विपन्नमाथि ‘बोक्सीको तरबार’

विपन्नमाथि ‘बोक्सीको तरबार’

जनकपुरधाम : कुनै महिलाबाट सन्तान भएन। कोही बिरामी परे। गाईभैंसीले दूध दिएनन्। घरपरिवारमा फलिफाप भएन। यस्तो अवस्थामा परिवारभित्रै वा छिमेकमा एकले अर्कालाई ‘डाइन’ अर्थात् बोक्सीको नजरले हेर्ने प्रवृत्ति रोकिएको छैन। तराई÷मधेसमा कथित बोक्सी आरोपको ‘तरबार’ विपन्न महिलामाथि चलाउने गरिएको घटनाक्रमले देखाउँछ।

त्यस्तै घटना सिरहाको कर्जन्हा–३ खैराहा टोलमा दोहोरिएको छ। बुहारीलाई तन्त्रमन्त्र लगाएर खुट्टामा घाउ बनाएको भन्दै स्थानीय रामअवतार साहले ८५ वर्षीया आमा सुदामादेवी साहको ज्यानै लिए। छोरोले कुटपिट गर्दा गम्भीर घाइते भएकी सुदामादेवीको यही कात्तिक १५ गते मृत्यु भएको हो। प्रहरीले रामअवतारलाई नियन्त्रणमा लिएको छ।

बोक्सी आरोप लगाउने र कुटपिट गर्नेलाई जरिवानादेखि कैद सजायसम्म तोकिएको छ। तर, दोषीलाई कडा कारबाही नहुँदा बोक्सी आरोपका घटना मौलाएको प्रदेशसभा सदस्य शारदादेवी थापाको ठहर छ। ‘कानुन कार्यान्वयन पक्ष फितलो छ। शक्तिवालाले कानुन कब्जा गरेका छन्’, प्रदेश २ को महिला, बालबालिका तथा समाजिक न्याय समितिकी सदस्य थापाले भनिन्, ‘समाजका अगुवाहरूले पञ्चायतको नाममा हातमा कानुन लिएर कानुनको धज्जी उडाइरहेका छन्।’ कानुन कडा र कठोर हुनै उनको भनाइ छ। ‘अपराधीलाई गाउँमा मिलाउने प्रयास होइन, पञ्चहरूले कानुनी कठघारमा प¥याउनुपर्छ’, उनले भनिन्। महोत्तरीको सम्सी गाउँपालिका–७ की पवनदेवी यादवलाई बोक्सी भन्दै गत भदौ पहिलो साता स्थानीय दिनेश यादव, उनका छोरा कृष्ण, आशिक, उनकी श्रीमती सुजियादेवीसहित परिवारले कुटपिट गरेका थिए। २४ वर्षीय कृष्णविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले बताए।

पवनदेवीले केही दिनअघि घरमा कुलदेवताको पूजा गरेकी रहेछन्। पूजा सकिएपछि आशिक बिरामी परे। पवनदेवीले तन्त्रमन्त्र गरेकाले बिरामी परेको भन्दै रातको समयमा उनका छिमेकी जाइलागेका थिए। ‘लात्ती र मुक्काले हाने। कपाल तानेर घिसारे। तलाई गु खुवाउँछु भन्दै घिसारेर लग्दै थिए। मेरा छोराहरू र अरू गाउँले आएर बचाए’, पीडितले भनिन्। महोत्तरीकै भंगहा–४ रामनगर बिर्तामा २०७६ श्रावन अन्तिम साता एक गरिब महिलामाथि निर्मम घटना भयो। ३५ वर्षीया चन्दनदेवी दनुवारलाई गाउँलेले मानव मलमुत्र  खुवाए। छिमेकी सवितादेवी दनुवार, पोसिलादेवी दनुवार, इन्द्रदेवी दनुवार र सुकेश्वरीदेवी दनुवारले मलमुत्र खुवाएको प्रहरीले जनाएको छ। प्रहरीले तत्कालै इन्द्रदेवी  र सुकेश्वरीलाई पक्राउ गरेको थियो। पोसिला र सविता फरार भए।

घटनाक्रमअनुसार चन्दनदेवी ब्राखा चराएर घर फर्किँदै थिइन्। उनको टाउकोमा दाउराको भारीसमेत थियो। ‘चन्दनदेवीको बाटो छेकी लछारपछार गर्दै दाउरा खोसेर फालियो। दुव्र्यवहार गर्दै निर्घात कुटपीट पनि भयो’, भंगहा–४ का वडाध्यक्ष आशोक महतोले भने, ‘त्यसपछि बीच बाटैमा डाइन (बोक्सी) भन्दै उनलाई मलमुत्र खुवाइयो।’

सुकेश्वरीदेवीका छोरा जयनारायण मानसिक रोगी थिए। जयनारायणलाई टुनामुना लगाएको आरोप सुकेश्वरीदेवीको परिवारले लगाएको थियो। ‘तैंले नै मेरो छोरालाई टुनामुना लगाएर पागल बनाइस्, बाख्रा पनि तैँले नै खाइस् भन्दै मलाई उनीहरूले जीवनमा नभोगेको पीडा दिए’, पीडित चन्दन देवीले भनिन्।

धनुषाको धनौजी गाउँपालिका–२ की ३० वर्षीया मन्तोरियादेवी मण्डलले न्याय माग्दा पञ्चायतले उल्टै जरिवानाको निर्णय सुनायो। गाउँलेलाई भोज खुवाउन ५० हजार रुपैयाँ र ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भयो। यो घटना १५ कात्तिक २०७५ को हो। मन्तोरियादेवीलाई जेठाजु इन्दल, जेठानी मानकी, भतिजीहरू र घरपरिवारका सदस्यले एक वर्षदेखि कुटपिट गर्दै आएका थिए। यसै क्रममा जेठाजुले जातीय पञ्चायती बोलाएर बोक्सी आरोप स्विकार्न दबाब दिएका थिए। उनीहरूले कोही बिरामी पर्दा मन्तोरियादेवीले टुनामुना लगाएको भन्दै गाली गर्ने गरेका थिए।

‘आफ्नो जातिको माइजन (जातीय मुखिया) फुगनी मण्डल र पञ्चहरू दुखनी मण्डल, रौदी मण्डल, उमेश मण्डल, विन्दे मण्डलको उपस्थितिमा आफूलाई बोक्सी हूँ भन् भनेर स्वीकार गर्न दबाब दिए’, मन्तोरियाले सुनाइन्, ‘तर मैले आरोप स्वीकार नगरेपछि जेठाजु र जेठानीहरूले पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट गर्न थाले।’ पति इन्द्रजीत मण्डल वैदेशिक रोजगारीमा गएदेखि बोक्सी भन्दै आफूलाई प्रताडित गर्दै आएको मन्तोरियाले सुनाइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.