बैतडीमा बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु (नामसहित)
दार्चुला : बैतडीको पाटन नगरपालिका-८ खोडपेमा बस दुर्घटना भएको छ। गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै गएराती साढे १० बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। उनका अनुसार सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेको छ। दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ भने पाँच जनाको नाम मात्रै खुलेको छ।
बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको हो। त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उक्त बसमा ४५ जनाभन्दा बढी सवार रहेको बताइएको छ।