कार्टुनकलाको अनुसन्धान

कार्टुनकलाको अनुसन्धान

कोरोनाको सन्त्रासमा बितेका सात महिनालाई नेपालका कार्टुनिस्टहरूले कसरी अभिव्यक्त गर्दै आएका छन् ? भर्खरै एउटा दैनिकमा डा. कुन्दन अर्यालले निचोडमा भनेका छन्— दुःख, हैरानी, बेचैनी र पीडामा हास्य सहज हुँदैन। तर यसबीच नेपाली कार्टुनिस्टहरूले पनि सामाजिक र व्यक्तिगत दुःख र पीडाकै बीच कार्टुनकला वा क्यारिकेचर सीप अघि बढाएका छन्।

पत्रकारिताका विभिन्न विधामा कार्टुनको महत्वपूर्ण स्थान छ। सम्प्रेषण र प्रभावका दृष्टिले कार्टुन सशक्त विधा हो। तर पनि नेपालमा यस विधाका बारेमा खोज–अनुसन्धान गर्ने काम उल्लेखनीय रूपमा भएन। सम्भवतः डा. अर्याल पहिलो अनुसन्धाता हुन्, जसले नेपाली कार्टुनकलाका बारेमा समग्रमै खोजपूर्ण अध्ययन गरेर एउटा पुस्तक तयार गरेका छन्। बितेका दुई दशक लामो अविधिदेखि उनी निरन्तर नेपाली आमसञ्चारमाध्यममा आउने कार्टुनहरूलाई मिहिन ढंगले नियालिरहेका छन्।

डा. अर्याल कार्टुनको प्रभाव र शक्तिका बारेमा धेरै अगाडिदेखि गहिरो जानकारी राख्थे र पहिल्यैदेखि कार्टुनकलाबारे सचेत थिए। झन्डै तीस वर्षअघि ‘छलफल’ साप्ताहिकको सम्पादक हुँदा उनको टिममा म पनि थिएँ। त्यसबेला सबै पत्रिकामा कार्टुनकलाको प्रयोग हुँदैनथ्यो। केही नाम चलेका पत्रिकामा पनि यदाकदा कार्टुन प्रकाशित हुन्थे। तर कुन्दन अर्याल आफ्नो पत्रिकामा हरेक अंकमा शक्तिशाली कार्टुनको आग्रह राख्थे। उनको त्यही आग्रह पनि एउटा कारण हो, ललितकलाका सिद्धहस्त जीवन राजोपाध्यायले कार्टुन कलालाई छलफल साप्ताहिकमा निरन्तरता दिए। चित्रकला र रेखाचित्रमा रुचि राख्ने चालीसको दशकका सिकारु कलाकार रविन सायमिसँग उनको घनिष्ठताको कारण पनि कार्टुन नै थियो। अर्याल सम्पादक रहेको युवा सहचर हातेमालो रविनको सुरुवातकालीन अभ्यास थलो थियो।

कार्टुन जम्थ्यो त राजनीतिकै जम्थ्यो। तर पन्ध्र–सोह्रबर्से रविनसँग कुन्दन राजनीतिक विषयवस्तुमा विमर्श गर्दै उनलाई हौस्याउँथे। कतिपटक त एउटा निष्कर्षमा पुगेपछि रविन कार्टुन बनाउँथे। उनलाई विषयको गहिराइमा पुर्‍याउन यदाकदा हामी पनि सहयोग पुर्‍याउँथ्यौं।

छलफलको सुरुवातसँगै सम्पादकका रूपमा अर्याल एउटा आग्रह थियो— हरेक अंकमा एउटा कार्टुन हुनैपर्छ। अध्ययनमा पनि लागिरहेका किशोर रविन दृष्टि साप्ताहिकमा व्यस्त थिए। त्यसैले अर्याल राजोपाध्यायलाई झक्झकाउन गए। राजोपाध्यायका लागि कार्टुनकला दोस्रो प्राथमिकतामा थियो। तर कहिलेकाहीं मोटरसाइकल दौडाउँदै आफैं गएर पनि अर्याल उनलाई कार्टुन बनाउन लगाइछाड्थे।

डा. अर्यालको कार्टुनकलाको सत्यतथ्यको खोज–अनुसन्धानसहित तयार गरिएको ‘नेपालमा कार्टुनकलाको इतिहास’ पुस्तक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशन भएको छ। उहिले नेपालमा व्यंग्यचित्र अंकित पर्चा बनाउने चलन थियो। त्यसको सुरुआत गरेका थिए चित्रकार चन्द्रमानसिंह मास्केले। नेपाली अखबारमा २०१४ सालदेखि कार्टुनकलाले स्थान पाउन थालेको हो। यी दुवै प्रसंगलाई डा. अर्यालले पुस्तकमा महत्वका साथ प्रस्तुत गरेका छन्।

