बझाङमा नागरिकता बनाउनेको भीड
बझाङ : अरु बेलाभन्दा जिल्ला प्रशासन कार्यालय बझाङमा अहिले नागरिकता बनाउनेको भीडभाड बढेको छ । नागरिकता बनाउनेको भीड बढीपछि जिल्ला शासन कार्यालयको नागरिकता फाँट , राहदानी फाँटका कर्मचारी बाहिर आगनमा बसेर सेवा दिन थालेका छन् ।
विगतका दिनमा यस्तो भीडभाड नहुने गरेको जिल्ला प्रशासनकी कर्मचारी अन्जु गिरीले बताइन्। लकडाउन खुकुलो भएसँगै अहिले शसस्त्र प्रहरी , नेपाल प्रहरीमा भर्ना खुल्नुका साथै विभिन्न शैक्षिक संस्थामा समेत भर्ना खुलेका कारण नागरिकता बनाउनेका चाँप बढेको हो ।
उनका अनुसार अहिले दैनिक एक सय ५० भन्दा बढी सेवाग्रहीले सेवा लिइरहेका छन् । कोरोनाको महामारीका बेला सेवाग्रहीहरुको प्रशासनमा भीड लागेपछि कर्मचारीलाई एकै ठाउँमा राखेर बाहिरबाट सेवा दिन लगाएको र सेवाग्राहीलाई पनि सामाजिक दुरी कायम गरी लाइवद्धरुपमा राख्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी,नाबालक परिचयपत्र , अन्य सिफारिस लिने गरेका छन् । प्रहरी प्रशासनबाट नागरिकलाई सामाजिक दूरी कायम गर्ने , मास्क लगाउने, सेनिटाइटर प्रयोग गर्ने भनिए पनि तर सेवाग्राहीहरुले भने व्यवास्ता गरेका छन्।