समयको पदचाप बिर्सिंदा

समयको पदचाप बिर्सिंदा

विश्व राजनीतिमा नेतृत्व सम्हालेका पात्रले इतिहास बिर्सने धृष्टता नगर्दा वर्तमानले साथ दिएको पाइन्छ। त्यस्ता आदर्शको जीवन बाँचेका पात्रहरू नागरिकमा सधैं स्मरणयोग्य रहन्छन्। लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि नेपाली राजनीतिमा वर्तमानमा रमाउने प्रवृत्तिलाई जबर्जस्त हुर्काइयो। नेतृत्वपंक्तिले थोरै पनि अतीत स्मरण गरेको पाइँदैन। त्यसैले यहाँ न सरकारले राजनीतिक दलको विश्वास आर्जन गर्न सकेको छ, न त आफ्नै दलको सरकारलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको छ। यो प्रवृत्ति २०४६ सालको परिवर्तनपछि कुनै न कुनै रूपमा पुनरावृति भइरहेको यथार्थ हो। त्यसैको पछिल्लो कडीमा कम्युनिस्ट पार्टी र त्यही पार्टीको सरकारबीच देखिएको स्वार्थगत लुछाचुँडी हो। त्यो अन्तरकलहले नागरिकको विश्वासमा फेरि एकपटक धोका भएको छ।

लोकतन्त्रमा यसका निश्चित मूल्यमान्यता हुन्छन्। यो प्रणाली नागरिकको विश्वासविना लामो समय टिक्न सक्दैन। अहिले नेतृत्वको स्वार्थले प्रणाली दिनदिनै धरापमा परेको छ। सत्ताकेन्द्रित विकृत परिपाटीले यसका मूल्य, मान्यता र आदर्श समाप्त हुन्छन्। आज यहाँ लोकतन्त्रलाई नाममा मात्र सीमित बनाइयो। यथार्थमा राजनीति भनेको नेता र कार्यकर्ताको कमाइ खाने भाँडो भएको छ। यसलाई जसले जसरी व्याख्या र प्रयोग गर्दा पनि हुन्छ। नागरिकले त्यसैलाई अग्रगमन भनी मानिदिनुपर्छ।

विगत तीस वर्षमा दुईपटक व्यवस्था फेरिए। दुवैपटक अब केही हुन्छ भन्ने नागरिकमा अपेक्षा रह्यो। जनचाहनाअनुसार राज्यले काम गर्नुको साटो सत्ताकेन्द्रित राजनीतिको चरम दुरूपयोग देखियो। त्यस्तो बेथितिले प्रत्येक सरकार अकर्मण्य त भए नै, लामो अवधिमा मुलुकले विकास र समृधिको क्षेत्रमा पनि फरकपन पाएन। मूलतः यही भनाइ आज जनमासले बारम्बार व्यक्त गर्नुपरेको अवस्था छ। लेख्ने बोल्ने अधिकार मात्र लोकतन्त्र हो कि ? यसबाहेक अरू पनि केही हो ? प्रणाली लोकतान्त्रिक अपनाउने, प्रयोग भने नेता र उनका आसेपासेको फाइदामा मात्र सीमित राख्ने हो भने लोकतन्त्रले कसरी पूर्णता प्राप्त गर्छ।

जुनसुकै मुलुकमा युवा शक्ति समृद्धिको मेरुदण्ड मानिन्छ। युवाकै परिश्रमले कैयन् राष्ट्र समृद्ध बन्न सफल भएका छन्। खोइ त यहाँ बाहिरिन बाध्य पारिएका युवालाई देश भिœयाउने कार्यक्रम ल्याएको ? विशेषतः २०६३ को परिवर्तनको उपहारस्वरूप नेपाली युवा बाहिरिने क्रम तीव्ररूपमा बढ्दो छ। यसको मुख्य कारण कृषि र शिक्षामा भित्रिएको चरम माफियाकरण हो भन्दा अत्युक्ति हुने छैन।

