अक्सफर्ड यूनिभर्सिटीले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी
यूनिभर्सिटी अफ अक्सफर्डले कोरोना भाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ । यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो। तर ती दुई खोपभन्दा अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ । नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोना भाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए। 'आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ,' उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन्।
बेलायत सरकारले अक्सफर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ । त्यो परिमाणको खोप पाँच करोडलाई पर्याप्त छ। यो खोप परीक्षणमा २० हजार स्वयंसेवकहरू सहभागी भएका थिए। तीमध्ये आधाभन्दा बढी यूकेमा र बाँकी ब्राजिलमा थिए। दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भयो तर नक्कली खोप दिएका १०१ जनालाई कोरोना भाइरस सङ्क्रमण भयो।
अनुसन्धानकर्ताहरूका अनुसार यो खोपले ७० प्रतिशत सुरक्षा दिन्छ। स्वयंसेवकहरूलाई दुई चोटि उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखियो। तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो।
के कारणले त्यत्रो भिन्नता देखियो भन्ने कुरा स्पष्ट भएको छैन।' हामी परिणामबाट साँच्चै सन्तुष्ट छौँ', प्रमुख अनुसन्धानकर्ता एन्ड्रू पोलर्डले बताए। उनका अनुसार ९० प्रतिशत प्रभावकारिताको तथ्याङ्क उत्साहवर्धक छ अनि त्यसबाट वितरण गर्न धेरै मात्रामा खोप हुनेछ।