एन्टोनी ब्लिन्केनलाई अमेरिकी विदेशमन्त्री बनाउँदै बाइडेन
वासिंटन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विदेशमन्त्रीको रुपमा सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई नियुक्त गर्ने सम्भावना रहेको अमेरिकी मिडियाले जनाएका छन् ।
बाइडेनका निकटस्थ स्रोतको हवाला दिँदै विभिन्न मिडियाले यस्तो दावी गरेका हुन् । रिपोर्ट अनुसार ५८ वर्षीय ब्लिन्केनलाई विदेशमन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको छ । बाराक ओबामा राष्ट्रपति छँदा ब्लिन्केनले उप विदेशमन्त्री तथा राष्ट्रिय उप सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । सोही बेलादेखि पनि उनीसँग बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ ।
ब्लिन्केन वाहेक बाइडेनले सुशान राइस र सिनेटर क्रिस कून्सलाई पनि आफ्नो प्रशासनिक कालमा जिम्मेवारी दिने तयारी गरेको बुझिन्छ। विदेश मामिलामा विशेष चासो राख्ने र जानकार पनि मानिने बाइडेनले चुनाव जितेपछि पहिलो पटक विदेशमन्त्रीको रुपमा ब्लिन्केनलाई अघि सारेका हुन् । बाइडेन हाल मन्त्रिपरिषद कस्तो बनाउने भन्नेमा नै केन्द्रित रहेको बताइन्छ ।