नैतिकता र इमानदारीमा ह्रास आउँदा समग्रमा नेपाली राजनीति नै दुर्गन्धित भएको छ।

परिवर्तनको अनुभूति आम सर्वसाधारणले गर्न पाउँदा प्रणालीले पनि सफलता हासिल गर्छ। कृषिप्रधान देश नेपालमा किसानले खेती गर्नुको साटो व्यापारीले जमिन कब्जा गरेको हुन्छ। यहाँका बालक र युवामा देशभन्दा परदेश चिनाउने शिक्षा दिइन्छ। यसले भविष्य निर्माणको आशा गरिएका लाखौं युवा आज इतिहास र आफ्नोपनबाट विमुख बन्नुपरेको परिस्थिति छ। यसो हुनुमा प्रणालीको अपव्याख्या र नेतृत्वको अदूरदर्शिता नै मूल कारण मानिएको छ।

समय स्थिर रहँदैन। यो चलायमान हुन्छ। कुनै समयमा बन्दुकको नालबाट मात्र सत्ता कब्जा हुन्छ भनियो। आजको युगमा बन्दुक नै सर्वेसर्वा ठान्नु दृष्टिभ्रम मात्र हुनेछ। यहाँ त्यसको प्रयत्न नगरिएको पनि होइन। परिणाम के निस्कियो ? अझ गरिबी र विदेशीको खुलेआम हस्तक्षप मात्र खेप्नुप¥यो। शक्तिमा हुनेले राज्य दोहन गरी रातारात सम्पत्ति आर्जन गर्ने परिपाटी मौलायो। एकातिर रात दिन मेहनत गर्दा एउटा बास जोड्न कठिन पर्छ, अर्कातर्फ राजनीति गरेको पाँच वर्ष नपुग्दै आसेपासे र लुटिखाने झुन्डले अथाह सम्पत्तिमा मोज गरेको यत्रतत्र देखिन्छ। यो के हो ? के यसैलाई नागरिकले अग्रगमन मानिदिनुपर्ने ? आज यही प्रश्नको सही उत्तर नपाएर नागरिक आक्रान्त भएका छन्।

लोकतन्त्रमा नागरिकका हरेक प्रश्नको यथोचित समाधान गर्दै निरूपण गरिन्छ। यहाँ त्यसो गरिएन। राज्यले नागरिक चाहना पूरा गर्छ भन्ने विश्वास पनि दिन सकेन। दुईतिहाइनजिक सिट प्राप्त गरेको दलले सरकार चलाएको छ। सरकारले काम नगर्दा सल्लाह, सुझाव वा विरोध गर्ने प्रचलन सर्वत्र हुन्छ। यहाँ सुझावको ठाउँमा सबैलाई कुर्सी नै चाहिन्छ। हिजो पार्टी एकता गर्दा सिद्धान्त र आदर्शका कुरा कहाँ थिए ? आज आपूmले खान पाइएन भन्दैमा बहुमतको सरकारलाई आफ्नै दलले घात गर्न मिल्छ ? कुनै समय थियो, सत्ताको लुछाचुँडीमा आजका प्रमुख प्रतिपक्षले बहुमत हुँदाहुँदै मध्यावधि गरायो। नेताको अहंकारले पार्टी दुई टुक्रासमेत भयो। परिणाम के भयो ? सबैका सामु छर्लंग छ। अन्ततः दुवै समूह नुन खाएको कुखुराजस्तै उँधो मुन्टो लगाएर मिल्न पुगे। यहाँसम्म आइपुग्दा प्रमुख प्रतिपक्षको अवस्था मरिच झैं चाउरिएको छ। जति हावा दिँदा पनि फुल्नुको साटो मरिच नै उडाउला भन्ने चिन्तामा छटपटिएको छ।

