बझाङ कारागारबाट कोरोना संक्रमित कैदी भागे
बझाङ : बझाङ सदरमुकाम चैनपुरमा रहेको जिल्ला कारागारबाट एकजना कैदी भागेका छन् । कोरोना पोजिटिभ देखिएर कारारगारको पुरानो भवनको आइसोलेसनमा बस्दै आएका छबिसपाथीभेरा गाउँपालिका ५ का ३३ वर्षीय प्रविन धामी बुधबार बिहान भागेका हुन् ।
पुरानो कारागारको जीर्ण भवनबाट काठको सिडी लगाएर पछाडिपट्टीको पर्खालबाट भागेको हुनसक्ने सुरक्षाक्रमीको बुझाइ छ । बिप्लब समूहमा आवद्ध रहेका धामीलाई राष्ट्रिय तथा सर्वजनिक सम्पदाविद्धको मुद्धा लागेको थियो ।
धामीलाई जिल्ला अदालत बझाङले कात्तिक १८ गते दुई लाख २५ हजार धरौटी तोकेपछि तिर्न नसकेपछि कारागार चलान गरिएको थियो । २०३४ सालमा स्थापना भएको जिल्ला कारागारको पुरानो भवन जीर्ण भएकाले अहिले कैदीहरु सबै नयाँ भवनमा बस्ने गरेका छन् ।
तर धामीलाई भने कोरोना संक्रमण देखिएपछि पुरानो भवनमा राखिएको थियो । प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठकुन्नाले बिहान ६ बजेतिर सुरक्षाक्रर्मीको डिउटी परिवर्तन गर्ने समयमा भागेको बताए।
गएको असार १ गते देखि नेपाली सेनाले कारागार सुरक्षाका लागि जिम्मा लिएको थियो । हाल जिल्ला कारागार बझाङमा ११ जना नेपाली सेना र ५ जना नेपाल प्रहरी छन् । यसअघि पनि जिल्ला कारागार बझाङबाट दुईजना कैदी फरार भएका थिए । अहिले ६० जनाकैदी छन् । कारागारबाट फरार भएका कैदी धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।