गोर्खा क्याम्पमा ‘भन भन भाइ हो !’

गोर्खा क्याम्पमा ‘भन भन भाइ हो !’

हर्षोल्लासपूर्ण चाड दीपावलीकै बेला हामी सिंगापुरतर्फ उड्यौं। पहिलोपटक रमाइलो पर्व मिस गर्दै थियौं हामीले। केही खल्लोपन र केही रोमाञ्चकता बोकेर उड्यो सिल्क एयर चेन्जी विमानस्थलका लागि। हामीसँग हाम्रो शरीर उडेको थियो, मन यतै छुटेको थियो। तर सिंगापुरमा मनाउन पाएको तिहार अन्य कैयन् दीपावलीले माथ गर्‍यो।

उत्साहले झकिझकाउ साँझ। बिस्तारै छिप्पिँदै गइरहेको रात। बच्चाहरूको फर्‍याकफुरुक। आलिसान अपार्टमेन्ट। धपक्क बलेको उसैगरी। झिलिक्कझिलिक्क बत्तीहरू एकपछि अर्को गरेर झिल्किरहेका। भर्खरभर्खर भेटेर आँखा जुधाइरहेका युवकयुवतीझैं। त्यहाँको दृश्य साँच्चै मनमोहक देखिन्थ्यो। बच्चाहरूको देउसीभैली पनि गुञ्जिरहेको थियो। प्रत्येक घर, टोल, गल्लीबाट बच्चाहरूको हुल पोलोबाट निस्किएका कमिलाझैं निस्किरहेका थिए एकपछि अर्को गरेर। लिफ्टले ओभर लोड भएको संकेत दिइहरन्थ्यो बेला–बेला। दुई जना गार्ड टिलिक्क मिलेको पोसाकमा उभिएका थिए आमने–सामने। बच्चाले केही बिगो गर्लान् कि भनेर पहरा दिइरहेका थिए। यसैबीच कतै ठूलो आवाजमा सुरताल नमिलेको लवजमा एउटा ध्वनि गुञ्जायमान भईकन प्रतिध्वनित भइरहेको थियो— देउसी रे ! भैली राम !

०००

म, सुदीपजीलगायत साथीहरू तिहारको बहारसँगै विदेशी भूमिको हावामा कावा खाँदै थियौं। साथीहरू कक्षाकोठाबाट बाहिर निस्किएका विद्यार्थीजस्तै आआफ्नै सुरमा रुमल्लिइरहेका थिए। मलाई भने छुट्टै विषयले मोहित बनाइरहेको थियो। जे देखिरहेको थिएँ बिल्कुलै अनौठो थियो। गुर्खाबारे हाम्रो समाजमा जे धारणा थियो त्योभन्दा बिल्कुलै फरक बाटोमा दौडिइरहेको थियो तत्क्षण तत्स्थानको परिस्थिति। उनीहरू आफ्नै संस्कृति र संस्कारमा भिजिरहेका थिए। समुद्रपारिको एउटा घटना थियो, त्यो पनि रातको ठीक ११ बजे। मान्छेले आफ्नो संस्कार, संस्कृति, प्रवृत्तिलाई जुन भूगोलमा पुगे पनि बिर्सन सक्दैन। मान्छेको आर्थिक, सामाजिक स्तरोन्नति होला तर संस्कार र प्रवृत्ति बदल्न धेरै समय लाग्छ। यस्तै झलक दिइरहेको थियो गुर्खाजका सस्याना बच्चाहरूबाट अंग्रेजी मिश्रित टोनमा घन्किरहेको देउसी–भैलोले।

०००
हामी मेजमानीका लागि उक्त ठाउँमा आमन्त्रित थियौं। साइबेरियाबाट आएका सारसजस्तै टाढाबाट उडेका थियौं। पाहुना आउँदै छन् भन्ने केही जानकारी उनीहरूलाई अवश्य थियो। तर हामीले विस्तृत जानकारी गराएका थिएनौं। हामी पुग्ने र कार्यक्रममा उपस्थित हुने समयको टुंगो थिएन। तैपनि कार्यक्रम, खानपिनको तयारी राम्रैसँग भएको कुरा त्यहाँ देखिने विभिन्न परिकार र गुर्खाज्हरूको व्यवहारले देखाइरहेको थियो। अतिथि देवो भवः को वैदिक मन्त्रको तन्त्रमा हामी वशीभूत भएका थियौं। दीपावलीको दिन भएर पनि हुन सक्छ रौनक पनि उस्तै थियो। अतिथि सत्कारमा दिदीबहिनीहरू नै बढी खटिरहनुभएको थियो। नेपाली संस्कार जुनसुकै कुनामा पुगे पनि छुट्दैन भन्ने दह्रो प्रमाण थियो— उहाँहरूको व्यवहार।

