अमेरिकी निर्वाचनको क्रमभंगता
ट्रम्पको गाली र घृणाबाट आत्तिएको आप्रवासी समुदायले बाइडेनबाट मित्रतापूर्ण व्यवहारको अपेक्षा गरेको छ
शीतयुद्धपछि एकल ध्रुवशक्ति रहेको अमेरिकाको राष्ट्रपति निर्वाचन विश्वका लागि चासोको विषय थियो। अमेरिका वल्र्ड अर्डरको एक मुख्य योजनाकार र परिचालक मानिन्छ। एक सर्वशक्तिमान मानिएको विश्वशक्ति राष्ट्र जसले हरेक मुलुकमा आफ्नो भौतिक वा मानसिक उपस्थिति जनाउँछ त्यो राष्ट्रको विशेषाधिकारसम्पन्न राष्ट्रपतिको चयन गरिने निर्वाचनमा विश्वको ध्यान खिचिनु स्वाभाविकै हो। गत साता नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भयो। यो निर्वाचनमा करिब तीन दशकसम्मको परम्परा तोड्दै डिमोक््रयाटिक पार्टीका एक प्रौढ राजनीतिज्ञ जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिका पदमा र एसियन मूलकी कमला ह्यारिसले उपराष्ट्रपति पदमा सुनिश्चित निर्वाचित हुने जनमतादेश प्राप्त गरेका छन्। हाल विश्वभरि नै कोरोना महामारीका अलवा अमेरिकाको निर्वाचन र नवनिर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपतिका बारेमा विभिन्न चर्चा चलेका छन्।
तीन दशकको क्रमभंगता
अमेरिकामा राष्ट्रपतिको पदावधि चार वर्षको हुन्छ। नवनिर्वाचित राष्ट्रपतिले चार वर्षको अवधिमा आफ्नो सोच, नीति, कार्यक्रम र योजनाको पूर्णरूपमा कार्यान्वयन गराउन यथेष्ट समय नहुन सक्छ भन्ने बुझाइ वा मान्यताले होला उसका काम हेरेर प्रायः अर्को थप चार वर्षका लागि पनि उसैलाई निर्वाचित गर्ने अघोषित परम्परा रहेको पाइन्छ।
निर्वाचनले सुताह भनिएका जो बाइडेनलाई राष्ट्रपति बनाएर ब्युझाइदियो भने दानव भनिएकी कमला ह्यारिसलाई २०१६ को हिलारी क्लिन्टनको हारको बदलामा दैत्यमाथि विजय प्राप्त गर्ने दुर्गाका रूपमा उभ्याइदियो।
सन् १७८९ मा पहिलो राष्ट्रपतीय निर्वाचन भएको अमेरिकामा २३१ वर्षमा ५८ वटा निर्वाचन भए। सन् २०२० नोभेम्बर ३ मा भएको निर्वाचनले पछिल्लो तीन दशकको एक परम्परा भंग गरिदिएको छ। बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचन हार्ने पछिल्लो तीन दशकको पहिलो र निर्वाचन इतिहासको एघारौं राष्ट्रपति हुन्। इतिहासमा दोस्रो कार्यकालका लागि निर्वाचन हार्ने पहिलो राष्ट्रपति जोन अडाम्स थिए। सन् १७९६ मा निर्वाचित राष्ट्रपति जोन अडाम्सलाई तत्कालीन उपराष्ट्रपति टोमस जेफरसनले सन् १८०० अक्टोबर ३१–डिसेम्बर ३ सम्म भएको निर्वाचनमा पराजित गराएका थिए। त्यसो त मार्टिन भोन बुरेन, जोन क्विन्सी, स्टेफन ग्रोभर क्लिभल्यान्ड, विलियम टाफ्ट, रोबर्ट हुभरजोनलगायतका राष्ट्रपतिले पनि दोस्रो कार्यकालका लागि निर्वाचन हारेका थिए। सन् १९८० मा भद्र र लोकप्रिय मानिएका राष्ट्रपति जिमी कार्टरलाई पनि दुनियाँलाई आश्चर्य पार्ने गरी रोनाल्ड रेगनले हराएका थिए भने २८ वर्षअघि सन् १९९२ मा एकचालीसौं राष्ट्रपति जर्ज डब्लू बुस सिनियरलाई ४२ बर्से युवा नेता बिल क्लिन्टनले हराएका थिए। त्यसपछिका करिब तीन दशकसम्म बहालवाला राष्ट्रपतिहरूले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन हारेनन्।
