छठीमाई को हुन् ?

छठीमाई को हुन् ?

धर्म र भक्तिको मामलामा विश्वास र आस्था नभइनहुने भावना र आधार हुन्। यी दुईविना ब्रह्मतत्व अनुभूत हुन सक्दैन। साथै ईश्वरीय शक्तिबाट प्राप्त हुने आशीर्वादसमेत प्राप्त हुँदैन होला किनभने याचकको आवश्यकता र अभिरुचिबारे ईश्वरलाई पनि त जानकारी हुनुपर्‍यो। हामीले विश्वास त गर्नुपर्छ तर जुन ईश्वर र ईश्वरीय शक्तिका अवतारको विश्वास गर्नुका साथै भक्ति गर्छौं। यसबारे पनि सोध खोज हुन अनि उनीबारेका रहस्य, योगदान उनीहरूले निर्दिष्ट गरेका मार्ग जान्न पनि त्यत्तिकै आवश्यक हुन्छ। यी अवतारका आदर्श र उनीहरूले हाम्राउपर गरेका कल्याण कार्य र निर्दिष्ट मार्गनिर्देशनबारे लिपिबद्ध गरेर राख्नु पनि हाम्रै दायित्व हो।

वैदिक सनातनीहरूको संस्कृतिमा छठमाताको व्रत र भक्तिको ठूलो महिमा छ। सन्तान र इच्छित वरदान प्राप्तिका लागि तराईका जिल्लामा छठी माताको उच्च श्रद्धाका साथ व्रत उपवास गरिन्छ भने हिजोआज काठमाडौंलगायतका अन्य पहाडी जिल्लामा पनि यो व्रत गर्ने चलन बढ्दो छ। पहाडी जिल्लामा प्रत्येक महिनामा दुईपटक पर्ने षष्ठी तिथिमा मातालाई प्रसन्न गर्न यो व्रत भक्तहरूले आआफ्नो शारीरिक क्षमता र शक्तिअनुसार गर्ने गरेको पाइन्छ। तराईका जिल्लामा कात्तिक महिनाको भाइटीकापछिको अर्थात् कार्तिक शुक्ल पक्षको चौथी, पञ्चमी र षष्ठी तिथिमा तीन दिनसम्म लिने गर्छन् भने कसैले पञ्चमीको दिनभरि निराहार व्रत गरी साँझपख साठा चामलको खिर प्रसादका रूपमा मातालाई चढाएर खाने चलन छ। यसलाई खर्ना भनिन्छ। यो दिन आफ्ना इष्टमित्र, चेलीबेटी र आफन्तलाई समेत निम्ता गरेर प्रसाद खुवाउने चलन छ।

षष्ठीका दिन बिहानै नुहाइधुवाइ गरी दिनभरि पानीसमेत नखाई व्रत गरिन्छ भने कसैले पञ्चमीका दिन खर्ना नगरी छठको दिन मात्रै निराहार व्रत पनि गर्ने गर्छन्। यसरी व्रत गर्दा साँझपख कुनै नदी वा पोखरीका किनारमा गई माटो अथवा बालुवाको आकृति बनाई त्यसलाई माता मानेर पूजा गरिन्छ। यो पूजामा मुख्य गरी अस्ताउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिइन्छ। रातभरि भक्तजनले भजनकीर्तन गर्छन्। बिहानपख उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पूजा समाप्त हुन्छ। मातालाई चढाइने प्रमुख प्रसादका रूपमा विशेष तरिकाले तयार पारिएको गहँुको पिठो, भेली र मसला मिसाएर पकाएको रोटी हो, जसलाई ठेकुवा भनिन्छ। ठेकुवाका साथै काँचो केरा, पाकेको केरा, निबुवा, नरिवल, बतासा, केराउ र साठा चामलको अक्षता चढाइन्छ। यो पूजामा केसरी चढाइँदैन बरू काँचो हलेदो र साठा चामल पिसेर बनाइएको विशेष प्रकारको लेप र सिन्दूर चढाउने गरिन्छ।

