ऐनविपरीत मेयरले बोलाए बैठक
भक्तपुर : मध्यपुर थिमी नगरपालिकामा मेयरका निर्णयलाई लिएर विवाद चर्किएको छ। स्थानीय तह सञ्चालन ऐन २०७४ विपरीत भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगर कार्यपालिकाको बैठक बोलाएपछि विवाद अझै गहिरिएको छ। ऐनले व्यवस्था गरेअनुसार नपाका प्रमुख प्रशासकीय अधिकृतले बोलाउनुपर्ने बैठक मेयर श्रेष्ठले पत्र नै काटेर बोलाएका हुन्।
उनले आइतबार बिहान ११ बजे नगरपालिकाको सभाहलमा कार्यपालिकाको बैठक बोलाएका छन्। मेयर श्रेष्ठले बोलाएको उक्त बैठक उपमेयर अञ्जनादेवी मधिकर्मीसहित ८ जना कार्यपालिका सदस्यले भने बहिष्कार गर्ने भएका छन्। आफूहरूले बैठक बोलाउन पटक पटक ध्यानाकर्षण गर्दा सुनुवाइ नगरी मेयर श्रेष्ठले आफूखुसी बैठक बोलाएको भन्दै उपमेयर मधिकर्मी, २ वडाध्यक्षसहित ८ जना कार्यपालिका सदस्यले बैठकमा सहभागी नहुने घोषणा गरेका हुन्। उनीहरूले प्रमुख प्रशासकीय अधिकृतले बोलाउनुपर्ने बैठक मेयरले बोलाउनु ऐनविपरीत एवं अवैधानिक भएकोसमेत दाबी गरे।
नपाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राम थापामगरले आफूहरूसँग सल्लाह नगरिएको बैठकमा नजाने स्पष्ट पारे। ‘ऐनकानुनअनुसार मेयरको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले बैठक बोलाउनुपर्छ’, उनले भने, ‘मेयरले बैठक बोलाउनु ऐनकानुनविपरीत र अवैधानिक छ। अवैधानिक बैठकमा हामी जाँदैनौं।’
उपमेयर मधिकर्मीसहित आफूहरूले मेयरसँग कार्यपालिका बैठक बोलाउनेबारे सल्लाह र समन्वय गर्न खोज्दा मेयरले कुनै चासो नदिएको उनको भनाइ थियो। यसका लागि उपमेयर मधिकर्मीले आफ्नो दलबाट निर्वाचित १५ जना कार्यपालिका सदस्यको छुट्टै बैठक बोलाएकी थिइन्। तर पार्टीसँग सल्लाह नगरी बोलाएको भन्दै उक्त बैठकमा कांग्रेस संस्थापनका ४ वडाध्यक्षसहित ७ जना कार्यपालिका सदस्य उपस्थित भएनन्। उनीहरूलाई उपमेयरले बोलाएको बैठकमा सहभागी नहुन कांग्रेस मध्यपुर थिमि नगर सभापति श्रेष्ठले मौखिक निर्देशन दिएका थिए।