२०१४ साल साउन ९ गते ‘संयुक्त प्रयास साप्ताहिक’ मा प्रकाशित कार्टुनबाट आरम्भ भएको नेपाली कार्टुनकलाको प्रकाशनबारे यस पुस्तकमा विश्लेषण गरिएको छ। विभिन्न कालखण्डका झन्डै ७० वटा प्रतिनिधिमूलक कार्टुनकलालाई विश्लेषणको आधार बनाइएको छ। लेखकले नेपालका पुराना, प्रख्यात र नयाँ नाम चलेका कार्टुनिस्टलाई मात्र भेटेका छैनन्; आफ्ना अखबारहरूमा कार्टुन प्रकाशन गर्ने सम्पादक तथा दिग्गज पत्रकारहरूसँगको गहन कुराकानीको निचोडसमेत समेटेर यो पुस्तक तयार गरेका छन्। बीस वर्षभन्दा अगाडि संयुक्त प्रयासका सम्पादक शिवहर सिंह पागलले उपलब्ध गराएका संयुक्त प्रयासका पुराना अंकहरूमा काठको ब्लकको माध्यमले छापिएका कार्टुनहरूलाई तत्कालीन राजनीतिक परिवेशसँग जोडेर केलाएका छन्।

कुनै विषय वा घटनाप्रतिको व्यंग्य अभिव्यक्तिमा कार्टुन शक्तिशाली र प्रभावशाली माध्यम हो। सामान्य चित्र वा रेखाचित्र बनाउन जान्दैमा जोकोही कार्टुनिस्ट बन्न सक्दैन। कार्टुनिस्ट बन्नका लागि विषयको गहिरो अध्ययन, ज्ञान र सुझबुझ आवश्यक छ। कस्तो व्यक्ति सफल कार्टुनिस्ट बन्न सक्छ भन्ने सम्बन्धमा यस पुस्तकका लेखकले सटिक विचार प्रस्तुत गरेका छन्। उनका विचारमा साहित्यको संसारबाट ग्रहण गरेको हास्य र व्यंग्यचेत अनि ललितकला जगत्बाट हासिल गरेको रेखाचित्रसम्बन्धी सीपको समन्वय गर्न सकेको खण्डमा पत्रकारिताको आधारभूत ज्ञान भएको वा समाचारको गुण बुझ्न सक्ने व्यक्ति कुशल कार्टुनिस्ट बन्न सक्छ। कार्टुनिस्ट बन्ने कुरा जोकसैको वशमा नहुने र पत्रकारिताको सबैभन्दा महत्वपूर्ण आधार विषय वा सवालको समग्र सान्दर्भिकता बुझ्न नसक्ने व्यक्ति कार्टुनिस्ट बन्न नसक्ने निष्कर्ष लेखकको छ।

डा. अर्याल सानैदेखि ‘कार्टुनिस्टको बहुआयामिक क्षमता’ को आकर्षणमा रहेका थिए। यही आकर्षणका कारण उनी कतै कार्टुनकला देख्यो कि जिज्ञासासहित त्यसको अवलोकन र अध्ययनमा लागिहाल्थे। कार्टुनकलामा रस बसेपछि उनले त्यससम्बन्धी पुस्तक र पत्रपत्रिका पनि खुबै पढे। नेपालीमा त्यस्ता सामग्री कमै हुन्थे। त्यसैले कार्टुनकलासम्बन्धी हिन्दी र अंग्रेजी पत्रिका तथा पुस्तक अनि कमिक्सहरूको अध्ययन पनि गरे। एकपटक उनले दिल्ली भ्रमणबाट फर्किंदा रविन सायमिलाई एउटा पुस्तक उपहार ल्याइदिएका थिए, आरके लक्ष्मणको ‘यु सेड इट’ को संकलन।
अन्नपूर्ण पोस्ट्का कार्टुनिस्ट बासु क्षितिजले बनाएका केही नमुना कार्टुन देख्नेबित्तिकै उनले भनेका थिए— केन्द्रित भएर कार्टुन बनाउनमा लाग। बासुले आफ्नो आईएस्सी त्यति राम्रो नभइरहेको बताउनेबित्तिकै अर्यालले भनेका थिए— ललितकला पढ्न थाल। कलाकार र कार्टुनिस्ट बन्ने सपना देख्न थाल भाइ।