०००
लाहुरेहरू दिन र खान भनेपछि हुरुक्कै हुन्छन्। यही कुराको पुष्टि गरिन् भरतजीकी श्रीमतीले। उनले विभिन्न किसिमका खानेकुराको किस्ती विस्तारै हामीतिर सारेर श्रीमान्लाई केही ल्याउन इसारा गरिन्। चाडपर्वको दिन, त्यो पनि लाहुरे संस्कृतिमा हामीलाई पिउनैपर्ने बाध्यता भयो। सुदीपजीले झट्ट भने— मचैं चिसो बियर पिउँछु। मलाई लागेको थियो— किन सुदीपजीले यति छिटो डिसिजन गरे।
म पियक्कड होइन। सुदीपजीको पनि आदत थिएन। साथीभाइ भेट हुँदा हँसिमजाक गर्न भए पनि आफ्नो रुचिअनुसार पिउने चलन भने केही वर्षदेखि थियो। भरतजीले कर गरेपछि मैले हार्ड ड्रिंक्स लिन स्वीकारोक्ति जनाएँ। भरतजीकी श्रीमतीले ग्रिन सलाद, तारेका विभिन्न प्रकारका माछामासुका साथमा एउटा रेड लेबल र स्थानीय चिसो क्यान बियर ल्याएर टक्य्राइन्। लाहुरेहरूसँग पिउँदा बडो सचेत हुनुपर्छ भन्ने कुराको हेक्का मलाई राम्रोसँग थियो। उनीहरू पिउँदाको समय बडो कन्सस हुन्छन्। उनीहरू कसैको चित्त दुखाउनु हुँदैन, पाहुना भनेका ईश्वर समान हुन्छन् भन्नेमा सचेत थिए। हामी मदिराको गन्धमा हराउन थाल्यौं। सुदीपजी आफ्नै तालमा हराउन थाले। सायद उनी खोजिरहेका थिए कि जीवन शर्मा अर्थात् रक्तिम परिवारका ताता गीतहरू। तर, त्यहाँ उनलाई उपलब्ध थिएन— सिमली छायामा बसी...।

०००
स्थानीय क्यान बियर र रेड लेबल एकछिनमा टेबलमा उभियो सिपाहीझैं। थकाइ लागेर हो कि मुड नै त्यस्तै थियो। मैले बोतलको घाँटी अँठ्याउन ढिलो गरिनँ। कुनै प्रोफेसनल जँड्याहाले जस्तै स्वाट्ट पार्ने मोडमा पुगिहालेँ। माछा, कुखुराका सपेटा र विदेशबाट आयातीत काँक्रा र गाजरको सलाद पनि सँगै आयो। डिनर टन्न खाइसकेकाले अरू खाने मुड थिएन। गर्मीका कारण माछामासुभन्दा ज्यादा सलादमै मन गयो। नेपालबाट घुम्न आएका भरतका बुबाले पनि हामीलाई साथ दिनुभयो। दुःखसुखका कुरा फुकाउनुभयो। उहाँ इन्डियन आर्मीको रिटायर्ड भएकोमा क्याम्पको बसाइ सहज भएको स्वतः देखिन्थ्यो। आमा भने बथान छुटेको भेडाझैं कताकता अलमलमा देखिनुहुन्थ्यो। तर नाति नातिनीको अनुहार हेरर दंग।

०००
बोतलको लेबल घट्दै गयो। गफको पारो बढ्दै गयो। गफ नेपालबाट पसेर सातै महादेश चहार्न भ्याएको थियो। नेपाल र नेपाल छोड्दाका कथा, परदेशी जीवन र त्यसमा पनि लाहुरे जिन्दगीको फेहरिस्त यस्तोसँग आएको थियो जसरी एउटा सोठाबाट धागो फुस्किन्छ। पहाडी संघर्ष र बाल्यकालका चकचके दैनिकीदेखि देशविदेशका कुरा एकछिनमा बग्रेल्ती खोल्न भ्यायौं हामीले। बेलाबेला राजनीति र नेपालमा बिग्रिएको परिस्थितिबारे कुरा गर्‍यौं। हाम्रा जिज्ञासा पनि फुकायौं। झन्डै ८ हजार नेपाली एउटै क्याम्पमा बस्दै गरेको कुराले हामी अलमलमा पर्‍यौं। लाहुरेसँग ‘गाँठ’ धेरै हुन्छ भन्थे पहिला। त्यो अर्धसत्य भएको कुरा सुनाए भरतले। पहिला विदेश जाने ब्रिटिस आर्मी, सिंगापुरे पुलिस र ब्रुनाई जाने लाहुरे हुन्थे। उनीहरूको एकछत्र चर्चा हुन्थ्यो। लाखौं नेपाली विदेश छन् यति खेर। त्यसैले हाम्रो विदेश बसाइ फिका छ। आर्थिक हिसाबले पनि हिजोजस्तो छैन आज। त्यै हो घरबार सजिलै चल्छ गाउँमा।

