले कसरी काम गर्छ भने फोक्सोलाई हानि पुर्याउने प्रमुख कारण फ्री रेडिकल तथा अक्सिडेटिभ स्ट्रेस हुन्, प्रतिरोधक क्षमता कमजोर भयो भने यस्तो स्थिति देखा पर्छ। भिटामिन सी एक शक्तिशाली एन्टीअक्सिडेन्ट हो, जसले फ्री रेडिकललाई निस्तेज पारेर फोक्सोलाई हानि हुनुबाट रोक्छ। अतः पर्याप्त भिटामिन सी, भिटामिन ई, बिटा केरोटिन, जिंक र सेलेनियमको सेवनबाट शरीरमा एन्टी–अक्सिडेन्ट मात्रा बढाउन सकिन्छ।
तर शरीरमा कमी भएका यस्ता भिटाभिन्सक पूर्तिका लागि टेबलेट, क्याप्सुल तथा इन्जेक्सन लिनु ठीक होइन, प्राकृतिक रूपमा नै यस्ता भिटामिन्स लिन उत्तम हुन्छ। भिटामिन डी दुई स्रोतबाट प्राप्त हुन्छ– पहिलो सूर्यको प्रकाशबाट र दोस्रो खानाबाट। महिनाको एकपटक आधा घन्टाजति घाममा बस्ने हो भने शरीरलाई भिटामिन डी ३ पर्याप्त मात्रामा उपलब्ध हुन्छ। माछामासु, अन्डा, दूध र दुग्धजन्य पदार्थ, च्याउ, सुन्तलालगायतका फलपूmल तथा हरिया तरकारीमा भिटामिन डी २ पाइन्छ।
भिटामिन सीका प्रमुख स्रोत भनेको अमला, बेलाउती, कागती, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफूल तथा तरकारी हुन्। अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटी बढ्ने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ। स्मरण रहोस्, शरीरमा पोषणतत्वको कमीको एक प्रमुख कारण कमजोर पाचन शक्ति हो।