ह्याम्पसायर प्रहरी सल्लाहकारमा श्रेष्ठ
लन्डन : सामाजिक अभियन्ता शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन्। बेलायती प्रहरीको ह्याम्पसायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए।
ह्याम्पसायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्र्याटेजिक इन्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ पनि एक हुन्। नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठको व्यावसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा आफूलाई नियुक्त गरिएको उनले बताए। बोर्डमा सल्लाहकारका रूपमा नियुक्त श्रेष्ठको कार्यकाल आउँदो वर्षको सुरुदेखि दुई वर्ष रहनेछ।
श्रेष्ठ बेलायतको बेजिंगस्टोक मल्टिकल्चर फोरममा हाल अध्यक्ष छन्। विश्वका २७ देशबाट आएका करिब ८० समुदायको प्रतिनिधित्व रहेको फोरममा केही महिनाअघि उनी अध्यक्ष नियुक्त भएका हुन्।
स्थानीय स्तरमा रहेका विभिन्न पृष्ठभूमिका समुदाय र प्रहरीबीच समन्वय र सम्बन्ध सुदृढीकरणका लागि यो एड्भाइजरी बोर्डले भूमिका खेल्ने गर्छ। प्रहरीका गतिविधि र घटनाक्रमलाई स्वतन्त्रतापूर्वक समीक्षा गर्ने, त्यसप्रति आफ्नोे धारणा दिने र समुदायको भावना एवं आवश्यकतालाई प्रहरीसम्म सञ्चार गर्ने काम बोर्डको हो।
बेलायती प्रहरीको क्षेत्रीय स्तरको सल्लाहकार बोर्डमा नेपाली समुदायबाट नियुक्त हुने सम्भवतः श्रेष्ठ नै पहिलो हुन्। ‘मैले यो जिम्मेवारीलाई गौरवका रूपमा लिएको छु। हाम्रो सिंगो नेपाली समुदायकै प्रतिनिधिका रूपमा मलाई सल्लाहकार नियुक्त गरिएको मैले ठानेको छु’, श्रेष्ठले भने, ‘हाम्रो समुदायको भावना र आवश्यकताको प्रतिनिधित्व हुने गरी काम गर्ने मेरो अठोट छ।’