कोरोना संक्रमणको एक वर्ष : भ्याक्सिनमै भरोसा

कोरोना संक्रमणको एक वर्ष : भ्याक्सिनमै भरोसा

काठमाडौं : चीनमा कोरोना भाइरस देखा परेको एक वर्ष पूरा भएको छ। चीनकै हुबेई प्रान्तका ५५ वर्षीय व्यक्तिमा १७ नोभेम्बर २०१९ मा पहिलो पटक संक्रमण पुष्टि भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। त्यसयता विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ५६ लाख नाघेको छ।

वल्र्डोमिटर्सका अनुसार हालसम्म कोरोनाकै कारण १३ लाख ३६ हजारभन्दा बढीको मृत्यु भएको छ। संक्रमितमध्ये ३ करोड ८७ लाखभन्दा बढी निको पनि भएका छन्। चीनमा सक्रिय संक्रमितको संख्या ३ सय ५३ मात्र देखिएको छ। कुल संक्रमितको संख्या ८६ हजार ३ सय ६१ छ। त्यहाँ ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट बच्न कुनै औषधि पत्ता नलागे पनि वैज्ञानिकहरूले खोप (भ्याक्सिन) को विकास भने गरिरहेका छन्। विश्वव्यापी रूपमा दर्जनौं खोप उत्पादक कम्पनी परीक्षणको अन्तिम चरणमा छन्।

एक वर्षपछि खोपको परीक्षण सफल हुनु उपलब्धिमूलक भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्। ‘संक्रमणको एक वर्ष अवधिमा धेरै कुरा थाहा भएको छ। आसलाग्दो वातावरण निर्माण भएको छ’, डा. पाण्डे भन्छन्, ‘खोप परीक्षण ९५ प्रतिशत सफल भएको कुरा बाहिर आएको छ। जे जति दुःख पाउने हो, त्यो पाइसकियो। अब संक्रमण नियन्त्रणमा आउँछ जस्तो लाग्छ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार १ सय ८२ कम्पनीले खोपको क्लिनिकल परीक्षण गर्न आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्। जसमध्ये मोडर्ना, फाइजर तथा बायोएनटेकद्वारा निर्मित खोप चर्चामा छन्। डब्लूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रियससले भने खोप आफैंले महामारी अन्त्य नगर्ने बताएका छन्। उनले भनेका छन्, ‘कोभिड—१९ विरुद्धको खोप अन्य उपायको  पूरक मात्र हो।’

अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले विकास गरेको खोपको परीक्षण ९५ प्रतिशत सफल भएको जनाइएको छ। मोडर्नाका प्रमुख मेडिकल अधिकृत टाल ज्याक्सले बीबीसीसँगको खोपको प्रभावकारिता उल्लेखनीय रहेको जनाएका छन्। यो खोप खरिदका लागि बेलायतले मोडर्ना कम्पनीसँग वार्ता गरिरहेको छ। यसअघि फाइजर र जर्मनीको बायोएनटेकले पनि संयुक्त रूपमा खोप बनाएको दाबी गरेका  थिए। यो खोप ६ मुलुकका ४३ हजार ५ सय ५३ जना व्यक्तिमा परीक्षण गरिएको छ। फाइजरका अध्यक्ष डा. अल्बर्ट बोर्लाले भनेका छन्, ‘विश्वव्यापी संकटबाट बाहिर निकाल्ने प्रयासको नजिक पुगिसकेका छौं।’

फाइजरले सोमबार विज्ञप्ति जारी गर्दै ९० प्रतिशत खोप प्रभावकारी भएको दाबी गरेको छ। अमेरिकाको टेक्सास, न्यु मेक्सिको, टेनेसी र आइल्यान्ड गरी चार राज्यमा परीक्षण वितरण गरिने कम्पनीले जनाएको छ। त्यस्तै बेलायतको अक्सफोर्डले पनि यस वर्षको अन्त्यसम्ममा खोप निर्माण भइसक्ने दाबी गरेको छ। फाइजर र बायोएनटेकले १ अर्ब ९५ करोड अमेरिकी डलरमा अमेरिकालाई १० करोड डोज खोप उपलब्ध गराउनुपर्ने सम्झौता गरेका छन्।

कहाँ चुक्यौं हामी ?

नेपालमा कोरोना संक्रमण सुरु भएको १० महिना नाघेको छ। चीनकै उहानबाट नेपाल फर्किएका एक युवालाई नेपालमा पहिलो पटक गत माघ ९ गते संक्रमण भएको थियो। त्यसयता नेपालमा पनि संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ। यस अवधिमा कोरोनाका कारण १ हजार २ सय ४७ जनाले ज्यान गुमाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल चीनमा संक्रमण देखापर्नेबित्तिकै पूर्वतयारी गर्न चुकेको बताउँछन्। लकडाउन अवधिमा पर्याप्त तयारी नगर्दा नेपालमा समुदाय स्तरमा संक्रमण विस्तार हुन पुगेको डा. प्याकुरेलको ठम्याइँ छ। खुला सीमा, क्वारेन्टाइन, होल्डिङ सेन्टरको निर्माण एवं व्यवस्थापन गर्न चुकेको विज्ञहरू बताउँछन्।

केही सातायता पीसीआर परीक्षण गरेकामध्ये २५ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको थियो। मंगलबार भने संक्रमणको अवस्था तुलनात्मक रूपमा सुधार आई १६ प्रतिशतमा झरेको छ। उपत्यकामा मंगलबार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मुलुकभर भने मंगलबार ५ सय २ कोरोना संक्रमित थपिएका छन्।
अहिले ३० हजार ९ सय ६ जना सक्रिय संक्रमित छन्। जसमध्ये २ हजार २ सय ७ संक्रमित घरमै आइसोलेसनमा छन्। हाल ३ सय १८ जना सघन उपचार कक्षमा र ३८ जना भेन्टिलेटरमा उपचाररत छन्। हालसम्म १ लाख ७९ हजार २ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

‘अन्य मुलुकमा संक्रमण देखापर्नेबित्तिकै हामी पूर्वतयारीमा चुक्यौं।  सरकारी विज्ञ र बाहिर रहेका स्वतन्त्र विज्ञको राय सल्लाहअनुसार सरकारले कार्यक्रम अघि सारेन’, डा. प्याकुरेल भन्छन्, ‘सिद्धान्त मिल्ने र नमिल्ने समेत गरी चार थरी विज्ञको भेला गराएर निर्णय गरेको भए आजको अवस्था आउने थिएन।’ मन्त्रालयले सिद्धान्त मिल्ने र आस्थाका आधारमा विज्ञ छनोट गरी राय सल्लाह लिँदा असफल हुन पुगेको उनी बताउँछन्।

पहिलो संक्रमितको व्यक्तिको कोरोना भाइरस परीक्षण गर्न हङकङ पठाइएको थियो। अहिले नेपालमै परीक्षण व्यवस्था गर्नु र अन्य पूर्वाधारको पनि निर्माण गरी उपचार व्यवस्थापन प्रभावकारी बनाउनुलाई सकारात्मक ढंगले लिनुपर्ने महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन्। ‘हामीले खोप निर्माण गर्न सक्दैनौं। डब्लूएचओले कोरोना भाइरसविरुद्ध खोप (भ्याक्सिन) उपयुक्त भएको ठहर गरेपछि ल्याइहाल्ने तयारी गर्नुपर्छ’, उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.