बधाई बाइडेन
विश्व महाशक्ति संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। मत गणना जारी छ। औपचारिक घोषणा भएकै छैन। तर पनि निर्वाचित हुन आवश्यक २ सय ७० इलेक्ट्रोल भोट उनले नघाइसकेका छन् । र, उनका समर्थक विजयोत्सवमा लागिसकेका छन्। नेपाललगायत मित्र राष्ट्रहरूले बधाई दिइसेका छन् । ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई हाम्रो पनि हार्दिक बधाई।
अमेरिकामा बाइडेनको विजयसँगै विश्व राजनीतिमा फरक बसन्त उदाएको अनुभूति दिलाएको छ । गैरराजनीतिक पृष्ठभूमिका डोनाल्ड ट्रम्पको ४ वर्षे शासनकाल विश्वकै लागि पट्यारलाग्दो र अत्यासलाग्दो थियो । अमेरिकामा लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रता कुण्ठित पारिएका थिए । उनका अनुदारवादी, रंगभेदी, जातिवादी र श्वेत राष्ट्रवादी स्वभावका कारण अमेरिकी उदार लोकतन्त्र उपहास बन्दै गएको थियो। अघिल्ला राष्ट्रपति बाराक ओबामाका लोकप्रिय कार्यक्रममा उनले कैंची चलाए । संसारका दीन–दुःखीलाई दिइने सहयोग कटौती गरेर महाशक्तिशाली देशलाई सर्वशक्तिवादीमा रूपान्तरण गराए। अमेरिकी लोकतान्त्रिक संरचना र विश्वव्यापी मैत्रीलाई ४ वर्ष पहिलाको अवस्थामा फर्काउनु बाइडनेको प्रमुख चुनौती बन्नेछ।
यसले समकालीन विश्व राजनीतिसँग पूर्णपरिचित बनाउन उनलाई थप सहयोग मिलेको थियो । उनको यो दख्खलबाट विश्व समुदायले लाभ हासिल गर्न सकोस् ।कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त छ। अर्थतन्त्र घाइते छ । अमेरिकाको जीडीपी वृद्धिदर माइनस ४ भन्दा तल झर्ने प्रक्षेपण छ । फरक अहम्का कारण राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको सहयोग खारेज गरेका छन् । विश्वका विपन्नको स्वास्थ्यमा भरथेग गर्ने अमेरिकी दायित्व पुनः सुचारु गर्नुछ । शक्तिराष्ट्रहरूसँगको ट्रम्पकै कारण बढ्दो राजनीतिक–आर्थिक दूरी घटाउनुछ । डाइभरर्सिटी भिसालगायत प्रावधानबाट संसारभरिका नागरिकलाई हार्दिकतापूर्वक स्वागत गर्ने विश्वको घर अमेरिका ट्रम्पकालमा विभेदयुक्त बन्दै गएको थियो । उनले बनाएको आदिवासी र आप्रवासीबीचको खाडल पुर्नुपर्ने चुनौती छँदैछ । जलवायु परिवर्तनको विश्वव्यापी असर अनियन्त्रित बन्दै गएको छ । त्यसमा ट्रम्प नीति आलोच्य बन्यो । त्यसलाई अमेरिकाले सच्याउनुछ । बाइडनलाई यी र यस्ता दायित्वमा पनि सफलता मिलोस् ।
राष्ट्रपति ट्रम्पको अलोकप्रियता बाइडनको विजयको कारक रहेको भने उनले भुल्न नहुने तथ्य हो । अदूरदर्शी विदेशनीति, सञ्चार माध्यमप्रति अनुदारपूर्ण आक्रमण, जातीय र रंगभेदी अभिव्यक्तिजस्ता विषयमा ट्रम्पले गरेका गल्तिका फाइदा निर्वाचनमा बाइडेनलाई पुग्यो । त्यसलै ट्रम्पका कमजोरी सच्याउनु उनका लागि पहिलो बोझ बन्नेछ । समकालीन विश्व घटनाक्रम र विदेशनीतिका विषयमा निकै सर्तक र टतस्थ रहन रुचाउने बाइडेनका अधिकांश नीति मध्यमार्गी हुने गरेका छन् । त्यसैले आफ्नै पार्टीका थुप्रै युवा उनको विचारलाई रुचाउँदैनन् । तर, बाइडन र उनकी उपराष्ट्रपति ह्यारिस लोकतन्त्र, कुनै पनि प्रकारको विभेद, जातीय संकीर्णता, धार्मिक असहिष्णुताजस्ता विषयमा भने निकै संवेदनशील छन् । ती विशेषता बाइडेनका सफलताका पूर्वसंकेत हुन् .
राष्ट्रपतिमा बाइडेनको विजय एसियाली भूगोलका लागिसमेत अर्थपूर्ण छ । विश्वशक्ति बन्ने होडमा रहेको चीनसँग राष्ट्रपति ट्रम्पको सँधै तिक्ततापूर्ण सम्बन्ध रह्यो । बाइडनको चीन नीति उस्तैउस्तै रहे पनि सम्बन्ध केही सुध्रिने अपेक्षा देखिन्छ । उपराष्ट्रपति कमला ह्यारिसकी आमा भारतीय हुन् । दक्षिण एसियाको शक्तिशाली राष्ट्र भारतले त्यही कारण पनि ह्यारिसलाई भावनात्मक रुपमा नजिक मानेको छ । यस्ता तथ्यले एसियासँग अमेरिकाको मैत्री बढाउन मद्दत गर्ने अपेक्षा राख्न सकिन्छ । ठूलो संख्यामा नेपाली अमेरिकामा बस्छन् । तिनको उचित अभिभावकत्व अपेक्षित छ । सँगसँगै नेपाल–अमेरिका मैत्रीपूर्ण दौत्य सम्बन्ध अझ प्रगाढ बनाउनुछ । त्यसमा बाइडेन–ह्यारिसको कार्यकाल सफल बन्न सकोस् । हार्दिक शुभकामना ।