ट्राफिक नियम समेटिएको भिडियो सार्वजनिक
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम समेटिएको भिडियो सार्वजनिक गरेको छ ।
ट्राफिक महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो । भिडियोमा नृत्यसमेत ट्राफिक प्रहरीले नै गरेका छन् ।
गीतमा २५ वटा ट्राफिक नियम समेटिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।
गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोगलगायतका ट्राफिक नियम समेटिएका छन् ।
सरोज ओली र एलिना चौहानको स्वरमा सजिएको गीतको नृत्य कोरियोग्राफर मनराम केसी हुन् । भिडियोको निर्देशन तथा छायाङ्कन प्रकाश भट्टले गरेका हुन् भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।