तालीको परिभाषा
‘योआक्रोशको युग हो’, पंकज मिश्र लेख्छन्,। मानिस मानिससँगै आक्रोशित छ। एउटा समुदाय अर्को समुदायसँग अनि एउटा देश अर्को देशसँग। मानिस आक्रोशको यो उचाइमा सायदै पुगेको थियो। फरक विचारप्रति आक्रोशित छ, फरक राजनीतिक आस्था, फरक धार्मिक आस्था, फरक राष्ट्रियता सबैप्रति आक्रोशित छ। आक्रोश, घृणा र रिसको यो चरमोत्कर्षमा एउटा भरपर्दो साथी हुनु, अझै त्यो साथी मानवतावादी कवि हुनुभन्दा ठूलो संयोग केही हुन सक्दैन। विश्व सिग्देल एउटा भरपर्दो साथी र हृदयको गहिराइसम्म मानवतावादी कवि हुन्। जस्तो कि भारतको हेपाहा प्रवृत्तिविरुद्ध बोल्दछ कवि। एउटा सार्वभौम देशले आफ्नो देशको संविधान लेख्दा अर्को देशबाट भएको अपमान र नाकाबन्दीविरुद्ध आक्रोश बोलेको छ, ‘भारत सरकार’ कविताले।
१९५० पछि
मान्छे बाँच्न खोजेको हुँ...।
आफ्नै सीमाभित्र आफ्नो भूगोल हराएको रित्तोपनको चित्र कोरी बस्छ कवि। पुरानो घाउको खिल बल्झिएर पाकेपछि बेस्सरी दुख्छ। हेपिएर, दबिएर बाँच्दा–बाँच्दा बाँच्नै बिर्सेका नेपालीले आफ्नै आवाज भेट्छन् यी शब्दमा। कविताले पाठकको मनमा कविको एउटा चित्र तयार गरेन भने त्यस्ता कवितालाई किन कविता भनिरहनु ? कविले निर्माण गरेका दार्शनिकीविरुद्ध जब कवि बाँचिदिन्छ, त्यति बेला संसारकै सबैभन्दा कुरूप कविता लेखिन्छ। जब कविताको आदर्श र कविको जीवनीमा थोरै मात्र पनि साइनो भेटिन्न, त्यसपछि त्यही आदर्श एउटा अश्लील चुट्किलाजस्तो लाग्न थाल्छ।
कवि विश्वका कविता र उनको जीवनका आदर्श बाझिएको भेटिन्न। यो नै एउटा सुखद संयोग हो। अहिले उनको वरिपरि सानो ब्रह्माण्ड छ, जसको ऊ घाम हो र कविता त्यही घामको अन्तर्यमा रहेको एउटा गाढा छाया। तर पनि त्यही अँध्यारो अन्तर्यबाट उठेका उनका शब्दहरूले अँध्यारैविरुद्ध निर्मम प्रहार गरिरहेका छन् :
छप्प–छप्प बहनाले
आकाश काटेर जोड्दै
मध्यरात चन्द्रमालाई
जाल हानिरहेछ माझी...
जति नै जाल हाने पनि चन्द्रमालाई रोटी कसैले बनाउन सकेको छैन आजसम्म। यस्ता लाखौं माझीको झुपडीमा न घाम आउँछ न जून। संसार तार्ने तर आपूm डुब्नेहरूका लागि आफ्नो आवाज दिइरहेका कवि विश्वको आवाजको कोलाज हो, तालीको समाजशास्त्र। यहाँ शब्दहरू चिच्याई चिच्याई बोल्छन्। तालीको समाजशास्त्र एउटा बागी चेतना हो। चेतनाको उच्चतम बिन्दुमा जब कोही बोल्दछ, त्यो कविता बन्दछ। ऊर्जाशील र सिर्जनशील विगतले धेरैै कविता लेखाएर गए :
एउटै कोठामा बा सुत्छन् र म सुत्छु
मेरो पढ्ने बेला बाको
सुत्ने बेला हुन्छ
बाको उठ्ने बेला
मेरो पढ्ने बेला हुन्छ
बा उज्यालोमा सुत्न सक्दैनन्
म अँध्यारोमा पढ्न सक्दिनँ...
