इजरायलमा ६ महिनादेखि सरकार विरोधी प्रदर्शन
जेरुसेलम : इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध शनिबार राति पनि विशाल प्रदर्शन भएको छ ।
महिनौँदेखिको आन्दोलनलाई निरन्तरता दिन शनिबार राति पनि हजारौँ प्रदर्शनकारी चिसो मौसमको बावजुद रातको समयमा प्रदर्शनमा उत्रिएका थिए । अरु केही हजार मानिसहरु जेरुसेलमस्थित नेतान्याहुको कार्यालय अगाडि प्रदर्शन गरिरहेका थिए । इजरायलमा नेतान्याहु विरुद्ध पछिल्लो ६ महिनादेखि नै आन्दोलन जारी छ ।
पछिल्लो समय चिसो मौसम र केही भागमा वर्षाको बावजुद साना आयोजक संस्थाको आह्वानमै हजारौँ नागरिकले प्रदर्शनमा भाग लिएका छन् । कोरोनाभाइरस संकट समाधानमा गम्भीर नदेखिएको र भ्रष्टाचारको आरोप लागेकाले नेतान्याहुले तत्काल राजीनामा दिनुपर्ने आन्दोलनकारीको माग छ । इजरायलमा पछिल्लो समय उत्पन्न संकटले गर्दा बेरोजगारी बढ्नुका साथै आर्थिक अवस्था नाजुक बन्दैगएको बताइन्छ ।