भाँडाबर्तनको व्यापार

भाँडाबर्तनको व्यापार

हिन्दूहरूको दोस्रो मुख्य चाड तिहार नजिकिएको छ। कोरोनाका भाइरसले सारा विश्व आक्रान्त बनिरहेको बेलामा पनि तिहारको उल्लास घरघरमा छाएको छ। 

तिहारलाई रोटी पकाउने, नयाँ लुगा लगाउने, देउसीभैलो खेली रमाइलो गर्ने पर्वको रूपमा लिइन्छ। यसका साथै नयाँ भाँडावर्तन किन्ने विशेष पर्वको रूपमा पनि लिने गरेको पाइन्छ। लक्ष्मीपूजामा तामाका नयाँ भाँडा भित्र्याउने चलन छ। तिहारमा पूजासामग्री, थाली, ताउला, गाग्री किन्ने चलन हुन्छ। तामाका साना बेला, ताउली, हत्तर, पूजाको भाँडा किन्नेको घुइँचो लाग्छ। 

चाडपर्व प्रायःजसो सबैका लागि हर्ष र खुसीको पर्व हुने गर्छ। तिहारमा धनतरेस भित्र्याउनेको लर्को यतिखेर देशका अधिकांश सहरमा देख्न सकिन्छ। यतिबेला सिंगो नेपाली तिहारको रमझममा छ। कोरोनाका बीच पनि नेपाली तिहारको पर्खाइमा छन्। 

नयाँ लुगा लगाउने, मीठो खानेकुरा खाएर रमाइलो गर्ने मात्र होइन पछिसम्म काम लाग्ने तामाका भाँडा, सुनचाँदीका भाँडावर्तनसमेत भित्र्याउने क्रम बढ्दो छ। अधिकांशको घरघरमा हर्षोल्लास छाएको छ। तिहारमा प्रायः सबैले नयाँ कपडा किनेर, मीठो खानेकुरा खाएर रमाइलो गर्ने गर्नुका साथै आफ्नो गच्छेअनुसार नयाँ सामान जोड्ने गरेको पाइन्छ।

रोल्पा लिबाङका यज्ञश्वर आचार्यले हरेक तिहारमा केही न केही नयाँ सामग्री घरमा भित्र्याउने गरेको बताए। ‘मन परेका भाडाका सामान सधैंजसो किन्ने गरेको छु’, उनले भने, ‘यसपालि पनि मिल्दोजुल्दो कुनै सामान किन्ने योजनामा छु।’ तिहारका बेला भाँडा जोड्ने उनको सोख छ। अघिल्लो तिहारमा ल्याएका पुराना सामान हुँदाहुँदै पनि कहिलेकाहीँ त उस्तै प्रकारका सामान ल्याउने गरेको उनको अनुभव छ। 

तुलसीपुर नगरपालिका—१५ का रामु सुवेदीले यसपालि पूजाका लागि पञ्चपाला, ताम्रपात्र, कर्मपात्र र तामाका कसौडी ल्याउने योजनामा छन्। उनले हरेक वर्ष तिहारमा तामाका कुनै न कुनै भाडा लिइरहेको बताए। गत वर्ष काँसका भाडा र थाली, सुनचाँदी खरिद गरेको उनले सुनाए। लक्ष्मी भित्र्याउने चलनलाई आत्मसात् गर्दै उनले हरेक वर्ष भाँडावर्तन ल्याउने गरेको बताए। ‘यसबाट धार्मिक जगेर्ना हुनाका साथै घरमा सामान समेत जोडिने भएकाले तिहारमा भाडा खरिद गर्ने गरेको छु’, उनले भने। फलाम, ढलौट पनि तिहारकै समयमा ल्याउने गरेको उनले सुनाए। ‘तिहारको बेला पैसा पनि जम्मा हुने भएकाले आवश्यक भाँडावर्तन ल्याउने गरेको छु’, उनले भने, ‘लक्ष्मीपूजाका दिन द्वीप, कलश, गणेश स्थापना गरी पूजासमेत गर्छु।’

राप्ती भाँडा पसल रोल्पाका यमुना रिजालले पछिल्लो समय तिहारलक्षित भाँडावर्तन बिक्री ह्वात्तै बढेको बताउँछिन्। पछिल्लो एक सातामा लक्ष्मीपूजामा चाहिने तामाका सामान बिक्री बढेको बताइन्। तर, कोरोनाका कारण विगतजस्तो व्यापार नभएको उनको अनुभव छ। तिहारमा करुवा, टिनको बाकस, तामाको गाग्री, ताउलीको बिक्री बढेको उनले सुनाइन्। 

अरूबेलाभन्दा तिहारमा भाँडाका सामान बिक्री झन्डै दोब्बर हुने गरेकोे उनी सुनाउँछिन्। अरूबेला पैसा छैन भनेर श्रीमती, छोराछोरीलाई टारिदिन्छन् तर चाडपर्वका बेला हरेक वर्ष एउटा एउटा भाँडा किन्दा खुसी हुन्छन्। नयाँ भाँडा देख्दा आकर्षण बढ्ने र लक्ष्मी पनि खुसी हुने उनले विश्वास छ।  

तिहार हिन्दू धर्मावलम्बीको दसैंपछिको सबैभन्दा ठूलो सांस्कतिक पर्व हो। यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ। तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो। वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पूजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो।

हिन्दू धर्मावलम्बीले दीपावली (दिवाली) को रूपमा यस पर्वलाई नेपाललगायत विश्वका थुप्रै देशमा धूमधामसाथ मनाउँछन्। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ। यही दिन भगवान् धनवन्तरीको जन्म भएको हुनाले यसलाई धनवन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वार सामु यमराजलाई दीप दान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु (गोवद्र्धन र भाइ पूजा गरिन्छ।

तिहार रङ, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्व हो जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई भब्य रूपमा हर्षोल्लासका साथ रमाइलो गरी मनाउने गरिन्छ। पण्डित गिरीराज उपाध्ययले लक्ष्मीपूजाको दिनलाई दीपज्वालासहित दीपावली गरिने भएकाले भाँडावर्तनको महŒवको अझ बढेको बताउँछन्। लक्ष्मी भित्र्याउँदा प्रायःजसोले कुनै न कुनै नयाँ भाँडा किन्ने गरेको सुनाउँछन्। भाँडा किन्दा लक्ष्मी खुसी हुने र धन वृद्घि हुने विश्वास रहेको पाइन्छ। अन्य समयभन्दा तिहारमा किनिएको सामान विशेष महŒवको हुने भएकाले प्रायःजसोले तिहारअघि किनेर लक्ष्मीपूजाका दिन भित्र्याउने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.