‘लेउ खुकुरी लेउ’ भन्दै आए नवीन (भिडियो)
काठमाडौं : लोकगायक नवीन पौडेलले देशको परिस्थिति सुधार्न आग्रह गर्दै ‘ लेउ खुकुरी लेउ’ बोलको गीत बजारमा ल्याएका छन् ।
देशमा व्यप्त भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँदै उनले जनतालाई खुकुरी निकाल्न भनेका छन् । सत्तामा रहेकाहरू गुट, उपगुट मिलाउन व्यस्त छन् ।
राज्य सत्ताको विभिन्न बैठक दैनिक बस्ने गरेको भएपनि जनताको हितका खातिर कोहीले केही गरेको देख्न, सुन्न सकिन्न् । जनता भोक, रोग र शोकले आक्रान्त छन् । सरकारलाई केही मतलब छैन । यसकै सेरोफेरोमा रहेर नवीनले यो गीत ल्याएका हुन् । गायक पौडेलकै शब्द, संगीत रहेको गीतमा देश बिग्रेको चिन्ता गरिएको छ ।
देशलाई कायापलट गर्ने एक धर्तीपुत्रको आवश्यकता रहेको औंल्याउँदै गीतमार्फत भ्रष्टचारी तह लगाउन खुकुरी उठाउन आवहान गरिएको छ । गीतमा बालुवाटरको ललिता निवास प्रकरण, सत्तरी करोड घुस काण्ड, ओम्नि काण्ड, सुन काण्ड, अपहरण काण्ड, बलात्कार काण्डलगायत थुप्रै काण्डको कुरा उठाइएको छ ।
प्रसाद, प्रिन्च अबिरल, चन्द्रीका ओझा, सपन सुमन, सुनिता सुनल लगायतको कोरोस गायन रहेको गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।
सामाजिक धारका यथार्थपरक चेतनामूलक गीत सिर्जना गर्ने नवीनको यो गीतको भिडियोमा विष्णु भट्टराई, किरण तुलाचन, परि शर्मा, गीता केसी, यमन अर्याल, कल्पना पाण्डे, सगुन शर्मा, पुष्प बरालको अभिनय छ । भिडियो छायाँकन, सम्पादन तथा निर्देशक विष्णु भट्टराईले गरेका हुन् ।