अपहरणपछि विद्यार्थीको हत्या प्रकरणका योजनाकार आठ वर्षपछि पक्राउ
बर्दिबास : अपहरणपछि विद्यार्थीका निर्मम हत्या गर्ने योजनाकार ८ वर्षपछि महोत्तरीको सीमानाका क्षेत्रबाट पक्राउ परेका छन् ।
महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलियाका जीवच्छ अन्सारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
प्रहरीको विशेष टोलीले उनलाई जलेश्वर नगरपालिका–३ स्थित सीमा नजिकैबाट नियन्त्रणमा लिएको हो । ‘अन्सारीमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र नक्कली प्रमाण पेश गरेर नागरिकता लिएको तीन उजूरी परेको छ,’ डीएसपी विष्टले भने ।
पोल खुल्ने डरले हत्या
४ चैत्र, २०६९ सालमा सोनमा गाउँपालिका–१ सुन्दरपुरका २२ वर्षीय पंकज यादवलाई अन्सारीको समूहले अपहरण पश्चात परिवारजनबाट ७ लाख फिरौती लिएका थिए ।
‘आफ्नो समूहको पोल खुल्ने डरले अपहरणपछि पंकजको छुराले गर्दन रेटेर उनको हत्या गरेका थिए,’ डीएसपी विष्ट भन्छन्,‘ उनीहरुले आँखामा कालोपट्टी बाँधेर मुख थुनेर विद्यार्थीको हत्या गरे ।’
फिरौती असुलीपछि पोल खुल्ने डरले अन्सारीको समूहले उनको हत्या गरे ।’ सुन्दै आंग सिरिङ्ग हुने घटनामा पक्राउ परेका अन्सारी योजनाकार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
फिरौतीले पनि ज्यान बचेन
२०६९ साल तिर पंकज जनकपुरको पिडारी चौकमा कोठा भाडा लिएर कक्षा १२ मा पढ्थें । उनी गाउँका अरु भन्दा सम्पन्न परिवारका नै थिए । राजनीतिक अस्थिरतासँगै मधेसमा सशस्त्र हतियारधारी समूह सलबलाएको थियो । त्यस बखस्तै अन्सारीको समूहले पंकजलाई बन्धक बनाएर फिरौती उठाउने योजना बनाए ।
जलेश्वर घुम्न जाँउ भनेर अपराधीले उनलाई कोठाबाट अपहरण गरेका थिए । पक्राउ परेका प्रतिवादी अन्सारीसहितको समूहले मृतक पंकजका बुवा श्याम राय यादवसँग २०६९ चैत्र १० गते सात लाख नगद फिरौती लिए । सिरहाको लक्ष्मीपुरस्थित कमला नहरमा श्यामलाई बोलाई फिरौती असुलेका थिए ।
घरबाटै अपराध
पंकजको अपहरण तथा हत्या घटनामा ६ जना सहभागी थिए । सिरहाको अर्नमाका गणेशकुमार सिंह महतो, धनुषाको भरतपुरका कुशेश्वर ठाकुर, सखुवा महेन्द्रनगरको विक्रु भन्ने कृष्णा कुमार पुर्वे, ठेगाना नखुलेका राजु सिंह र श्याम मिश्रासहित अन्सारीले पंकजको अपहरण पश्चात निर्मम हत्या गरेका थिए ।
जलेश्वर नगरपालिका–४ स्थित अन्सारीले आफ्नै घरबाट अपराधी समूह चलाउँथें । त्यहीबाट पंकजको अपहरण गर्ने योजना बनेकोे थियो ।
खोलामा हत्या
फिरौती असुलीपछि पोल खुल्ने डरले उनीहरुले महोत्तरीको अंकारस्थित रातु खोलाको वगरमा लागि हत्या गरेका थिए । मुखमा पट्टी लगाई सारीले घाँटी कसेर पक्राउ परेका अन्सारीले ल्याएको छुराले घाँटी रेटी पंकजकोे हत्या गरिएको थियो । कोदालोले खाल्टो खनी उनको शवलाई खोलामै गाडेर उनीहरु फरार भएका थिए ।
महोत्तरी जिल्ला अदालतको २०७२ जेष्ठ १८ गतेको फैसला अनुसार अन्सारीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार जरिवना गरिएको थियो । पक्राउ परेका अन्सारीले झुठ्ठा विवरण पेश गरेर २०५१ सालमा नेपाली नागरिकता लिएको भन्ने उजुरी पनि परेको थियो । उनी पक्राउ परेपछि त्यस विषयमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
तीन जना अझै फरार
घटना लगतै दुई आरोपी पक्राउ परेका थिए । पंकजको घटनामा संलग्न प्रतिवादी मध्येका विक्रु भन्ने कृष्णा पुर्वे र कुशेश्वर ठाकुर पक्राउ परेका थिए । कर्तव्य ज्यान मुद्दामा सर्वश्व सहित जन्मकैद, अपहरण तथा शरीर बन्धक लिने मुद्दामा पुर्वेमाथि १७ वर्ष कैद र अन्सारी बमोजिमकै जरीवाना गरिएको थियो । उनी हाल सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
अर्का प्रतिवादी ठाकुरको हकमा कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद सजाय, अपहरण तथा शरीर बन्धक लिने मुद्दामा १२ वर्ष कैद र दुई लाख ३८ हजार २८५ रुपैंया जरीवाना महोत्तरी अदालतले फैसला सुनाएको थियो । ठाकुर मकवानपुरस्थित भिमफेदी कारागारमा कैद छन् ।