कुन एजेन्डामा ट्रम्प भन्दा बाइडेन फरक ?, कसरी सुधार्ने ट्रम्पका कमजोरी ?

कुन एजेन्डामा ट्रम्प भन्दा बाइडेन फरक ?, कसरी सुधार्ने ट्रम्पका कमजोरी ?

वासिङटन : अमेरिकी राष्ट्रपति पदमा जो बाइडेन निर्वाचित भएपछि विश्व समुदायमा एउटा आशाको तरंग प्रवाह भयो ।

बाइडेनसँग ट्रम्प पराजित हुँदा अहंकारी राजनीतिक प्रवृत्तिको हार भएको व्याख्या पनि भयो । समग्रमा अमेरिकामा मुस्लिम, महिला, अल्पसंख्यक र आप्रवासीहरुले अब खुसीको बिहानी आएको भन्दै खुसियाली पनि मनाए ।

ट्रम्प भन्दा बाइडेन खास के कस्ता नीति र बिचारका कारण भिन्न छन् त ? ट्रम्प भन्थे, ‘मेक अमेरिका ग्रेट अगेन’ । त्यसको जवाफको रुपमा बाइडेनले ‘मेक अमेरिका काइन्ड अगेन’ भन्दै फरक नारा दिए ।

ट्रम्पले बनाउन खोजेको अमेरिका भन्दा बाइडेनले बनाउन खोजेको अमेरिका कस्तो हो त ? खासगरी जलवायु परिवर्तनको मुद्दा, स्वास्थ्य सेवा, आप्रवासी नीति र राजेगारी जस्ता महत्वपूर्ण मुद्दामा उनीहरुले अवलम्वन गरेका नीति र बिचारले नै निर्धारण गर्छ कि, उनीहरु अमेरिकालाई कस्तो बनाउन चाहन्छन् ।

कर नीति

कर नीतिको सवालमा ट्रम्प र बाइडेनबीच गहिरो भिन्नता छ । राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको सबैभन्दा ठूलो वैधानिक उपलब्धि मानिएको २०१७ को कर नीतिलाई निरन्तरता दिन खोजे । जसले बजेट घाटा बढाउँदै व्यक्तिगत र व्यवसायमा कर कम गराउँछ । बाइडेनले भने कर्पोरेट र धनाढ्यहरुले सामाजिक कार्यक्रमका लागि रकम तिर्ने गरी कर बढाउने प्रस्ताव गरेका थिए ।

अध्यागमन, आप्रवासन र सीमा पर्खाल

ट्रम्पले २०१६ मा राष्ट्रपति निर्वाचन जितेसँगै अमेरिकामा सबै प्रकारका आप्रवासन रोक्न थाले । उनले १३ वटा देशबाट त अमेरिका प्रवेश गर्न रोक नै लगाए । मेक्सिको सिमानामा पर्खाल लगाउन बजेट तय गरे । अमेरिकामा आतंकवादी घटना बढ्नुको पछाडि आप्रवासनलाई मुख्य कारण मान्छन् उनी ।

यतिसम्म कि, अमेरिकामा आएर अवैध रुपमा बसोबास गर्ने अभिभावकबाट जन्मिएका सन्तानलाई अलग्याउने गरी ‘डिफर्ड एक्सन फर चाइल्डवुड अराइभल्स प्रोग्राम’ अन्त्य गर्न खोजे । बाइडेनले भने ट्रम्पको नीतिको उल्टो आफ्नै किसिमको आप्रवासन नीति प्रस्ताव गरे । उनले निर्वाचनमा भाग लिने क्रममा ट्रम्पका ती विवादित सबै नीति उल्ट्याउने बाचा गरेका छन् ।

विदेश नीति

ट्रम्प र जो बाइडेन विदेश नीतिमा पनि भिन्न बिचार राख्छन् । विशेषगरी गठबन्धनहरु, साउदी अरेबिया र इरान लगायत महत्वपूर्ण क्षेत्रलाई हेर्ने दृष्टिकोणमा ट्रम्प भन्दा बाइडेन ठीक फरक छन् । तर मध्यपूर्वमा सैनिक परिचालन र अफगानिस्तान साथै केही मुख्य उद्देश्यमा उनीहरुको साझा बिचार छ ।

