कोरोनाविरुद्ध कहिले कुन खोप आइपुग्छ ?

कोरोनाविरुद्ध कहिले कुन खोप आइपुग्छ ?

संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?

यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ।

विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्। फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।

जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले विकास गरेको खोपको परीक्षण सफल भएको घोषणा गरेको छ। विभिन्न ६ देशका ४३ हजार ५ सय ५३ व्यक्तिमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको फाइजर र बायोएनटेकको दाबी छ।

यस्तै खोप विकासमा सफलताउन्मुख कम्पनी हो मोडर्ना इंक। अमेरिकन बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकले पनि खोप विकासमा महत्त्वपूर्ण सफलतानजिक रहेको घोषणा गरेको छ। उसले तेस्रो चरणको परीक्षणअन्तर्गत ३० हजार व्यक्तिमा खोप परीक्षण गर्दै छ। जसमध्ये २५ हजार ६ सय ५४ जनाले दोस्रो खोप लिएका छन्। मोडर्ना र फाइजर र बायोएनटेकले यही महिना अन्तिमसम्म सर्वसाधारणमा खोप प्रयोगका लागि आवश्यक अनुमति आपत्कालीन रूपमा प्राप्त गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यी दुवैले अर्को वर्ष मध्यसम्म आमनागरिकको उपभोग गर्ने गरी खोपको विकास गरिसक्ने घोषणा गरेका छन्।

तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा रहेको खोप हो, अक्सफोर्ड–एस्ट्राजेनेका बेलायत। अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको यो खोप डिसेम्बर अन्तिमसम्म तेस्रो चरणको परीक्षणको नतिजा आउन सक्छ। तर, क्रिसमसअघि नै नतिजा आउन सक्नेमा भने स्वयम् खोपका प्रमुख परीक्षण अन्वेषक ढुक्क छैनन्। खोपका बारेमा अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक एन्ड्र्यु पोलार्डले भने, ‘यो वर्षको अन्तिमसम्म हामी खोप विकासमा सफल हुन्छौं।’ उनले सफलताको नजिक पुगे पनि ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे।

जोनसन एन्ड जोनसन कोरोना भाइरस खोप
जोनसनले अघिल्लो महिना ६० हजार व्यक्तिमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको थियो। परिणाम अर्को वर्षको सुरुसम्म आइसक्ने उसको विश्वास छ। परीक्षण सफल भए जोनसनले सन् २०२१ सम्ममा एक अर्बभन्दा बढी परिमाणमा खोपको विकास गर्ने भएको छ। पहिलो र दोस्रो चरणको परीक्षणमा खोपले मानिसमा प्रतिरोधात्मक क्षमता बढाएको अनुसन्धानले देखाएको छ।

गामालिया रिसर्च सेन्टर (रुस)
गामालिया रिसर्च सेन्टरले पनि कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको छ।  स्पटनिक भी नाम दिइएको खोप विश्वकै पहिलो दर्ता गरिएको खोप भएको दाबी छ। जुन विश्व स्वास्थ्य संगठनले तेस्रो चरणको परीक्षणका लागि मान्यता दिएको विश्वका १० खोपमध्ये एक हो। रसियाका ४० जना नागरिकमा यसको परीक्षण हुँदै छ। दुई चरणको खोप प्रभावकारी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। रसियाली नागरिकले खोप निःशुल्क पाउनेछन् भने सुरुमा स्वास्थ्यकर्मी, शिक्षक, यातायातकर्मी र सुरक्षाकर्मीलाई खोप उपलब्ध गराइनेछ।

तेस्रो चरणको परीक्षण अनुमति पाउने विश्वका १० खोपमध्ये चीनमा विकास भइरहेको क्यानसिनो पनि एक हो।  क्यानसिनोले शनिबार परीक्षण सुरु भएको जनाएको छ। उसले क्यानसिनो खोप मेक्सिकोमा परीक्षण गरिरहेको छ। १५ हजार नागरिकमा परीक्षण गरिने खोप मेक्सिकी अधिकारीबाट अक्टोबरमै अनुमति पाइएको कम्पनीले जनाएको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार मेक्सिको सरकारसँग क्यानसिनोले ३ करोड ५० लाख खोप उपलब्ध गराउने सम्झौता गरेको छ।

चीनमै बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट र सिनोफार्मका साथै बुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट र सिनोफार्मले संयुक्त रूपमा खोपको विकास गरिरहेका छन्। अमेरिकी कम्पनी नोभाभाक्सले पनि कोरोना खोपको तेस्रो चरणको परीक्षण अनुमति पाएको छ।

चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोरोना खोप भने विवादित बनेको छ। सिनोभ्याकले ब्राजिलको बुटान्टान इन्स्टिच्युटसँग सहकार्य गरेर तेस्रो चरणको खोप परीक्षण गर्ने तयारी गरेको थियो। तर, ब्राजिल सरकारले त्यसमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। १ लाख ३० हजार स्वयम्सेवीमा खोप परीक्षण गर्ने तयारी थियो। ब्राजिलका स्वास्थ्य अधिकारीले त्यसमा रोक लगाएपछि सिनोभ्याकलाई ठूलो धक्का लागेको छ। ब्राजिल सरकारले खोपको सुरक्षामाथि प्रश्न उठाएको जनाइएको छ। सिनोभ्याकले भने खोपको सुरक्षामाथि कुनै प्रश्न नरहेको दाबी गरेको छ।

चीनको हुवेई प्रान्तको वुहान सहरमा अघिल्लो वर्ष डिसेम्बरमा पहिलो पटक कोरोना भाइरस भेटिएको थियो। त्यसबेला धेरै देशले सोचेका पनि थिएनन् कि कोरोना महामारीका रूपमा विश्वभर फैलिनेछ। त्यसैले चीनमा कोरोनाले भयावह रूप लिँदै गर्दा बाँकी विश्व आफ्नै धुनमा थियो। त्यसको परिणामस्वरूप केही महिनामै कोरोना चीनको सीमापार गर्दै विश्वका कुना–कुना पुग्यो। कोरोनाकै कारण लाखौंको ज्यान जानुका साथै करोडौं संक्रमित भए। विश्वका शक्तिशाली मुलुकहरूबीच कोरोनाको खोपको विकास गर्ने प्रतिस्पर्धा नै चल्यो।

विश्व स्वास्थ्य संगठनले कुनै पनि खोपलाई आमनागरिकले प्रयोग गर्न मिल्ने गरी अनुमति दिइसकेको छैन। तर विभिन्न देशले खोप विकासलाई आफ्नो प्रतिष्ठाका रूपमा अगाडि बढाएका छन्। यति बेला शक्तिशाली मुलुकबीच कसले सबैभन्दा पहिला खोपको विकास गर्ने भन्ने प्रतिस्पर्धा छ।

संगठनले विभिन्न निकायमार्फत विश्वभरका वैज्ञानिक, व्यवसायी र विश्वव्यापी स्वास्थ्य संस्थाहरूको सहयोगमा कोरोना नियन्त्रणमा काम भइरहेको जनाएको छ। तर, जब सुरक्षित र प्रभावकारी खोप फेला पर्छ तब सबै देशमा आमनागरिकको रक्षा गर्न ती खोप पुर्‍याइने संगठनको दाबी छ। त्यस्तै उसले सबै देशलाई खोपमा समान पहुँच र वितरणको सुविधा प्रदान गर्ने पनि जनाएको छ। उसले खोप वितरण गर्दा जोखिममा पर्ने व्यक्तिलाई प्राथमिकता दिइने स्पष्ट पारेको छ।

(एजेन्सीहरूको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.