सैनामैनामा क्रिकेट रंगशाला

सैनामैनामा क्रिकेट रंगशाला

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकामा नेपालकै ठूलो क्षेत्रफलको क्रिकेट रंगशाला निर्माण थालिएको छ। करिब १५ बिघा क्षेत्रफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालिएको हो।

सैनामैना नगरपालिकाले गत वर्षदेखि मैदान सम्याउने काम थालेको थियो। यो वर्ष डीपीआर निर्माण गरेर अन्य संरचना बनाउन थालिएको छ। यो रंगशाला नेपालकै ठूलो ९० यार्डको हुने नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।

यो रंगशाला गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किलोकिटर उत्तरतर्फ छ। नगरपालिकाले मैदानको प्रारम्भिक पूर्वाधार निर्माणमा एक करोड ३० लाख रुपैयाँ खर्च गरिसकेको छ। गत वर्ष ३० लाखको बजेटमा माटो कटिङ, शौचालय र डे«सिङ रुम निर्माण गरिएको थियो। यो वर्ष एक करोडको बजेटमा माटो कटिङ, तारबार र डीपीआर बनाइएको छ।

रंगशाला निर्माणका लागि करिब दुई अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ। यसले ९४ हजार ८१७ वर्गमिटर क्षेत्रफल समेटेको छ। स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा रंगशाला निर्माण सम्पन्न गरिने लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालकै गौरवको आयोजनाका रूपमा रहेकाले बजेट व्यवस्थापन हुनेमा विश्वस्त रहन उनले आग्रह गरे।

सैनामैनामा रंगशाला बनाउने विषयमा नगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनसँग पनि छलफल गरेको थियो। कलाकार सीताराम कट्टेलले पनि रंगशाला स्थल अवलोकन गरेका थिए। नगरपालिकाले आफैं रंगशाला बनाउने योजनासहित डीपीआर निर्माण गरेको हो।

नगरप्रमुख कार्कीले खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्यसहित रंगशाला निर्माण थालिएको बताए। ‘बुद्ध जन्मस्थलको छेउमा बन्ने रंगशालाले अन्तर्राष्ट्रिय महत्व पाउनेछ’, उनले भने, ‘यसले खेल पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ।’ सैनामैना क्षेत्र आफंैमा बौद्ध स्थलसमेत हो। रंगशाला निर्माणका लागि छिट्टै निर्माण कम्पनी छनोट गरिने उनले जानकारी दिए।

सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले ६ महिना लगाएर रंगशालाको डीपीआर निर्माण गरिएको जानकारी दिए। रंगशालामा रातिको समयमा पनि खेल खेल्न सकिनेछ। प्रशस्त प्यारापिट, पार्किङ, बगैंचासमेत हुनेछ। रंगशालाअगाडि बुद्धको ठूलो प्रतिमा राखिनेछ।

यस क्षेत्रमा अहिलेसम्म स्तरीय क्रिकेट रंगशाला बनेका छैनन्। भैरहवामा सिद्धार्थ रंगशाला निर्माण थालिए पनि अहिलेसम्म पूरा हुन सकेको छैन। क्रिकेट मैदान नहुँदा स्थानीयस्तरमा हुने प्रतियोगिताहरू फुटबल मैदानमै गर्ने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.