बिरामी बढेसँगै रगतको अभाव
चितवन : जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ। योजनाबद्धरुपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पुर्याउन नसकिएको बताए। केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उनको भनाइ छ। कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातिको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उनले जानकारी दिए।
जिल्लामा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उनको भनाइ छ। यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो। यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै छिमेकी देशबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्।