बिल क्लिन्टन, जर्ज बुस जुनियर र बाराक ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए। सन् २०१६ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले डिमोक््रयाटिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गरी अमेरिकाको पैंतालीसौं राष्ट्रपतिमा निर्वाचित भए। २०२० नोभेम्बर ३ को निर्वाचनमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जो बाइडेनले हराएका छन् र तीन दशकको परम्परा भंग भएको छ।
०१६ मा ट्रम्पको विजय र कार्यकाल
सन् २०१६ को निर्वाचन ट्रम्पले जनताको मतबाट जितेका हुन् स्पष्ट भन्न सकिँदैन। निर्वाचनमा ट्रम्पको भन्दा करिब तीन करोड बढी लोकप्रिय मत उनका प्रतिस्पर्धी हिलारी क्लिन्टनले पाएकी थिइन् तर इलेक्टोरल मत ट्रम्पका पक्षमा बढी भएकाले ट्रम्प विजय भएका थिए। अमेरिकाका ५० राज्यबाट जितेको इलेक्टोरल संख्या जसले न्यूनतम २७० पुर्याउँछ उसैलाई विजयी घोषणा गरिन्छ। लोकप्रिय मत हिलारीको भन्दा थोरै प्राप्त गरे पनि इलेक्टोरल कलेज ट्रम्पका पक्षमा ३०६ पुगेको हुँदा ट्रम्प विजय भएका थिए। अमेरिकी राष्ट्रपति निर्वाचनमा भने यो दुर्लभ रेकर्ड हो। अमेरिकाको निर्वाचन प्रणालीको फाइदा ट्रम्पलाई भएको थियो। सामान्यतः लोकप्रिय मत बढी ल्याउनेको इलेक्टोरल कलेज बढी हुन्छ तर कहिलेकाहीं लोकप्रिय मत बढी आएर पनि इलेक्टोरल कलेज नपुग्ने हुन्छ। यसरी लोकप्रिय मत कम भएर पनि निर्वाचन जितेका ट्रम्प अघि चारजना राष्ट्रपति छन्। यसरी चुनाव जित्नेमा ट्रम्प पाँचौं राष्ट्रपति हुन्। जसले लोकप्रिय मत बढी पाउँछ त्यही विजयी बनाउने प्रणाली कायम गर्न अमेरिकाको हाउस अफ रिप्रेजेटेटिभले १९६९ मा प्रस्ताव पारित गर्यो तर सिनेटले त्यो प्रस्ताव अस्वीकार गरेपछि इलेक्टोरल कलेजमार्फत नै राष्ट्रपति चुन्ने प्रणाली कायम रह्यो।
सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्पले आफूलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा घोषणा गर्दा धेरैले मजाक सम्झेका थिए। उनको नाम राजनीतिमा सुनिएको थिएन। उनको आप्रवासी, इस्लामिक, अश्वेत समुदायप्रतिको अनुदारता र उग्र नाराले अमेरिकामा बस्ने ७३५ गोरा जातिमध्ये धेरैको विवेकभन्दा भावना र तर्कभन्दा संवेदनाका मत आकर्षण गरको थियो। सञ्चारमाध्यमले खेदो खने पनि राजनीतिका नयाँ अनुहार ट्रम्पको नवराष्ट्रवादका नाराको परीक्षण अमेरिकी जनता विशेषतः घरानिया सेता जातिको समर्थन मिल्यो। ट्रम्पको उदयसँगै अमेरिकी राजनीतिमा बहुसंस्कृतिवादका विरुद्ध गोरा राष्ट्रवादको धु्रवीकरण बनेको थियो, तर उनको कार्यकालमा निर्वाचनका बेला प्रतिज्ञा गरेका कुरा पूरा गर्न सकेनन्। गालीगलौज