संकटमा पाल्पाली ढाका

संकटमा पाल्पाली ढाका

तानसेन : कोरोना महामारीले पाल्पाका ढाका उद्योग संकटमा परेका छन्। उत्पादित सामग्रीको बजारीकरण नभएपछि उद्योग संकटमा परेका हुन्। उद्योग संकटमा पर्दा त्यसमा आस्रित ८० प्रतिशत मजदुरको रोजिरोटी खोसिएको छ।

२०१५ सालदेखि देशकै नमुना उद्योगको रुपमा स्थापित पाल्पाली ढाका कपडा उद्योग यतिखेर कोरोना संक्रमणका कारण धराशायी हुने अवस्थामा पुगेका छन्। पर्यटन व्यवसाय ठप्प भएपछि पाल्पाली ढाका व्यवसाय प्रभावित भएको हो। कोरोना संक्रमणको जोखिमले यातयात, पसल, उद्योगधन्दा बन्द हँुदा पाल्पाली ढाका उद्योग तथा व्यवसाय पनि धराशायी हुने अवस्थामा पुगेको हो। 

कोरोना संक्रमणले ढाकाको व्यापार व्यवसाय बन्द भए पनि कामदारले दूरी कायम उद्योगमा उत्पादन गर्दै आएका थिए। उत्पादित कपडा बिक्री नभएपछि स्टोर भरिभराउ छ।  ‘चैतदेखि एक पैसाको ढाका बिक्री भएको छैन। कामदारलाई ऋणधन गरेर ज्याला दिएका छौं तर उत्पादित वस्तु बिक्री नभएपछि उद्योग नै बन्द गरी कामदारलाई विदा गर्नुपरेको छ’, सरस्वती ढाका उद्योगका प्रोपाइटर हरि रायमाझीले बताए।  

पाल्पाली ढाका स्वदेशमा मात्र नभइ विदेशमा पनि लोकप्रिय छ। पाल्पामा आउने  पर्यटकको पहिलो रोजाइ नै पाल्पाली ढाका हुन्छ। पाल्पा आउने पर्यटकले कोसेलीको रुपमा  ढाका कपडा तथा चोलो, खास्टो, टोपी, ब्याग, पछ्यौरा लैजाने गर्छन्। चैतदेखि असारसम्म ४ महिना पूर्णरुपमा ढाका पसल बन्द भयो। साउनमा पसल खोले पनि पर्यटकको आवतजावत ठप्प हुँदा एक पैसाको व्यापार नभएको कार्की ढाका उद्योगकी प्रोपाइटर ज्ञानु कार्कीले बताइन्। 

पाल्पाली ढाका उद्योगमा १ हजार ५ सयभन्दा बढीले काम गर्दै आएकोमा अहिले ८० प्रतिशत कामदारले रोजगारी गुमाएका छन्। ढाका बुनेर जीविकोपार्जन गर्दै आएका अधिकांश महिला कामबिहीन भएका छन्। ढाका व्यवसाय पर्यटनमा आधारित व्यवसाय भएकाले चैतदेखि भदौसम्म व्यापार भएको छैन। कोरोना संक्रमणको समयमा ढाकाको माक्स मात्र बिक्री भएको र अन्य सरसामान बिक्री नभएको मदनपोखरा ढाका पसलकी सञ्चालिका शितम भण्डारीले बताइन्। विगतमा वार्षिक ५०÷६० लाखसम्म कारोबार हुँदै आएकोमा पाँच महिनाको अवधिमा पसल भाडा तिर्न समेत धौधौ भएको ढाका व्यवसायी भण्डारीले बताइन्। 

पाल्पामा २०१५ सालदेखि ढाका उद्योग सञ्चालनमा छन्। स्वर्गीय गणेशमान महर्जनले पाल्पामा ढाका उद्योग सञ्चालनमा ल्याएका थिए। पाल्पामा हाल दुई सयभन्दा बढी महिला उद्यमीले ढाका उत्पादन गर्दै आएका छन्। ढाका व्यवसायलाई देशकै प्रमुख उद्योगको रुपमा स्थापित गर्दै विदेशमा समेत निर्यात गर्ने उद्देश्यले यूनडीपीको सहयोगमा करिब ६ करोडको लगानीमा तानसेन नगरपालिकाले सुरु गरेको परियोजनासमेत कोरोना संक्रमणका कारण अगाडि नबढेको तानसेन नगर प्रमुख अशोककुमार शाहीले बताए।  ‘घरमा बस्दा मानसिक तनाव बढ्यो। लकडाउनपछि पसल खुल्यो तर व्यापार भएन। बत्ती कातेर दिन बिताएँ। अहिले पुनः पसल बन्द भयो, के गरेर खाने हो ? कसरी परिवार पाल्ने हो ?’ ढाका उद्यमी सरस्वती भट्टराईले बताइन्। 

तानसेन, अर्गली, मदनपोखरा क्षेत्रमा रहेका ढाका उद्योग अहिले पाल्पाका १० वटै पालिकासम्म पुगेका छन्। घरमै बसीबसी सञ्चालन भएका कपडा उद्योग कोरोना संक्रमणले धराशायी बन्दै गएका छन्। ढाकाको सरसामान बेचेर जीविकोपार्जन गर्दै आएकी रामपुरकी सविता रानालाई अहिले काम नहुँदा घरखर्च चलाउन कठिन छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.