कार्टुनकलाप्रतिको यस्तो मोहले पनि उनलाई यो पुस्तक तयार गर्न प्रोत्साहित गरेको अनुभव हुन्छ। लेखकमा सानैदेखि कार्टुनको गहिरो प्रभाव रहेको देखिन्छ। कार्टुनका सबै पक्षलाई राम्रोसँग नबुझेकै अवस्थामा कार्टुनबाट प्रभावित बन्न पुगेका उनी कार्टुनलाई राम्रोसँग बुझेपछि झनै गहिराइमा जान थाले। सम्पादक बनेर आफैं कार्टुनकला प्रकाशन गर्ने भएपछि उनले आफूमा रहेको कार्टुनप्रतिको प्रभावको महत्व अझै प्रस्टसँग बुझे। उनमा रहेको कार्टुनकलाप्रतिको प्रभावको परिणाम पनि हो यो पुस्तक।
कार्टुनकलाप्रति असामान्य मोह राख्दाराख्दै पनि डा. अर्यालले कार्टुनकला सिक्ने कुराप्रति भने खासै चासो राखेनन्। उनको रुचि कार्टुनकलाका राम्रा–राम्रा कलाकारका रचना हेर्न, रमाउन र तिनको व्याख्या–विश्लेषण गर्नमै सीमित रह्यो। उनको त्यही रुचिको परिणाम पनि हो यो पुस्तक।

पहिले–पहिले कार्टुन भन्नेबित्तिकै छापिएका क्यारिकेचर बुझिन्थे, तर आज कार्टुन कला क्षेत्र विस्तार भएको छ। आज टेलिभिजन र डिजिटल माध्यममा पनि कार्टुनले महत्व पाएको छ। यस पुस्तकमा भने डा. अर्यालले छापामाध्यमका कार्टुनकलाको अध्ययन गरेका छन्। डिजिटल र टेलिभिजनमा देखिने कार्टुनकलाको अध्ययन यस पुस्तकमा गरिएको छैन।
जे होस्, कार्टुन आफैंमा पूर्ण हो। एउटा कार्टुनले व्यक्त गर्ने कुरा शब्दले नगर्न पनि सक्छन्। कार्टुनले मानिसलाई जसरी घोच्छ, शब्दले नघोच्न पनि सक्छ। कार्टुनकै कारण कति कलाकारले दुःख पाएका छन्। कार्टुन बनाउने कलाकार, छाप्ने पत्रिका र सम्पादक दण्डित बनेका छन्। कति सम्पादकले कारबाही बेहोरेका छन्। कार्टुन छापेकै कारण सम्पादकले जेलसमेत भोगेका छन्। त्यस्ता घटनालाई समेत लेखकले यस पुस्तकमा महत्व दिएका छन्। त्यस्ता घटनाको चर्चा पुस्तकमा सविस्तार गरिएको छ।

डा. अर्यालले नेपालमा कार्टुनकलाको विकासलाई प्रारम्भिककाल, माध्यमिककाल र आधुनिककाल गरी तीन चरणमा विभाजन गरेर अध्ययन गरेका छन्। लेखकले २००७ सालमा राणाशाही समाप्त भई ‘प्रजातन्त्र’ स्थापना भएदेखि २०१७ सालसम्मको अवधिलाई नेपाली कार्टुनकलाको प्रारम्भिककाल मानेका छन्। त्यसयता २०४६ सालसम्मलाई माध्यमिककाल मानिएको छ। २०४७ सालपछिको समयलाई नेपाली कार्टुनकलाको आधुनिककाल मानिएको छ। कार्टुनकलाको विकासका आधार, मोड र प्रवृत्ति हेर्दा उनले गरेको काल विभाजन उचित र यथार्थपरक लाग्छ।

प्रस्तुत पुस्तक नेपाली कार्टुनकलाको आरम्भ र विकासको इतिहास मात्र होइन, नेपाली कार्टुनकलाको विवेचना, विश्लेषण र मूल्यांकन पनि हो। पुस्तकमा राजनीतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण कालखण्डमा विभिन्न अखबारमा प्रकाशित विशेष अर्थपूर्ण कार्टुनकलालाई लेखककले आफ्नो अध्ययन–विश्लेषण केन्द्र बनाएका छन्। पुस्तकमा त्यस्ता विशेष र अर्थपूर्ण कार्टुनकलाको विश्लेषणसमेत गरिएको छ। ती कार्टुनकला र विश्लेषणले नेपालको तत्कालीन सामाजिक–राजनीतिक परिवेश र प्रवृत्तिलाई समेत प्रतिविम्बित गरेका छन्। यस अर्थमा यो पुस्तक नेपाली पत्रकारिताको क्षेत्र मात्र होइन, नेपालको सामाजिक–राजनीतिक क्षेत्रको समेत सरोकारको सन्दर्भ–सामग्री बन्न पुगेको छ। पत्रकारिता, राजनीति र सामाजिक अध्ययनका क्षेत्रमा यस पुस्तकको अर्थपूर्ण महत्व रहनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.