भनिन्छ– लोकतन्त्रले बाटो बिरायो भने राजनीतिक दलले त्यसलाई सही ठाउँमा ल्याउनुपर्छ। यहाँ त मुखले लोकतन्त्र भने पनि मनले अधिनायकवादी शैली अपनाउने काम भएको छ। समयले खुम्च्याएर मट्याङ्ग्रा भएकाहरू अहिले पनि पुरानै धङधङीबाट निस्किन सकेका छैनन्। जब थाहा पाउँछन्, समयले तिनलाई धेरै पर छाडिसकेको हुनेछ। आज नेपाली राजनीतिले हिङ बाधेको टालो देखाएर आत्मातुुष्टि लिँदैछ। नंग्राविनाको बाघ र विषविनाको सर्पको कुनै अर्थ छैन। आफ्ना पालामा सिन्को नभाँच्ने अरू कुर्सीमा पुग्दा देखिनसहने, यस्तो राजनीतिले मुलुक कतिबेला भड्खालोमा पर्छ भन्न सकिँदैन। अब एकले अर्कालाई दोष थोपरेर कोही चोखिने छैनन्। देश बनोस्–नबनोस्, कसैमा चासो देखिएन। चासो छ भने पद कसरी हत्याउने र पैसा कहाँबाट कमाउने ? यसरी नैतिकता र इमानदारीमा ह्रास आउँदा समग्रमा नेपाली राजनीति नै दुर्गन्धित भएको छ।

जसले जति आदर्शका कुरा गरे पनि अब नागरिक भ्रमित हुने छैनन्। २०५२ वा २०६३ साल पनि होइन, जहाँ नेताले भन्दैमा नागरिकले त्यसलाई गुरुमन्त्र मानिहाल्छन्। फेरि सिद्धान्तको लडाइँ भन्दै नेपाली–नेपालीबीच फुटाउने काम कसैले नगर्दा हुन्छ। को के हो भन्नेबारेमा अब लुकाएर लुक्दैन। जेएनयूमा पाएको गुरुमन्त्र जप्नेले र होलीवाइन सिञ्चित गर्नेले सिद्धान्त र क्रान्तिका कुरा गर्नु भनेको जग हसाउनुसिवाय केही हँुदैन। नागरिकसँग मतचाहिँ लिने, जवाफदेहिताचाहिँ हुनुनपर्ने भन्ने कहीं हुन्छ ?

यहाँनेर अमूक दल र अमूक पात्रको विरोध र समर्थन गरिएको होइन। भइरहेको यथार्थ प्रस्ट्याउन मात्र खोजिएको हो। सही र खराबको फरक छुट्ट्याउने सामथ्र्य नागरिकमा हुनुपर्छ। नेताको हामा हा भन्ने प्रवृत्तिले नागरिकको प्रतिनिधित्व गर्दैन। त्यो भनेको दासत्व चरित्र हो। नेताले पनि केही दासहरू अघिपछि लाएर सफलता हात पार्छु भन्ने भ्रम नपाल्दा हुन्छ। २००७ सालदेखि अहिलेसम्म सपना देखाउँदै भ्रम मात्र सिर्जना गरियो। अब सपना होइन यथार्थ चाहिएको छ। विनाश होइन विकास चाहिएको छ। त्यसैगरी पराधीन मानसिकता नभएर स्वतन्त्र देशका स्वाधीन नागरिकको पहिचान चाहिएको छ। वर्षौंदेखि स्वार्थकेन्द्रित राजनीति मुखरित भयो। प्रणाली लोकतान्त्रिक भए पनि हरिकंगालको नाम कुबेरबहादुर भनेजस्तै बनाइएको छ लोकतन्त्रलाई। पद मात्र सबैथोक होइन। पदभन्दा सेवा महत्वपूर्ण हो। देश र जनता पन्छाएर सत्ता मात्र उद्देश्य ठान्दा पात्र त सिद्धिन्छ नै, देशले समेत दुष्परिणाम भोग्नुपर्छ। उदाहरणका लागि विगत तीस वर्षमा लोकतान्त्रिक शासनको ऐना अगाडि उभिएर हेरे मात्र पुग्छ। त्यसैले समयभन्दा बलशाली न सत्ता हुन्छ न त सम्पत्ति नै।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.