र धम्कीको आवाज झन् चर्काउँदै गए। आप्रवासी, इस्लामिक, अश्वेत र महिलाप्रति अनुदार सोच कायमै राखे। उनको बोलाइ र गराइमा सन्तुलन भेटिएन। अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकाको ओज विस्तारै घट्दै गयो। चीनसँगको सम्बन्ध सुधारभन्दा बिग्रँदै गयो। चीनको बुहानबाट फैलिएको कोरोना महामारीलाई चाइनिज भाइरस भनी पटकपटक आलोचना गरे र बेवास्ता गरे। कोरोना नियन्त्रणको श्विवव्यापी रणनीतिबारेमा रुचि देखाएनन्, जसका कारण लाखौं अमेरिकी संक्रमित भए र ज्यान गुमाए।
कोरोना भाइरसबाट जनताको सुरक्षा गर्ने कुनै प्रभावकारी नीति ल्याउन सकेनन्। बरु संसारले लगाएको मास्कसमेत लगाएनन् र जनतालाई पनि मास्क नलगाउने गलत सन्देश प्रवाह गरे, जसका कारण आज अमेरिका संसारको सबैभन्दा बढी कोरोना प्रभावित मुलुक बनेको छ। एउटा मास्क लगाउने कुरामा त त्यति असहिष्णु हुन सक्ने राष्ट्रपतिबाट अमेरिकी जनताले बढी अपेक्षा गर्न सकेनन्, पराजित गराइदिए। २०२० को निर्वाचनमा ट्रम्पको विजय संकीर्ण राष्ट्रवाद, विभूमण्डलीकरण, नयाँ शीतयुद्धको उत्कर्ष, बेलगाम शासनशैली, नश्लवादजस्ता अलोकतान्त्रिक शासन प्रणालीको विजय हुन्छ भन्ने निष्कर्ष निकाले, पराजित गरिदिए।
बाइडेन विजय
बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति बनेर अमेरिकाको आन्तरिक तथा बाह्य राजनीतिका केस्राकेस्रा थाहा भएका जो बाइडेन विगत ४७ वर्षदेखि अमेरिकी राजनीतिमा छन्। डिमोक््रयाटिक पार्टीका खारिएका नेता हुन् बाइडेन। उनको पारिवारिक जीवन अमिलो छ। उनले पहिलो पत्नी र बालबालिका प्लेन क््रयासमा गुमाएका थिए भने पछिल्लो पत्नीबाट जन्मिएका एक छोरालाई क्यान्सर रोगले खोसेर लग्यो। पारिवारिक, मानसिक दुःख र प्रताडना सहँदै आएका बाइडेन राजनीतिका आरोह–अवरोहसँग परिचित छन्।
आप्रवासी, इस्लामिक, कलर र ब्राउन मान्छेहरूले अनुदार ट्रम्पलाई भन्दा बाइडेनलाई रुचाए। डेमोक््रयाटिक पार्टी नीतिगत रूपमै यो समुदायका लागि समावेशी, लोकतान्त्रिक र आप्रवासीमैत्री देखिन्छ। ट्रम्पको गाली र घृणाबाट आत्तिएको यो समुदायले बाइडेनबाट मित्रतापूर्ण व्यवहारको अपेक्षा गरेको छ। अन्तर्राष्ट्रिय सन्दर्भमा पनि बाइडेनको विजयलाई सकारात्मक रूपमा लिइएको छ। पर्यावरण संरक्षण पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनबाट हात झिकेर अमेरिकालाई अन्तर्राष्ट्रिय शक्तिमा ट्रम्पले कमजोर बनाएका छन्, चीन, रूसजस्ता देशहरूसँग सम्बन्ध बिगारेका छन्, उत्तर कोरियासँगको सम्बन्धमा बढी बोलेर वर्किङ डगको उपनाम भिरेर अमेरिकाको छवि होच्याउँदै लागेका बेला यी सबै सम्बन्ध र सहयोगमा बाइडेनबाट सुधार र सकारात्मक भूमिका पाउने अपेक्षा गरिएको छ। पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनका बारेमा ट्रम्पका निर्णय उल्टाउने घोषणासमेत गरिसकेका छन्।
कमला ह्यारिस : दानव कि दुर्गा ?
