धकेलिँदै विमानस्थल निर्माण

धकेलिँदै विमानस्थल निर्माण

काठमाडौं  : राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कोरोनाका कारण पछि धकेलिएको छ।  लकडाउनका बीचमा पनि सञ्चित सामग्री तथा मानव संसाधन प्रयोग गरी दुवै विमानस्थल निर्माणको कामलाई निरन्तरता दिइएको भए पनि निर्माण सम्पन्न हुने समयसीमा भने पछि धकेलिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। आवश्यक केही सामग्री तथा मानव संसाधनको कमीका कारण आयोजना निर्माणमा ढिलाइ हुने भएको क्षेत्रीले अन्नपूर्ण पोस्ट्लाई बताए। 

चालू आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको भौतिक निर्माणको काम लगभग सकिएको छ। करिब ९३ प्रतिशत निर्माणको काम सम्पन्न भएको छ। केही विद्युतीय उपकरण कन्भे बेल्टलगायत अन्य मेकानिकल सामग्री आई नपुगेकाले करिब ७ प्रतिशत काम पूरा हुन बाँकी रहेको प्रवक्ता क्षेत्रीले बताए। विमानस्थलमा उपकरण जडान र फिनिसिङलगायत केही प्राविधिक काम मात्रै बाँकी छन्। यही कारण भैरहवा विमानस्थल निर्माणको काम सम्पन्न भएर सञ्चालनमा आउन अझै करिब ६ महिना लाग्ने अनुमान क्षेत्रीको छ। 

‘करिब तीन महिना निर्माण सम्पन्न हुन लाग्छ भने बाँकीको समय विमानस्थल सञ्चालनका लागि आवश्यक स्वीकृतिका प्रक्रिया गरी सञ्चालनपूर्वका तयारीमा लाग्न सक्छ। त्यसैले अझै ६ महिना लाग्ने अनुमान लगाउन सकिन्छ।’ क्षेत्री भन्छन्। निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको प्रक्रिया पनि अघि बढेको छ। 

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड रुपैयाँ लागतमा सन् २०१४ को नोभेम्बरबाट गौतमबुद्ध विमानस्थल निर्माणको काम सुरु गरेको होे। हालसम्म पाँच अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको बताइएको छ। नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत अनुदान तथा ऋण सहायतामा आयोजना निर्माणको काम सुरु गरिएको हो। चाइनिज कम्पनीलाई ठेक्का दिइएको आयोजनामा नेपाली तथा चिनियाँ कामदार कार्यरत छन्। सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो। म्याद थप्ने र समयसीमामा काम सम्पन्न हुन नसक्ने परम्परामा गौतमबुद्ध विमानस्थल पनि परेको छ। 

यता, अर्को बहुप्रतीक्षित कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले निरन्तरता पाए पनि कोरोनाका कारण यो आयोजना पनि प्रभावित भएको छ। आर्थिक वर्ष २०७४/०७५ बाट निर्माण सुरु गरी २०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको आयोजनाको हालसम्म ६६ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ। निर्माण लागत करिब २२ अर्ब रहेकोमा हालसम्म ११ अर्ब रुपैयाँभन्दा बढी खर्चको भएको प्राधिकरणले जानकारी दिएको छ। नेपाल सरकार तथा एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनाको संयुक्त लागानीमा निर्माणाधीन विमानस्थल अत्याधुनिक फोर डी डिजाइनमा निर्माण गरिँदै छ। 

अहिले आयोजनाको भौतिक निर्माणको काम सकिएको छ भने आवश्यक इन्टेरियर डेकोरेसन सामग्री, स्यानिटरी फिटिङस्, एयरफिल्ड ग्राउन्ड लाइट्स, ट्रान्सफर्मरलगायत आवश्यक कामहरू भइरहेको प्रवक्ता क्षेत्रीले बताए। तोकिएको समयभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ। निर्धारित समयभन्दा ६ महिनाअघि नै काम सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना महामारी र लकडाउनका कारण लागि चिनियाँ कामदार रोकिएकाले काममा अवरोध सिर्जना भएको थियो।  विमानस्थलमा अहिले करिब एक सय चिनियाँ र केही नेपाली कामदार कार्यरत रहेका छन्। कोरोनाको डरले चिनियाँ कामदारले नेपाली कामदार लिन नमानिरहेको हुँदा आयोजना प्रमुखले नेपाली कामदारलाई काममा लगाउन पहल गर्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.