प्रयोगशालामाथि प्रश्न ?

प्रयोगशालामाथि प्रश्न ?

कोरोना संक्रमणबारे पीसीआर परीक्षण गर्ने प्रयोगशाला खोल्ने होडबाजी चलेसँगै यसको गुणस्तरमा पनि समस्या देखिएको छ। संक्रमित ठानिएका केही व्यक्तिको प्रयोगशालापिच्छे फरक-फरक रिपोर्ट आएको छ। प्रयोगशाला खोल्न अनुमति दिने तर त्यहाँ भइरहेका गतिविधिबारे सम्बन्धित निकायले चासो नदिँदा परीक्षण गरिएका व्यक्ति मानसिक तनावमा परेका छन्। उनीहरूले अनावश्यक आर्थिक क्षति बेहोरिरहेका छन्। प्रयोगशालाको स्तरीयतामा उब्जिएका प्रश्नसँगै मुलुककै बेइज्जतसमेत भएको छ। सामाजिक सेवा ठानिएको स्वास्थ्य क्षेत्रमा देखिएको अति व्यापारीकरणका कारण यस्तो समस्या आएको हो । स्वास्थ्यजस्तो अत्यावश्यक सेवा प्रवाहमा निजी क्षेत्रलाई सहजै समावेश गराउने तर राज्यनियन्त्रित हुन नसक्दाको परिणाम पनि हो यो।

पछिल्ला दिनमा गरिएको पीसीआर रिपोर्ट नेपालमा नेगेटिभ आएको तर विदेशमा गएर पुन: परीक्षण गराउँदा पोजेटिभ आएका थुप्रै घटना सार्वजनिक भइसकेका छन् । यही विषयलाई लिएर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई हङकङ, जापान, यूएईलगायतका मुलुकले चेतावनीसमेत दिइसकेका छन्। स्वदेशी प्रयोगशालाको नेगेटिभ रिपोर्ट देखाएर उक्त एयरलाइन्सका यात्रु बनेकाहरूको रिपोर्ट गन्तव्यमा पुगेपछि नेगेटिभ आएको थियो। यसले एयरलाइन्सको बेइज्जत मात्र भएको छैन; यात्रु उडाउन नपाउँदा करोडौं रुपैयाँ क्षतिसमेत बेहोरिरहेका छन्। विश्व नै कोरोना महामारी नियन्त्रणका लागि सामूहिक रूपमा लागिरहेका बेलामा परीक्षणमै त्रुटि देखिनु चरम लापरबाही हो। कसको कमजोरीका कारण यस्तो भयो भन्नेतर्फ गम्भीर अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउनुपर्छ। गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। 

राजधानीमा नाम चलेका अस्पतालका प्रयोगशालामै यस्तो समस्या आएको छ। परीक्षणमा हेलचक्र्याईं गरेर आफूहरूको स्वास्थ्यमा खेलबाड गरेको भन्दै कतिपय अस्पतालमा पीडितहरूले तोडफोडसमेत गरेका थिए। संघीय राजधानीका प्रयोगशालाको त यस्तो हविगत छ भने उपत्यकाबाहिरको हालत कस्तो होला? परीक्षणमा देखिएको लापरबाहीले संक्रमण फैलिने जोखिम पनि बढाएको छ। विश्वलाई नै आक्रान्त पारेको कोभिडसँग जुध्न सरकारले सबै बल खर्च गरिरहेको अवस्थामा जसरी पनि पैसा मात्रै कमाउने स्वार्थबाट प्रेरित भएर संक्रमितको परीक्षणमै खेलबाड गर्ने प्रयोगशालालाई कुनै पनि हालतमा छाड्नु हुँदैन। स्वाब संकलन गरेर परीक्षण नै नगरी प्रयोगशालाहरूले रिपोर्ट दिने गरेका हुन् कि भन्ने आशंका पनि जनमासमा उब्जिएको छ। यो आशंका निवारण गर्न प्रयोगशालाको गुणस्तर परीक्षण गरिनुपर्छ। गल्ती गर्नेलाई भविष्यमा उठ्नै नसक्ने गरी दण्ड-सजायको व्यवस्था हुनुपर्छ, ताकि अन्य प्रयोगशालाले पनि यस्तै कैफियत गर्ने आँट गर्न नसकून्। 

हुन त नयाँ भाइरस भएका कारण कोरोनाका विषयमा यो मात्रै सत्य हो भन्ने ठहर गर्न मुस्किल छ। व्यक्तिअनुसार यसको लक्षण बदलिरहने र प्रभाव पनि फरकफरक हुने भएकाले स्वाब संकलन गरिएका व्यक्तिले दुइटा प्रयोगशालामा स्वाब दिँदा समय पनि फरक हुने भएकाले दुईथरी रिपोर्ट नआउला भन्न सकिँदैन । तर प्रयोगशालाहरूमा देखिएको अति व्यापारीकरणका कारण उनीहरूले गलत नगर्लान् भन्न सक्ने अवस्था पनि छैन। किनकि सरकारले तोकेभन्दा बढी शुल्क लिने, उपचार गराउँदा लागतभन्दा बढी देखाएर सरकारलाई बिल पेस गर्नेलगायतका हर्कतका कारण उनीहरूले आफूप्रति शंका गर्न प्रशस्तै आधार दिएका छन्। अहिलेका समस्या समाधान गर्न प्रयोगशालाको नियमित अनुगमन हुनुपर्छ। परीक्षणका लागि स्वाब संकलन गरेपछि कति समयसम्म उक्त स्वाब भण्डारण गरेर राख्ने भन्ने यकिन हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.