०००
मलाई भरतजी र सुदीपजीका कुराभन्दा पनि बाहिर केही बेरदेखि गुञ्जिइरहेको अंग्रेजी टोन मिश्रित तिनै गुर्खाज किड्सको वेप्रवाह देउसी–भैलोले तानिरहेको थियो। उनीहरू जोडतोडले फलाकिरहेका थिए—
हामी ट टेसै आएनम्।
बली राजाले पठाका।
हे औंसी बार, गाई टिहार–भइलो।
दिने भए सिधा देऊ हैन भने बिदा देऊ...
यिनीहरूले कसरी यतिका शब्दहरू कण्ठ बनाए ? कसको प्रेरणाले तिहारको झिलिमिलीमा रमाउन थाले ? पितामाताकै लागि नौलो बनिसकेको नेपाल र नेपाली संस्कृतिमा यिनीहरूको यति ठूलो लगाव देखेर म अवाक् भएँ। मलाई रेड लेबलभन्दा ज्यादा बच्चाबच्चीको संस्कृति मोहको लेभलले हानिरहेको थियो। सोच्दा–सोच्दै तीन पेग लगाएपछि म पुनः डुब्न पुगेँ— तिहार पर्वको बारेमा। यिनीहरूले बलिराजाको किंवदन्तीका बारेमा के बुझेका होलान् ? के ठानेर देउसी रे, भैलीराम फलाकिरहेका होलान् ? निष्कर्ष निकालेँ— जे भन जसो गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो... गीतको मर्मले सही ठाउँमा कर्म गरेको निक्र्योल गरेँ।

०००
हुलका हुल बच्चाहरू देउसी खेल्न आए गए। उनीहरू प्रायःले नेपाली भाषा जान्दैनन्। बाउआमाले दुईचार शब्द घोकाउन भने छाडेका छैनन्। तर भन भन भाइ हो देउसी रे एउटा वाक्यांश भन्थे उनीहरू ठूलै समूहझैं तर ४–५ भन्दा ठूलो समूह मैले देखिनँ त्यहाँ। सानो समूह हुँदा उठेको दामको सेयर धेरै मिल्छ भन्ने कुरा समुद्र पार भए पनि बुझेका थिए उनीहरूले। भनभन भाइ हो भन्थे तर त्यहाँ बहिनीहरूको संख्या अधिक रहेको उनीहरू पत्तै पाउन्नथे। परिवारको अनुहारमा भने एउटा उदासीनता प्रस्टै देखिन्थ्यो के गर्ने छोराछोरीले आफ्नो भाषा बिर्सिए, मठ्ठै भुले संस्कार।

हाम्रो जिन्दगी बाहिरबाट देख्दा जति राम्रो छ, त्योभित्र व्यापक जटिलता पनि छन् भन्दै जीवनप्रति कुनै खेद नभएको कुरासमेत फुकाउन भ्याए भरतजीले। सुदीपजी आफू परदेश भएको जानकारी भाइबरमा सुनाउँदै मस्त थिए। सांस्कृतिक रूपमा अधकल्चो भए पनि आफ्ना रीतिरिवाज बिर्सन नसकिँदो रहेछ। पूरै अपनाउन र पूरै छोड्न नसकेको जटिल परिस्थिति झल्कन्थ्यो उनको अनुहारमा।

सात जुनीसम्म मान्छेले आफ्नो पहिचान भुल्न चाहँदैन भन्ने पनि प्रमाणित हुँदै थियो। भित्रिँदै गरेको दोस्रो ठूलो पर्व। रमाइलो चाड। साथीसंगी त्यागेर मलीन मन लिएर परदेश उडेका हामीमा एउटा साथीसंगी साथ र आत्मीय संस्कार मिलेको थियो त्यहाँ। परदेशमा बसेका केटाकेटीको देउसीको रौनकसँगै नसाको पारो पनि ह्वात्तै चढेको थियो मनको थर्मोमिटरमा। नेपालका यावत् परिस्थिति, लाहुरे जीवन, गोरा अफिसरका कुरासँगै रातको ठीक १ बजिसकेको थियो। गुर्खा क्यान्टोनमेन्ट सुनसान हुँदै गएको थियो। हाम्रो कुराकानी पनि शान्त हुँदै थियो। सेक्युरिटीको समस्या नभएपछि राति १ बजे पनि निर्धक्क सहर परिक्रमा गर्न निस्केका थियौं।

यो साथसत्कार सिंगापुरमा मिलेको हो। त्यहाँ साथी भरत थापा कार्यरत छन्। सिंगापुर पुलिसमा। यो महफिल उनकै सिंगापुरस्थित गुर्खा क्याम्पमा मिलाएका हुन्। गुर्खाले कमाएको इज्जत सिंगापुरको नागरिकको हृदयभित्र टाँसिएको देखेर हामीले हाम्रो छाती धक्क फुलेको अनुभव गरेका थियौं। गुर्खाप्रतिको यो विश्वास साँच्चै सगरमाथाझैं अटल भएको अनुभूति भएको थियो। गोर्खालीको छाती र सान यति उच्च भएको देखेर हामी गद्गद् भएका हौं। साथी भरतलाई पल्टनमा नामले नबोलाइँदो रहेछ। भरत अब भरत थिएनन्, उनी ५१२ बनिसकेका थिए। भरतले चाँजो मिलाएको दीपावली सेलिब्रेसनले हामी मग्न भन्दै आफ्नो बाटो लागेका थियौं मनभरि पुकार्दै ‘गुर्खा क्यान्टोनमेन्ट दीपावली नम्बर ५१२’।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.