असहायले पाए घर
मलंगवा : सात सन्तानसहित झुपडीमा बस्दै आएकी चक्रघट्टा गाउँपालिका–६ गोइयाहीकी सुनिता देवी महतोले घर पाएकी छन्। पूर्व सभासद् नरेन्द्र साहले उनलाई घर बनाइदिएका हुन्।
गत वर्ष वर्षाका कारण फुसको घर भत्केपछि उनी सात सन्तानसहित झुुपडीमा बस्दै आएकी थिइन्। ३ वर्षपहिले श्रीमान् राजेन्द्र महतोको मृत्यु भएपछि आर्थिक अभावले थलिएकी सुनिता गाउँघरमा मागेरै ७ सन्तानलाई पाल्दै आएकी थिइन्।
सम्पत्तिको नाममा ५ धुर घडेरी मात्र रहेको सुनितालाई सन्तान पाल्नु कि घर बनाउने चिन्ता थियो। पूर्वसभासद् साहले घर बनाइदिएपछि उनी अहिले दंग परेकी छन्। गत वर्ष फागुन १२ गते ‘मागेरै सात सन्तानको गुजारा’ शीर्षकमा अन्नपूर्णमा समाचार छापिएपछि सभासद् साहले घर बनाइदिएका हुन्।
‘श्रीमान्को मृत्यु भएपछि बिच्चलीमा परेको थियौं’, सुनिताले भनिन्, ‘गाउँघरमा आफूसहित दुई सन्तान मागेर ल्याएपछि गुजारा चल्थ्यो।’ परिवार पाल्नु कि घर बनाउनु भन्ने चिन्ता थियो। सभासद् साहले घर बनाइदिएपछि झुपडीको बासबाट छुट्कारा मिलेको छ। साहले दुईतले काठको घर र पक्की चर्पी बनाइदिएका छन्। एक वर्षदेखि झुपडीमा बस्दै आएका थिए। ५ छोरी र २ छोरासहित सानो छाप्रो बनाएर गुजारो गर्थे। एउटा कुनामा चुलो र अर्को कुनामा सबै जना बस्थे। अहिले तल भान्सा घर र माथि सबै जना बस्छन्। घर बनाइदिएर ठूलो गुण लगाएका उनी बताउँछिन्।
कान्छो छोरा पेटमै रहेको बेला श्रीमान्को मृत्यु भएको थियो। सुत्केरी भएको बेला झन् समस्या भएको थियो। गाउँबाट मागेर ल्याएर सानो छोरालाई पालनपोषण गर्थिन्। घर बनेपछि बस्न सजिलो भएको छ। ‘अब ज्याला मजदुरी गरेर सन्तान पाल्छु। आर्थिक अभावका कारण सन्तानलाई विद्यालयसमेत पठाउन सकेका थिएनौं’, उनी भन्छिन्, ‘अब छोराछोरीलाई पनि विद्यालय पठाउँछु। कतैबाट व्यापार गर्नका लागि सहयोग भए राम्रो हुन्थ्यो।’ अन्नपूर्णमा छापिएको समाचार पढेपछि आफू घर बनाउन गाउँमा आएको सभासद् साहले बताए।
समाचार पढेपछि गाउँमा उनको अवस्था हेर्न आएका थिए। अवस्था निकै दयनीय देखेपछि सहयोग गरेको साहले बताए। काठको दुई तले घर साहले शनिबार बेलुका हस्तान्तरण गरेका हुन्। हस्तान्तरणको समयमा सभासद् साहले बालबालिकासहित सुनितालाई नयाँ लुगा पनि वितरण गरे। यसअघि समाचार पढेरै ललितपुर नगरपालिका–१ कुपण्डोलका बलराम केसीले २५ हजार सहयोग गरेका थिए।