पोखराका फाँटमा झुल्यो जेठोबुढो धान (फोटो फिचर)
![पोखराका फाँटमा झुल्यो जेठोबुढो धान (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/pokhara-dhan-cover_20201110120240_euQK1c5dLI.jpg)
पोखरा : पोखराका फाँटहरुमा यतिबेला पोखरेली रैथाने जेठोबुढो धानलगायतका विभिन्न प्रजातिका धान झुलेका छन् । अन्नपूर्ण, माछापुच्र्छे हिमाललाई पृष्ठभूमी पारेर झुलेका जेठोबुढो धान अहिले पोखराका फाँटमा निकै आकर्षक देखिएका छन् ।
पोखराको फेवा फाँट, बिरौटा फाँट, बेगनास ताल वरपरका फाँट, दिपाङ, र रुपाताल वरपरका फाँटमा जेठोबुढो धान राम्रो उत्पादन हुने गरेको छ । पोखरेली रैथाने धान संरक्षण गर्न पोखरा महनगरपालिकाले धान रोप्नु अघि किसानहरुलाई ५ लाख ६० हजार ४ सय ३० रुपैयाँ नगद अनुदान वितरण गरेको थियो ।
जेठोबुढो धानको चामल कस्कीमा लोकप्रिय रहेको छ । यो धान समुन्द्रि सतह देखि ६ सय देखि ९ सय मिटर उचाइको चिसो पानी लाग्ने स्थानमा बढी सप्रीन्छ । मासिने अवस्थामा पुगेको रैथान जेठोबुढो धान राष्ट्रिय बिउँ बिजन समितिबाट सन् २००६ मा उन्मोचन (सिफारिस) भएपछि व्यवसायीक रुपमा बिउँ बिक्री वितरण हुन थालेपछि सन् २०१३ देखि जेठोबुढो धानको उत्पादन क्रमश बढेको ली–बर्डको तथ्याङ्कमा रहेको छ ।
कुनै समय लोपोन्मुख अवस्थामा पुगेको जेठोबुढोधानको उत्पादन पछिल्लो समयमा पोखरामा बढेको हो । महानगरपालिकामा कुल उत्पादन हुने धानमा जेठोबुढो धान मात्र ४० प्रतिशत योगदान रहेको महानगरपालिकाका कृषि तथा पशु विकास अधिकृत कडेरियाले जानकारी दिए ।
४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा १५ हजार ६ सय ८० टन जेठोबुढो धान उत्पादन हुने उनले सुनाए । यस वर्ष पानी राम्रो परेकोले धान उत्पादन बढ्ने पनि उनले सुनाए । अन्य स्थानीय जातको धान २ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा ५ हजार ६ सय टन कुल उत्पादनको २० प्रतिशत उत्पादन हुने उनले जानकारी दिए । यस्तै गरि उन्नत धान ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा १७ हजार ९ सय २० टन उत्पादन हुने गरेको उनले बताए । उन्नत जातको योगदान कुल उत्पादनको ४० प्रतिशत रहेको पनि उनले बताए ।
पोखरा महानगरपालिकामा कुल ११ हजार २ सय हेक्टर क्षेत्रफलमा ३९ हजार २ सय टन धान उत्पादन हुने उनले सुनाए । आवश्यक परिणाम प्रति ब्यक्ति प्रति वर्ष २ सय १ केजीका हिसावले पोखरा महानगरपालिकाको ५ लाख जनसंख्याका लागि १० लाख ५ सय टन धान उत्पादन आवश्यक रहनेमा ८१ ह्जार ८ सय ८० टन धान अपुग रहेको छ । यस्तै गरि आवश्यक परिणाम प्रति ब्यक्ति प्रति वर्ष २ सय १ केजीका हिसाबले अस्थायी जनसंख्या सहित दैनिक खाने उपभोक्ता १५ लाख जनसंख्याकालागि प्रति वर्ष ३० लाख १५ हजार टनको आवश्यक्ता रहेको उनले बताए ।
मगमग बस्ना आउने धान पछिल्लो समयमा बास्ना आउन भने छाड्दै गएको छ । २०३६ साल सम्म धान पसाउने बेलामा फाँटनै बसाउने हुन्थ्यो । बिस्तारै धानमा रासायनिक मल र विषादीको मात्र किसानले बाउँदै गएपछि जेठोबुढो धान पसाउने बेलामा फाँटनै बसाउन छाडेको मात्र होइन भान पकाउँदा बसाउन पनि छाडिसकेको पोखरा चापाकोटका किसान हरिप्रसाद शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)