ओली–देउवा ‘समसामयिक’ वार्तालाप

ओली–देउवा ‘समसामयिक’ वार्तालाप

काठमाडौं : सत्तारुढ नेकपाभित्र शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बालुवाटारमा शनिबार भएको भेटलाई लिएर विविध अड्कलबाजी र परिचर्चा भएका छन्। दुवै पक्षले भेटलाई गोप्य राखेका छन्। 

देउवा आफ्ना विश्वासपात्र केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीको साथमा पार्टी स्थायी कमिटी सदस्य सुवास नेम्बाङ रहेको स्रोतले बतायो। नेकपा नेता नेम्बाङले भेटबारे प्रतिक्रिया दिन चाहेनन्। कांग्रेस नेता लेखक उपलब्ध हुन सकेनन्। कांग्रेस स्रोतले सुरुमा चार नेताबीच समसामयिक विषयमा छलफल भएको र अन्तिम आधा घण्टा ओली र देउवाबीच एक्लाएक्लै कुराकानी भएको जानकारी दियो।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच अन्तद्र्वन्द्व चुलिएको छ। यसले पार्टी फुटको अवस्थासम्मै सिर्जना हुने नेकपामा त्रास छ। दुई शीर्ष नेतालाई मिलाउन मझौला एवं मध्यमार्गी नेता क्रियाशील छन्। 

यस्तो अवस्थामा विपक्षी दलका नेता देउवासँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ओलीले देउवालाई बालुवाटार बोलाएर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका खबर आइरहेका बेला दुवै पक्षले यसको कडा खण्डन गरेका छन्। 

‘प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटघाट हुनु कुनचाहिँ अचम्मको विषय हो र ?’ देउवाका स्वकीय सचिव भानु देउवाले अन्नपूर्ण पोस्ट्सँग भने, ‘भेटघाट भयो। तर, बाहिर समाचारमा आएजस्तो सत्ता समीकरणबारे कुराकानी भने भएकै होइन। त्यो गलत हो।’ उनले संवैधानिक आयोगका पदपूर्तिबारे लामो समयदेखि भइरहेको छलफलको निरन्तरताका रूपमा यो भेटवार्ता भएको बताए।  ‘कतिपय संवैधानिक आयोगमा पदपूर्तिका विषय छन्, यसलाई छिटो टुंग्याउनुपर्छ भनेर पहिलादेखि नै दुई नेताबीच छलफल हुँदै आएको हो,’ उनले थपे, ‘अहिले त्यहीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाउनुभयो। त्यही विषयमा छलफल भएको हो।’ 

कांग्रेस सभापति देउवाले संवैधानिक आयोगबारे छलफलमा पार्टीका तर्फबाट नेता लेखकलाई सहभागी गराउँदै आएका छन्। संक्रमणकालीन न्यायबारे पार्टीका तर्फबाट छलफल र संवादमा पनि लेखकलाई जिम्मेवारी दिएका छन्।

स्रोतका अनुसार भेटमा विश्वविद्यालयका उपकुलपति, डिनलगायत पदाधिकारी परिपूर्तिका विषयमा पनि कुराकानी भयो। ‘समसामयिक राजनीतिक विषयमा पनि कुराकानी हुने नै भयो’, स्रोतले भन्यो, ‘तर, सत्तासाझेदारीजस्तो असान्दर्भिक विषयमा छलफल भयो भन्नु गलत छ।’ 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षीमै बस्न जनादेश दिएकाले सत्ता सहकार्यको कुरालाई अस्वीकार गरे। ‘भ्रम कोही–कसैलाई केही छ भने ५ वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई। अतः कुनै पनि भड्काउबाट टाढा छौं, रहनेछौं,’ प्रवक्ता शर्माले आइतबार साँझ ट्विटरमा भनेका छन्, ‘नेकपाको द्वन्द्वसँग विल्कुल निरपेक्ष छौं। अतः यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँछौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.