सन्तान र इच्छित वरदान प्राप्तिका लागि गरिने छठी माताको व्रत उपवास बस्ने चलन पछिल्ला वर्षमा काठमाडौं र अन्य पहाडी जिल्लामा पनि बढ्दो छ।

यस्ती सबैद्वारा विशेष सम्मान र श्रद्धा प्राप्त गर्ने देवी को हुन् त ? यिनको प्राकट्य कसरी भयो भन्नेबारे श्रीमद्देवीभागवत महापुराण द्वितीय खण्डमा दुईथरीको कुरो उल्लेख छ। षष्टीदेवी भुवनेश्वरी देवीको अर्थात् ब्रह्मको मूल प्रकृतिको छैटौं अंशबाट प्रकट भएकी हुनाले उनलाई षष्टीदेवी अर्थात् छठ माता भनिएको हो। यी बालकहरूकी अधिष्ठात्री देवी हुन्। यी देवी विष्णुमाया, बालकको विशेष रक्षा गर्ने भएकीले बालदा, देवताकी सेनापति भएर रक्षा गरेकीले देवसेना र देवताको रक्षार्थ इन्द्रको सेनापति भइदिएकीले उनी इन्द्रसेना नामले पनि विख्यात छिन्। यी देवीका स्वामी कुमार कार्तिकेय अर्थात् षडानन हुन्। देवीभागवत द्वितीय खण्ड महापुराण ४६ अध्यायमा यी देवीले बालकको पालनपोषण गरेर उनीहरूको रक्षा गर्ने र दीर्घायु बनाउने गर्छिन्। यी सिद्धयोगिनी देवी आफ्नो योगबलले सदा बालबालिकासित विराजमान भएकी हुन्छिन्। उनका बारेमा सबैभन्दा पहिले धर्मदेवले भनेका थिए।

यिनलाई ब्रह्माले मनोयोगबाट रचेकाले यी ब्रह्माकी मानसपुत्री हुन् भनिएको छ। यी देवी शुद्ध स्फटिक मणिजस्तो चम्किने बहुमूल्य रत्नबाट निर्मित विमानमा सवार हुन्छिन्। श्वेत चम्पाजस्ती गोरी वर्णकी, नित्य नवयौवना, अपार मुस्कान र सिद्धयोगिनीजस्तो देखिन्छिन्। उनी गृष्मकालीन मध्यान्हकी सूर्यजस्ती देदिप्यमान छिन्। उनले देवासुर संग्राममा देवताहरूको सेना बनेर दानवहरूको बध गर्न उनीहरूलाई सहयोग गरेकी थिइन्। यसरी आफ्नो अपार शक्तिद्वारा देवतालाई विजयी बनाएकी दिइन्। उक्त युद्धमा यी देवीदेवताका राजा इन्द्रकी सेनाको सेनापति भएकीले उनलाई देवसेना पनि भनियो। यी समस्त मात्रिकामा श्रेष्ठ हुन्। उनका बारेमा कौथुम शाखामा पनि वर्णन पाइन्छ। यिनको मूल मन्त्र ‘ऊ ह्रीं षष्ठी देव्यै स्वाहा’ हो। यो स्तोत्र सामवेदमा पनि छ। अर्थात् यो वैदिक मन्त्र हो भनेर नवम स्कन्ध अध्याय १ श्लोक ७७, ७८ र ७९ मा प्राप्त गर्न सकिन्छ।

