‘राष्ट्रिय लाज’ हुने भन्दै हार स्वीकार्न ट्रम्पलाई सहयोगीको आग्रह
वासिङ्टन : अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत परिणाम स्वीकार्न राष्ट्रपति डोनल्ड ट्रम्पलाई सहयोगीले आग्रह गरेका छन् । ट्रम्पका प्रमुख सहयोगीमध्ये न्यू जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टीले ‘राष्ट्रिय लाज’ हुने भन्दै हार स्वीकार्न भनेका हुन् ।
‘फ्र्क्याङली भन्नुपर्दा राष्ट्रपतिको कानुनी उपचार खोज्ने बाटो राष्ट्रिय लाज हो’, क्रिस्टीले एबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मैले राष्ट्रपतिको समर्थ गर्दै आएको छु । मैले उहाँलाई दुईपटक भोट गरेको छु । तर चुनावका परिणाम हुन्छन्, र हामी यहाँ भएजस्तो निरन्तर गरिरहन सक्दैनौँ कि जुन कुरा भएको हुँदैन ।’
राष्ट्रपति ट्रम्पले तीन साता अघि सम्पन्न चुनावको परिणाम नस्वीकार्ने बताउँदै आएका छन् । उनले हुलाकमार्फत भएको मतदानमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । उनले यस विषयमा छानबिन गर्न समेत अदालतसमक्ष माग गरेका छन् ।
शनिबार मात्र पेन्सलभानियाका न्यायधीसले ट्रम्पको माग दाबीलाई खारेज गरिदिएका छन् । अदालतले बिना प्रमाण त्यस्तो माग गरिएको भन्दै सो माग खारेज गरिदिएको हो ।
नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धी जो बाइडनले जित्ने प्रक्ष्येपण गरिएको छ।