निम्नमध्यम वर्गीय परिवारमा जन्मिएको मानिसको मनोदशा र वर्गीय चेतनाको यो कविता साथीमाझ चर्चित थियो। कवितालाई प्रेम गर्ने विश्वले सधैं कविताको एउटा पवित्र तस्बिर बनाइरहे। बजारले तोकेको भगवान् मान्न इन्कार गरिरहे। कवितामा आगो भएन भने त्यो कविता नै होइन भनिरहे। कवितामा विद्रोहको ताप भर्न हरदम जुटिरहे र बजारबाटै अलप भए। बजारले आगो होइन, स्तुतिगान खोज्छ। कवि तालीको समाजशास्त्रीय चिन्तन गर्छन् र भन्छन् तालीको आँखाको हुँदैन । शब्दका आवाजहरू हजारौं पटक लिटिल ब्वाय वा फ्याट म्यान जसरी विस्फोट हुँदा पनि सहरले सुनेन। अब पनि सुन्ने छैन। त्यसैले अब सत्ताले कविता लेख्छ र भीडले भाका हालेर गाउँछ। तर सत्ताले हम्मेसी बुझ्दैन कि :
अन्धो
विल्कुल अन्धो हुन्छ ताली...।
ताली बजाउन अभ्यस्त हातहरू आफैंविरुद्ध लेखिएको जाली तमसुकलाई कविता मानेर ताली बजाइरहेछन्। ती जो अझै ब्यूँझिएका छैनन् हजारौं वर्षदेखिको निद्राबाट, ती अझै पनि अन्धो तालीको ध्वनिलाई मीठो संगीत ठानेर निदाइरहेछन्। वास्तवमा तालीमा विशाल शक्ति हुन्छ। सहरको निर्मम चेतनाले चिन्दैन आउटसाइडरलाई। मृत्युको ओडारजस्ता गल्लीहरूमा मरिसकेका छन् समवेदनाका सबै इन्द्रिय। माटोकै गीत गाइरहने, माटोकै सपना देखिरहने एउटा कवि बाँचिरहेको छ अक्षरका खेतहरूमा। तैपनि कविहरू कसका लागि कविता लेख्छन् सहरमा बसेर ? प्रश्न छ, तालीको समाजशास्त्रमा :
तिमी कान्लामा लेख्थ्यौ,
फट्यांग्राले पढ्थे
ड्याङमा लेख्थ्यौ, गँड्यौला पढ्थे
धान पाक्दा सबले नाभो भने
अग्ला बालालाई
ती तिम्रा कविता थिए
तर कवि
कसका लागि सहरमा तिमी
कविता लेख्छौ ?
सहर पसेपछि छुटिगए रूख, पात, खोला, खहरे, चरा, चेपागाँडा र गँड्यौला र छुटिगयो कविता पनि। सहरमा न पँधेरो छ न पानी। बस् रोकिँदै चल्दै गरेको जिन्दगानी छ सहरमा। तालीको समाजशास्त्र प्रश्नहरूको लस्कर लिएर आउँदा जब विचार ओरालो लाग्छ तब सारा मानिस एउटै राग अलापिरहन्छन्। आज दृश्यबाट विचार गायब छ। मालिक छन् र छन् दासहरू तर छैनन् प्रश्नहरू। त्यसपछि प्रत्येक गाली गीत बन्छन्। प्रत्येक आवाज ताली बन्छ। वास्तवमा तालीले आँखा देख्दैन। त्यसपछि त सारा मानिस एउटै लयमा बस् बजाइरहन्छन् ताली। कवितामा मानिसका लागि चेतनाका रागहरू भरिरहने दु :खी मानिसको नाम नै कवि हो। माथि बस्नेहरूले भुइँमा बस्नेहरू सबैलाई बराबर देख्ने गर्छन्। तर घाम पनि अँध्यारै बोकेर आउँछन्, लाखौं मानिसको जीवनमा।
हामीलाई थाहा छ
थाहा नपाएर बाँच्न सजिलो छ
थाहा पाएर बाँच्न गाह्रो...
यसरी हाकाहाकी बराबरीको माग गर्नु मुस्किल छ तर पनि अप्ठ्यारो बाटो किन हिँडिरहन्छ कवि ? किन कविलाई सजिलो गरी बाँच्न मन लाग्दैन ? थाहा पाएपछि युगीन पीडालाई गीत बनाइछाड्छ र बाँच्नुलाई झन् कठिन बनाएर बाँचिरहन्छ।
विश्व कविताहरूमा बिम्बहरूको निर्माण र प्रयोगले कायल पार्छन्। उनका कविताको सामर्थ्य उनले निर्माण गरेका नवीन बिम्ब र तिनले विनिर्माण गरेका भाष्यहरू हुन्। विश्वव्यापीकरणको नाममा पश्चिमा देशहरूले निर्माण गर्दै गएका आर्थिक उपनिवेशका बाछिटाहरू उनले देखिसकेका छन् र त्यसको विरोधमा उभिएका छन्। जेलिएका मानव सम्बन्ध, समस्या, अपूरा सपना र आशाहरूका साथै अर्थोपार्जनका दु :खहरू नै तालीको समाजशास्त्रका विराट् विषयहरू हुन् :
तिमीलाई देख्दा
हाम्रो समयका धेरै बिर्सनलायक
तस्बिर याद आउँछन्
र, तिमीलाई देख्नु
झन्झन् अनिवार्य लाग्छ मलाई।