३ नोभेम्बर २०२० को निर्वाचनबाट अमेरिकी जनताले एसियन मूलकी महिला नेत्री कामला ह्यारिसलाई छानेका छन्। उनी अमेरिकी राजनीतिक इतिहासकी पहिलो अश्वेत महिला उपराष्ट्रपति हुन्। भारतीय मूलकी आमा श्यामला गोपालन र जमैकन अश्वेत बुबा डोनाल्ड ह्यारिसकी छोरी हुन्, अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस। अमेरिकी राजनीतिमा त्यति धेरै नाम नसुनिएकी कमला ह्यारिस २०२० को निर्वाचन नजिकिँदै जाँदा तीव्र गतिमा चर्चामा आइन् र केन्द्रीय व्यक्तित्वका रूपमा आफूलाई स्थापित गरिन्।
गालीगलौज गर्न माहिर ट्रम्पले निर्वाचन प्रचारमा बाइडेनलाई ‘स्लिपी जोय’ र कमलालाई ‘मनस्टर’ भनेर उपनाम दिएका थिए। तर निर्वाचनले सुताह भनिएका जो बाइडेनलाई राष्ट्रपति बनाएर ब्युझाइदियो भने दानव भनिएकी कमला ह्यारिसलाई २०१६ को हिलारी क्लिन्टनको हारको बदलामा दैत्यमाथि विजय प्राप्त गर्ने दुर्गाका रूपमा उभ्याइदियो। अमेरिकाका एसियन हिन्दु बस्तीमा कमलालाई दैत्यहरूको बध गर्ने नवदुर्गाको एक नयाँ अवतार भन्दै उत्साह दिइएको थियो। कट्टरपन्थी रिपब्लिकन र ट्रम्पले कमलाप्रति आक्रोश र घृणाभाव व्यक्त गरी अभिव्यक्ति दिन थालेपछि अमेरिकाका महिला र अश्वेत मतदाताको समेत सहनुभूति कमला ह्यारिसलाई आएको थियो।
७७ वर्षीय बाइडेन सायद दोस्रो कार्यकालका लागि राष्ट्रपति उम्मेदवार बन्ने छैनन् र ५६ वर्षीय उपराष्ट्रपति कमला हयारिस नै सन् २०२४ को निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्नेछिन्। हुनसक्छ, उनी नै अमेरिकाको इतिहासको पहिलो महिला अश्वेत राष्ट्रपति। अहिल्यै बाइडेन प्रशासनमा कमलाको भूमिका सबैभन्दा महŒवपूर्ण हुनेछ र उनी डी–फ्याक्टो राष्ट्रपतिसरहको भूमिकामा हुनेछिन् भन्ने अनुमान गरिएको छ। अमेरिकी इतिहासमा उपराष्ट्रपति हँुदै राष्ट्रपति बन्नेको लामो सूची छ। रिचार्ड निक्सन, थियोडोर रुजबेल्ट, ह्यारी ट्रमेन, जर्ज बुसजस्ता इतिहासमा विशिस्ट नाम दर्ज गरेका राष्ट्रपतिहरू र नवनिर्वाचित राष्ट्रपति जो बाइडेन पनि राष्ट्रपति हुनुअगाडि उपराष्ट्रपति भएका थिए।
अमेरिकी चुनाव र विश्व प्रभाव
हालसम्म अमेरिकालाई विश्वको सर्वोच्च शक्तिशाली राष्ट्र मानिन्छ। अमेरिकाको राष्ट्रपतिको चयनले विश्वशक्ति सन्तुलन र शान्तिमा महŒवपूर्ण भूमिका खेल्छ। त्यसैले ट्रम्पको संकीर्णवादी, भद्दा नवराष्ट्रवादी, बेलगाम सन्काह नेतृत्व पुनः विजय भएको अवस्था र उदारवादी नयाँ नेतृत्व आएको अवस्थामा विश्व व्यवस्थामै प्रत्यक्षपरोक्ष असर पर्ने भएकाले अमेरिकाको राष्ट्रपति निर्वाचन विश्वका लागि महत्वपूर्ण हुनेगर्छ। यसपटकको चुनाव बाइडेन र ट्रम्पको वा डेमोक््रयाट र रिपब्लिकन पार्टीबीचको चुनावभन्दा बढी लोकतन्त्र कि सर्वोच्चवाद भन्नेमा महŒवपूर्ण थियो। एक अर्थमा यो निर्वाचन भूमण्डलीकरण कि विभूमण्डलीकरण, बहुसंस्कृतिवाद कि सर्वोच्चतावाद, समावेशीवाद कि नश्लवादको निर्वाचन थियो। यो चुनाव पोस्ट कोरोना संसार, विश्वदृष्टि र आर्थिक प्रणाली, विश्वशक्ति सन्तुलन, व्यवस्थापन, लोकतन्त्रको भास्य र भविष्यजस्ता अमूर्त तर दीर्घकालीन राप ताप र प्रभाव पार्ने मुद्दामा केन्द्रित थियो। त्यसैले सन् २०२० नोभेम्बर ३ को अमेरिकी छयालीसौं राष्ट्रपतिको निर्वाचन पर्दामा अमेरिका र पर्दाभित्र विश्वशक्ति बनेका र बन्दै गरेका देशलगायत विश्वका लागि महŒवपूर्ण थियो।