चीन नीति

अमेरिका र चीनको चार दशक लामो कुटनीतिक सम्बन्धको दौरान यसअघिका राष्ट्रपतिभन्दा ट्रम्प चीनप्रति कठोर रुपमा प्रस्तुत भए । उनले व्यापार युद्ध समेत चलाए । तर बाइडेन पनि चीनलाई हेर्ने ट्रम्पको हार्डलाइनबाट टाढा हुन सक्दैनन् । उनले चीनलाई महत्व दिए पनि अहिलेकै सम्बन्ध कायम रहने बताइन्छ ।

प्रविधि नीति

शक्तिशाली प्रविधि कम्पनीहरुमाथि कडा छानविन र करको विषयमा बाइडेन र ट्रम्प दुबैको लगभग साझा नीति देखिन्छ । ट्रम्पले जितेको खण्डमा गुगल, फेसबुक, ट्वीटर सहित चिनियाँ कम्पनीका टिकटक जस्ता एप्सहरुमाथि कडाइ हुनसक्थ्यो ।
तर बाइडेनसहित डेमोक्रेटका अरु केही नेताहरु समेत शक्तिशाली प्रविधि कम्पनीहरुको बजार शक्तिलाई नियन्त्रण गर्नुपर्ने धारण राख्छन् ।

अपराध र जातीय अन्यायबारे नीति

यस पटकको निर्वाचनमा बाइडेनले जित्नु र ट्रम्पले हार्नुको एउटा प्रमुख कारण अमेरिकामा फैलिँदै गरेको जातीय हिंसा, रंगभेदी घृणा जस्ता कट्टरपन्थी बिचार र त्यसविरुद्धको आवाज पनि केही हदसम्म देखियो । विशेषगरी यस्ता घृणा र हिंसात्मक गतिविधिले ट्रम्पलाई हराउन इन्धनको रुपमा काम गर्यो । चुनावअघिदेखि नै अमेरिकामा एक किसिमको विभाजन पैदा भयो । अस्वेत र स्वेत, वंशज अमेरिकी र अंगिकृत नागरिक, मुस्लिम र गैरमुस्लिम, पुरुष र महिला । यस्ता विभिन्न रुपमा विभाजन गराउने काममा मुख्य रुपमा ट्रम्पको नै भूमिका देखियो ।

ट्रम्पको यस्तो बिचारका बावजुद बाइडेनले भने धेरै भन्दा धेरै आप्रवासीहरुलाई समेट्ने प्रयास गरे । उनले आफ्नो भोट बैंकको रुपमा नै आप्रवासी समुदायलाई लिए र सोही अनुरुप अल्पसंख्यक समुदायप्रति सदासयता देखाए ।

व्यापार नीति

२०१६ मा ट्रम्पको विजयले अमेरिकी व्यापार नीतिमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो परिवर्तन देखियो । उनले कर बढाउनुका साथै कतिपय देशमा प्रतिबन्ध लगाए ।
बाइडेनले भने ट्रम्पको कर नीति र प्रतिबन्धबारे पुनर्बिचार गर्ने वाचा गरे । साथै चीनको सामना गर्न एक संयुक्त मोर्चा बनाउने पनि बाइडेनको बाचा थियो ।

रोजगार सिर्जना, कार्यक्षेत्र सुरक्षा र ज्याला

बाइडेनले अबको वर्ष श्रम बजारको चर्को रुपमा सामना गर्नुपर्नेछ । जुन कोरोना महामारीबाट उत्पन्न अवस्था पनि हो । महामारीका बीच नै लाखौँ युवाहरुले रोजगारी गुमाए । जुन अवस्थालाई सम्बोधन गर्ने क्रममा ट्रम्प र बाइडेन दुबैले दशौँ लाख रोजगारी सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यसमा लगभग साझा धारणा थियो, तर रोजगारी कसरी र कुन कुन क्षेत्रमा सिर्जना गर्ने भन्ने बारे दुई नेताबीच भिन्नता छ ।

जलवायु र उर्जा नीति

जलवायु परिवर्तनको मुद्दा पछिल्लो समय महत्वपूर्ण राजनीतिक एजेन्डा बनिसकेको छ । वातावरण सम्बन्धी नीतिमा ट्रम्प र बाइडेनबीच धेरै भिन्नता छ । वातावरणीय मुद्दामा बाइडेन आम जनता र वातावरण संरक्षण गर्नुपर्ने अडान राख्छन् भने ट्रम्पले यसलाई महत्व दिँदैनन् । बाइडेनले त वातावरणीय असर कम गर्न केही उर्जासम्बन्धी ठूला उद्योग नै बन्द गर्नुपर्ने प्रस्ताव गरेका थिए । पछि कामदारको रोजगारीको सवाल उठेपछि उनले आफ्नो प्रस्ताव फिर्ता लिए ।

