मुलुकको समृद्धि नचाहनेहरु सल्बलाए : प्रधानमन्त्री ओली

ताप्लेजुङ (घुन्सा) : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र काम नभएकाहरु सलबलाएको बताएका छन् । सोमबार ताप्लेजुङको घुन्सामा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफ्नै पार्टीभित्रका केही मान्छेहरु आफू र सरकारविरुद्ध लागिपरेको बताए । 'यहाँ केही मान्छेहरु आफ्नै पार्टीको अध्यक्षका विरुद्धमा विभिन्न खालका प्रस्ताव ल्याउन थालेका छन्,' नेकपाका अर्का अध्यक्ष प्रचण्डतर्फ इङ्गित गर्दै प्रम ओलीले भने, 'उनीहरु सरकारको लोकप्रियताका कारण आत्तिएर भ्रमपूर्ण प्रचारमा लागेका छन् ।'
सरकार ढल्ने, पार्टी फुट्ने जस्ता निराधार हल्लाका पछि नलाग्न समेत ओलीको आग्रह गरे । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ मा घुन्सा फाउण्डेसनद्धारा निर्मित स्वास्थ्य भवनको उद्घाटन गर्दै विकट गाउँहरुलाई सुगम बनाउने सरकारको प्रमुख योजना रहेको बताए ।
'यस्तो दुर्गम ठाउँमा स्वास्थ्य भवन निर्माण गरेकोमा फउण्डेनसनलाई धन्यवाद दिन्छु, 'उनले भने, 'अब सरकारले मुलुकका यस्ता दुर्गम बस्तीमा स्वास्थ्य पहुँच पुर्याउन काम गर्छ ।' कञ्चनजंघामा आउने पर्यटकका लागि लिनु पर्ने स्पेशल परमिटलाई समेत खारेज गरिने र पर्यटकका लागि यो क्षेत्र खुला गरिने ओलीले बताए ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका विद्यार्थीका लागि ५ लाख रुपैयाँ छात्रवृत्ति कोष स्थापना गरिदिने बताइन् । उनले यहाँका जेष्ठ नागरिक तथा वृद्धवृद्धाहरुलाई न्यानो कपडा समेत वितरण गरिन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश एकका मुख्य मन्त्री शेरधन राई, संविधानसभा अध्यक्ष सुवास नेम्बाङ लगायत आएका थिए ।
प्रतिक्रिया दिनुहोस !
