बैतडी बस दुर्घटना : शोकमा डुब्यो गाउँ, एकै वडाका तीनजना युवाको मृत्यु
बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राती दुर्घटनामा परी एकै वडाका ३ जना युवकको मृत्यु भएपछि गाउँ नै शोकाकुल बनेको छ । गाउँका होनहार युवाहरुको दुर्घटनामा मृत्यु भएपछि दोगडाकेदार ६ मा सान्नटा छाएको वडा अध्यक्ष लक्ष्मीदत्त जोशीले बताए । उनले भने, 'तिहारको मुखमा गाउँमा अन्त्यन्तै दर्दनाक घटना भयो । तीनजना युवकको मृत्युले वडा नं ६ शोकमग्न भएको छ ।’
बैतडीको गन्नाबाट महेन्द्रनगरपालिका छुटेको यात्रुबाहक बस बिहीबार राती साढे १० बजेतिर पाटन नगरपालिका ८ खोड्पे नजिक दुर्घटनामा परेको हो । दुर्घटना परी ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । मृतक ९ मध्ये तीनजना बैतडीको दोगडाकेदार गाउँपालिका ६ बासिन्दा हुन् ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार गाउँपालिकाका कार्यरत नायब सुब्बा कविन्द्रप्रसाद जोशी र करनसिंह ऐर एकै वडाका बासिन्दा हुन् । तराई जानका लागि बसमा चढेका उनीहरु कहिले नफर्कने गरेर बिलाएपछि गाउँ नै शोकमग्न भएको स्थानीय बासिन्दा समेत रहेका न्वाली स्वाथ्यचौकीका इन्चार्ज नैनसिंह गोयलाले बताए ।
उनले भने, '३० वर्षभन्दा कम उमेरका एकै ठाउँका साथी गुमाउँदा निकै पीडा महसुस भएको छ । यो वर्ष तिहार हाम्रा लागि काल बनेर आयो । दोगडाकेदार वडा नं ६ का लागि यो निकै दुखदायी दिन भएको छ ।'
दुर्घटनामा परी मृत्यु भएका कविन्द्रप्रसाद जोशी आफ्नी श्रीमति र छोरासँगै महेन्द्रनगर गईरहेका थिए । बस दुर्घटनामा परेपछि जोशी कहिले नफर्कने गरि बिलाएका छन् । ‘बुहारी र नातीको डडेल्धुरामा उपचार भइरहेको छ । एक वर्षअघि मात्रै सरकारी जागीरमा लागेको थियो । हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भईरहेको छ । दैवले दिएको चोट सहनुको विकल्प छैन् ।’ आफन्त हेमराज जोशीले भने, ‘यो घटनाले कहिले नभुल्ने घाउ बनाएर गएको छ । कलिलो उमेर भतिजाको मृत्यु भएपछि परिवारमा ब्रजपात भएको छ ।’
दोगडाकेदार ६ कै रणबहादुर चन्द पनि बिहीबार भएकै बस दुर्घटनामा बिलाए । श्रीमतीसहित तराई जान लागेका उनी पनि कहिले नफर्कने गरेर अस्ताएका छन् । ‘घाइते भाइबुहारीको डडेल्धुरामा उपचार भइरहेको छ । धनगढीको नयाँ सर्ने तयारी थियो । दैवले चुँडेर लग्यो । अहिले हामी आफन्तहरु शोकमग्न भएका छौं ।’मृतकका आफन्त लोकेन्द्रबहादुर चन्दले भने, ‘यस्तो होला भनेर सोचेका थियौं । के गर्ने नसोचेको भयो ।’
तिहारको समयमा भएको दुर्घटनाले जिल्लामै खल्लो वातावरण भएको छ । चाडपर्वको समयमा धेरै जना आफन्तहरुको भेटघाटमा गईरहेका थिए । यो घटनाले सबैलाई दुखित तुल्याएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनले भने, ‘चाडपर्वको बेला भएको दुर्घटनाले सबैलाई झस्काएको छ । ९ जनाको ज्यान जाने गरी भएको घटनाले सिंगो जिल्ला शोकमग्न भएको छ ।’
दुर्घटना परी बैतडीको दोगडाकेदार ६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम ४ का र्तकराज गिरीको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको छ ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।