साना व्यवसायलाई सहायता

ट्रम्प र बाइडेन दुबैले चुनावअघि अमेरिकामा रहेका साना व्यवसायलाई सहायता गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कोरोना महामारीका बीच संघर्ष गरिरहेका साना उद्योगलाई सरकारले सहायता गर्ने दुबैको बाचा थियो ।

स्वास्थ्य सुविधा

स्वास्थ्य सेवा अमेरिकाको ठूलो राजनीतिक एजेन्डामध्ये एक हो । ट्रम्पले पछिल्लो समय स्वास्थ्य सेवामा संघीय सरकारको भूमिका कम गर्दैआएका थिए । जबकि, बाइडेन यस सेवालाई विस्तार गर्दै जानुपर्छ भन्छन् । राष्ट्रपतिमा निर्वाचत भएपछि उनले स्वास्थ्य सेवा सुधार्न कस्तो नीति ल्याउँछन् भन्नेमा धेरैको चासो हुनेछ ।

अन्तर्राष्ट्रिय सम्झौता र गठबन्धन

बाइडेन स्वयं परराष्ट्र मामिलाका जानकार र अनुभवी नेता मानिन्छन् । उनी सधैँ अन्तर्राष्ट्रि सम्झौता र गठबन्धनप्रति प्रतिवद्ध हुनुपर्ने धारणा राख्छन् । ट्रम्प भने यसमा भिन्न छन् । उनी यस्ता प्रतिवद्धता ख्याल गर्दैनन् ।

यसवाहेक मध्यपूर्व, अबर मुलुक, भारत लगायत देशहरुलाई हेर्ने दृष्टिमा ट्रम्प र बाइडेनको भिन्नता छ । बाइडेनले त निर्वाचित भएपछि नै भारतसँगको विशेष सम्बन्ध राख्ने प्रतिक्रिया दिइसके । तर ट्रम्पले २०१६ मा निर्वाचित भएपछि भारतलाई दबाब दिए पनि पछिल्लो समय भारतसँग सम्बन्ध सुधार्ने पहल गरिरहेका थिए । २०१९ को उनको भारत भ्रमण नै ऐतिहासिक थियो ।

यस्तै इरानसँगको २०१५ को आणविक सम्झौताबारे पुनर्विचार तथा मध्यपूर्वी देशहरुसँगको सम्बन्धमा बाइडेनले नयाँपन खोज्नसक्ने अन्तर्राष्ट्रिय मिडिया बताउँछन् । यसवाहेक अमेरिकामा पछिल्लो समय मुस्लिम, अल्पसंख्यक, आप्रवासी समुदायले बाइडेनको जित भन्दा पनि ट्रम्पको हारमा खुसियाली मनाए । अर्थात्, बाइडेनलाई ट्रम्पको विकल्पको रुपमा धेरैले चयन गर्ने अवस्था भयो ।

थुप्रै लेखक, पत्रकार तथा अधिकारकर्मीहरुले भनेका छन् कि, ट्रम्प हार्नु भनेको अमेरिकामा अल्पसंख्यक समुदाय सुरक्षित हुनु पनि हो । हालै बाइडेनको जितमा सिएनएनका चर्चित होस्ट भान जोन्स त लाइभमा बोल्दाबोल्दै रोए । उनले फ्लोइड हत्या प्रकरणलाई स्मरण गरे र अस्वेत समुदायले अब स्वास फेर्न पाउने आशा व्यक्त गरे । बाइडेनको जितले के ती कुराको निश्चित गर्नेछ त ? के अमेरिकामा दोस्रो दर्जाको नागरिक जस्तो बन्न पुगेका मुस्लिम, आप्रवासी, अस्वेतहरुको आत्मसम्मानलाई बाइडेनले फिर्ता गर्न सक्लान् ? बाइडेनले चुनावी अभियानका बेला गरेका बाचा पूरा गर्न पनि यस्तो हुनुपर्छ ।

(एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.