बन्दुकधारीद्वारा मस्जिदमा हमला : पाँचको हत्या, १८ जनाको अपहरण
नाइजेरिया : नाजेरियामा शुक्रबार एक मस्जिदमा बन्दुकधारीले हमला गरेका छन्। उक्त हमलामा परेर पाँच जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ।
त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन्। नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएको हो। शुक्रबार प्रार्थनाको समयमा आएका बन्दुकधारीले बन्दुक हमला गर्दा त्यहाँ रहेका पाँच जनाको ज्यान गएको र अरु १८ जनालाई उनीहरुले नै अपहरण गरेर लगेका थिए।
मोटर साइकलमा आएका अज्ञात बन्दुकधारीले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए। उनीहरुले मस्जिदमा हमला गरेपछि बसमा राखेर १८ जनालाई लगेका थिए।
यस घटनाको बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्ला केही समय यता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटनाहरु बढेका छन्।