यिनलाई मनसादेवी पनि भनिएको छ। सोह्रौं अध्यायको श्लोक ७१, ७२ र ७३ मा मनसादेवीलाई कश्यपपुत्री र शिव शिष्या भनिएको छ। यिनी शेषनागकी बहिनी हुन्। यिनी नागमा चढ्ने भएकीले यिनलाई नागमाता भनिएको रहेछ। यिनको सय्या नाग हो। यिनीलाई योगसिद्धिहरूको साक्षात् मूर्ति भनिएको छ। यिनलाई मन्त्रहरूको अधिष्ठात्री पनि भनिन्छ। यिनको शरीर ब्रह्मतेजले देदिप्यमान रहन्छ। यिनले सधैं ब्रह्मचिन्तन गरिरहने भएकीले यिनलाई ब्रह्मस्वरूपा पनि भनिन्छ। यिनी विशुद्ध चिन्मय वस्त्र धारण गर्छिन्। यिनी महाज्ञानवती र स्वयंसिद्ध तथा सिद्धाधिष्ठात्री हुन्। वेदवीज ब्रह्माले मनोयोगबाट जन्माइएकी हुनाले मनसादेवी नाम पर्न गयो। द्वितीय खण्ड, नवम स्कन्ध, अठ्चालीस अध्याय, श्लोक ११, १२, १३ श्रीमद्देवी महापुराणमा यसमा पनि केही भिन्नता पाइन्छ। कश्यपपुत्री मनसादेवी र षष्टीदेवी एकै व्यक्तित्व होइनन्। किनभने षष्टी देवी परब्रह्म भुवनेश्वरी देवीको मूल स्वरूपको छैटौं अंश हुन्। उनीलाई ब्रह्माको मानसपुत्री पनि भनिएको छ र उनका स्वामी कुमार कार्तिकेय हुन्। उनी अयोनिजा हुन् भने मनसादेवी कश्यप ऋषिकी पुत्री हुन् र जरतकारु ऋषिकी अर्धांगिनी हुन्। तसर्थ यी दुई व्यक्तित्व फरक हुन् भन्ने स्पष्ट हुन्छ। बरू कश्यप ऋषिले उनको नामबाट आफ्नी कन्याको नामाकरण गरेका थिए भन्दा उपयुक्त हुन्छ।   

राजा प्रियव्रत र उनकी रानी मालिनीबाट यो व्रत र पूजाको सुरुवात भएको श्रीमद्देवीभागवत महापुराणको नवम स्कन्ध अध्याय ४६ मा उल्लेख छ। वर्षौंको कठोर तपस्या गरेका प्रियव्रत पिताको आज्ञाअनुसार गृहस्थि र राज्य सञ्चालनका लागि घर फर्किन्छन् र राजकुमारी मालिनीसित परिणयसूत्रमा बाँधिन्छन्। केही वर्षपश्चात् उनीहरूलाई पुत्र प्राप्ति हुन्छ। सन्तान प्राप्तिको खुसी नपाउँदै बालकको मृत्यु हुन्छ। साहै्र दुःखी भएर राजाले उसको अन्तिम संस्कार गरिरहेका बेला आकाशबाट एउटा विशाल ज्योति पुञ्ज त्यहाँ आएर बस्छ। त्यो विमानबाट षष्टीदेवी अवतरित हुन्छिन्। राजारानीले त्यो बालकलाई जीवित बनाउन उनीसित अनुरोध गर्छन्। उनीहरूका पीडामा मलम लगाउन सहानुभूति दिन्छिन्। साथै मृतकायलाई पुनर्जीवन प्रकृतिविरुद्ध भएकाले उनीहरूको आग्रह पूरा नहुने भन्छिन्। बरू उपायस्वरूप उनको व्रत गरेमा सन्तान प्राप्त हुने राजारानीलाई सल्लाह दिन्छिन्। त्यसपछि राजा प्रियव्रत र रानी मालिनी दरबार फर्किएपछि व्रत गर्न सुरु गर्छन्। व्रतको प्रभावले उनीहरूलाई सन्तान प्राप्ति भयो। त्यसपछि ती राजारानीले कसैले दुःखकष्ट भोग्न नपरोस् भनी छठ व्रतबारे सबैलाई जानकारी दिएको श्रीमद्देवीभागवत महापुराणमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.