सिन्धुलीको गोलन्जोरमा कोभिड अस्पताल
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पनि सुविधा सम्पन्न कोभिड–१९ युनिट अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गाउँपालिकाले कोभिड अस्पताल संचालनमा ल्याइएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरेको स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल संचालन मार्गदर्शन २०७७ बमोजिम अस्पताल संचालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले जनाए ।
‘गाउँपालिकाले ग्वाल्टार स्वास्थ्य चौकीलाई पाँच बेडको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा बिस्तार गरेर संचालनमा ल्याएको छ,’ कार्कीले भने । गत असोज १ गते गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार अस्पताल स्थापना गरेर दक्ष स्वास्थ्यकर्मी बाट सेवा प्रवाह गरिएको कार्कीले थपे ।
अस्थायी अस्पतालमा सेवा लिन आउने कोभिड –१९ का संक्रमीत बिरामिलाई गाउँपालिकाले सबै उपचार खर्च निशुल्क गर्ने समेत निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमितहरुको उपचार गाउँपालिकाले नै गर्ने छ । अन्य बिरामीको हकमा ल्याब तथा औषधिको सरकारी दररेटमा उपचार हुनेछ ।’
संघीय सरकारले कोरोना संक्रमितहरुको परीक्षण र उपचार निशुल्क नगर्ने जनाएपछि गाउँपालिकाले संक्रमण देखिएको क्षेत्रमा परीक्षणलाई तीब्र बनाएको र संक्रमितको उपचार निशुल्क गर्ने वयवस्था मिलाएको उनको भनाइ छ ।