‘आइसक्रिम’ लाई दुई अवार्ड
काठमाडौं : संगीता श्रेष्ठको सर्ट फिल्म ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड हात पारेको छ। शनिबार घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड जितेको हो। नोभेम्बर ३ देखि सुरु भएको फेस्टिभलको पहिलो दिन नै फिल्म स्क्रिनिङ भएको थियो। निर्देशक श्रेष्ठले भनिन्, ‘आइसक्रिमले अवार्ड दुईटा अवार्ड जित्ला भनेर सोचेकै थिइनँ। एकदमै खुसी छु।’
कोरोना महामारीका कारण फेस्टिभल भर्चुअल रूपमा भएको थियो। योगिशा खत्रीको मुख्य भूमिका रहेको ९ मिनेट समयको यो चलचित्रमा सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा देखाइएको छ।
लघुचलचित्र आइसक्रिम अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, बेलायतको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानवअधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ। यद्यपि यस चलचित्रको पहिलो स्क्रिनिङ भने ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा भएको हो।